‘संघर्षबाटै जीवनमा सफलता मिल्दो रहेछ’

संघर्षले मानिसलाई सफल बनाउँछ । संघर्ष गर्नेहरुले धेरै सफलता पनि प्राप्त गरेका छन् । आजको प्रतिस्पर्धात्मक समयमा त झन् धेरै मेहनत र संघर्ष गर्नुपर्ने हुन्छ । स्वदेशमा मात्र होइन, आज विदेशमा पुगेर पनि संघर्ष गर्नेहरु धेरै छन् । तर स्वदेशमै कृषिमै लामो संघर्ष गर्नेहरु सफल भएका धेरै उदाहरण छन् । जुनसुकै क्षेत्रमा पनि संघर्ष गर्दा सफलता प्राप्त गर्न सकिन्छ भन्ने गतिलो नमूना बन्ने व्यक्तिहरु मध्ये एक हुुन् मिना आचार्य । उनले हाल व्यवसायिक कृषिसँगै मध्यपश्चिम विश्वविद्यालयको कार्यालय सहायकको जिम्मेवारी पनि सम्हाल्दै आएकी छन् । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै मिनासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश 

 

मिना आचार्य
कार्यालय सहायक, मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत

बाल्यकालमै गोठालो जान्थिन्

बुवा रिमप्रसाद आचार्य र आमा नेत्रा आचार्यको कोखबाट २०४७ साल असार १३ गते सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १० खरायचौरमा मिना आचार्यको जन्म भएको हो । मध्यम परिवाका जन्मिएकी उनको बाल्यकाल सोचेजस्तो भएन । उनका बुवाले कृषिकर्म गर्थे ।

उनले कक्षा ७ सम्म गाउँकै डाँडा गाउँमा रहेको विद्यालयमा पढेकी हुन् । उनको घरको आर्थिक अवस्था कमजोर भएपछि उनले पढाइलाई राम्रोसँग निरन्तरता दिन पाइनन् । सानोमा घरकै काम गर्ने, गोठालो जाने र साथीहरुसँग खेल्ने गरेर उनको बाल्यकाल वित्यो । मेहेनती र अरुको दुख सुखलाई साथ दिने उनको स्वभाव थियो ।

बिचमै रोकियो पढाइ

उनको परिवार मध्यम खालको थियो । त्यसमा फेरि उनको बुवाले दोस्रो बिवाह गरे । अनि उनकी आमा र भाइबहिनीबाट बुवा छुट्टै बसे । उनकी आमा बिरामी थिइन् । काम गर्ने अवस्था थिएन । घरको आर्थिक अवस्था कमजोर बन्दै गयो ।

एकातिर घरको सबै काम गर्नुपर्ने अवस्था आयो भने अर्कोतर्फ आर्थिक अभावका कारण पढाइ रोक्नुपर्ने भयो । उनलाई पढ्ने ठुलो इच्छा थियो । तर परिस्थितिले त्यो इच्छा पुरा हुन सकेन । उनी घरमा कृषि कर्म गर्ने आर्थिक जोहो गरेर घर खर्च टार्नुपर्ने अवस्था भएपछि उनले पढाइलाई रोक्नुपर्यो ।

उनले कपडा परिवर्तन गर्न चाडवाड कुर्नुपर्ने अवस्था थियो । सानैदेखि संघर्ष र मेहेनत गर्दै आएकी मिनाको २०६३ सालमा बिवाह भयो । बिवाहपछि पढाइलाई निरन्तरता दिन पाइने उनको सोच पुरा हुन सकेन । बिवाहपछि पनि उनले आफ्नो घर व्यवहार चलाउन व्यवस्त भइन । उनले पढाइलाई निरन्तरता दिन सकिनन् ।

कृषिमा जीवन खोज्दा…

सानौदेखि संघर्षशिल मिनाले बिवाहपछि अझै धेरै संघर्ष गर्नुपर्यो । उनका छोरीहरु जन्मिए । एकातिर छोरीहरुको स्याहार र अर्कोतर्फ घर व्यवहार चलाउनुपर्ने अवस्थामा आयो । सानैदेखि कृषिकर्म गर्न जानेकी उनले तरकारी खेती, भैसीपालन गर्न थालिन् । उनका श्रीमान् पनि त्यही पेशामा नै थिए ।

उनी बिहान ४ बजे उठेर तरकारी बेचेर अरु मानिसहरु उठ्ने समयमा घरमा पुग्थिन् । उनले घरको सबै काम गरेर छोरीहरुको पढाइमा ध्यान दिनुपथ्र्यो । उनका श्रीमान् र उनी मिलेर भैसीपालन र तरकारी खेतीमा दिनभर समय विताउँथे । आम्दानी त्यती हुन्थेन । उनले शुरु गरेको व्यवसायिक कृषिमा एउटा संस्थाले विभिन्न प्रविधिहरु सहयोग गरेपछि केही सहज भयो । उनले घरको कृषिसँगै बजारमा सब्जीमण्डी पनि गरिन् ।

अनि विश्वविद्यालयमा जोडिन्…

जीवन जीउने उपाय नभएपछि उनी कृषि कर्ममा संघर्ष गर्दै थिइन् । सानोमा पढ्न नपाएका कारण जागिर खाने अवस्था भएन । कमाउनका लागि अरु उपाय पनि त थिएनन् । विहेपछि सन्तान जिन्मए । परिवारमा खाने मुख थपिए ।

छोराछोरीको शिक्षाका लागि पनि सोच्नुपर्ने भयो । यही अवस्थाका कारण उनी कडा मेहनत र पसिना बगाउँदै थिइन् । दुखमा भगवानले पनि साथ दिन्छन् भन्छन् । सायद उनको जीवनमा पनि त्यस्तै भयो । उनको दुख देखेर मध्यश्चिम विश्वविद्यालयमा कार्यरत डा. दीपबहादुर रावलले उनलाई विश्वविद्यालयमा कार्यालय सहायकको रुपमा काम गर्ने अवसर मिलाए ।

त्यसपछि मात्र उनलाई केही सहज भयो । उता घरको कृषिलाई पनि व्यवसायिक बनाउदै लिएकी उनको श्रीमान्ले बुलबुले उद्यानमा काम गर्न थाले । त्यसपछि जीवन सहजतातिर गयो । अहिले उनिलाई छोरीहरु पढाउन घर खर्च टार्न कुनै समस्या छैन । संघर्षशिल उनको परिवार अहिले सन्तुष्ट छ । उनको लामो अनुभवले जीवनलाई संघर्षशिल बनाउन सके सफलता प्राप्त गर्न सकिने रहेछ ।

आगामी योजना

लामो समयसम्म संघर्ष गर्दा पनि उनको पढेर ठुलो मान्छे बन्ने लक्ष्य पुरा हुन सकेन । तर पनि अब आफ्ना छोरीहरुको शिक्षामा भने कुनै कमी हुन नदिने योजना छ । र उनीहरुलाई समाजसेवी बनाउने लक्ष्य राखेकी छन् । कृषि क्षेत्रलाई व्यवसायिक बनाउन उनले भुमिका निर्वाह गर्ने र उत्पादनलाई वृद्धि गर्ने योजना उनको छ ।

भन्छिन्, संघर्ष र मेहनत गरे जीवनमा एकदिन सुखका दिन आउँछन् । मेहनत गर्न छाड्नु हुँदैन ।

‘संघर्षबाटै जीवनमा सफलता मिल्दो रहेछ’

असारमै सम्झौता, असारमै विकास

Leave a comment

Your email address will not be published. Required fields are marked *