असारमै सम्झौता, असारमै विकास

कालिकोट । स्थानीय तहहरुमा बजेट सिध्याउनकै लागि असारको अन्तिममा आएर धमााधम विकास निर्माणका काम भइरहेका छन् । विगत वर्षमा जस्तै यसपाली पनि असारे विकासले पुन निरन्तरता पाएको हो ।

पचालझरना गाँउपालिका वडा नं. ९ को कोटिला तिखार्ति सडक मर्मत, गाँउपालिकामा रंगशाला निर्माण, पलाँतामा स्थानीय सडक, सान्नीत्रिवेणीमा स्थानीय सडक तथा अन्य पुर्वाधार, तिलागुफा, महावै, शुभकालिका लगायतका स्थानीय तहमा सडक र पुर्वाधारका कामहरु धमाधम भईरहेका छन् । कतिपय योजनाहरु असारमै सम्झौता भएर असारमै कार्य सम्पन्न गर्ने तयारी छ ।

जिल्लाको महावै गाँउपालिका अध्यक्ष नन्दबहादुर सिंहले स्थानीय तहमा अख्तियारी नै जेठ असारमा आउने समस्याका कारण असारमै सम्झौता र असारमै विकास गर्नुपर्ने बाध्यता रहेको बताए । प्रदेश र संघीय सरकारबाट कतिपय योजनाहरुको अख्तियारी नै जेठको अन्तिम साता र असारको पहिलो साता आउने भएकाले समस्या भइरहेको उनको भनाइ छ । बजेट फ्रिज जान नदिन असारमै सम्झौता गरेर असारमै हतारहतार काम गर्नु परेको उनले बताए ।

सडक, विद्युत, खानेपानी लगायतका योजनाहरु समयमै काम सुरु नगर्दा निर्माण कार्य सम्पन्न गर्न ढिलाइ भएको स्थानीय बताउँछन् । पचालझरना गाँउपालिका वडा नं. ७ का चम्फा बोहोराले असारको महिना घरको काम र सरकारी काम सँगै हुँदा समस्या हुने गरेको बताईन् । गाउँगाउँमा सरकार पुगे पनि विकास निर्माणका काम र अन्य गतिविधि पुरानै गतिमा रहेको भन्दै उनको असन्तुष्टि छ ।

यस्तै तिलागुफाका स्थानीय निराजन हमालले स्थानीय सरकार बनेपछि समयमै विकास निर्माणका काम हुन्छन् भन्ने आशा निराशामा परिणत भएको बताए । उनले भने, ‘स्थानीय सरकार भएको अनुभुती गरिएको भए पनि असारे प्रवृति भने कायमै छ ।’ विकास निर्माणका कामहरु ढिलो शुरु हुँदा असारमा कतिपय काम गरिरहेको र कतिपय उपभोक्ताहरु भुक्तानी लिन भीड लागेका छन् ।

जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनीपाल शाहीले असारे विकासका कारण सबै योजनाहरुको अनुगमन गर्न कठिनाइ हुने गरेको बताए । जिल्लाका ९ वटै तहमा संचालित विकास आयोजनाको अनुगमन गर्न भौगोलिक विकट्ताका कारण दुई महिना लाग्ने उनको भनाइ छ । धेरै विकास निर्माणका योजनाहरुको अख्तियारी असारमा आएर असारमै काम हुने भएकाले सबै स्थानीय तहका सबै वडाहरुमा अनुगमन गर्न सकिदैन ।

 

असारमै सम्झौता, असारमै विकास

‘संघर्षबाटै जीवनमा सफलता मिल्दो रहेछ’

असारमै सम्झौता, असारमै विकास

गाउँ फर्केर खेतिपाती गर्ने ज्वाला संग्रौलाको बयान

Leave a comment

Your email address will not be published. Required fields are marked *