युरोप छिर्ने आशामा ज्यानको बाजी थापेर इरानबाट टर्की छिर्छन् शरणार्थीहरू

एजेन्सी । टर्की र इरानबीचको सिमाना ५३५ किलोमिटर लामो छ। पहाडी सीमाक्षेत्रमा कंक्रिट पर्खाल लगाइएको छ भने १४० किलोमिटर क्षेत्र त काँढेतार लगाएर बारिएको छ।
टर्कीले सीमा जतिसुकै अवरोध खडा गरे पनि हरेक वर्ष अफगानिस्तान, पाकिस्तान र इरानबाट हजारौं युवाहरू टर्की हुँदै युरोप छिर्छन्। ती देशमा विद्यमान द्वन्द्व, हिंसा र निराशाका कारण त्यहाँका युवा युरोप पलायन हुँदै आएका छन्।
टर्की सरकारले जनाएअनुसार यो वर्ष १५ जुनसम्ममा झण्डै ५३ हजार १ सय ६६ जना प्रवासीलाई सीमामै रोकिएको छ। यो संख्या गत वर्षको तुलनामा आधाले कम हो। गतवर्ष १ लाख २२ हजार २ सय २ मानिसलाई सीमामा रोकिएको थियो। त्यसअघि‚ सन् २०१९ मा अवैध रूपमा युरोप छिर्दै गरेका करिब साढे ४ लाख मानिस टर्कीको सीमामा रोकिएका थिए।
टर्की सरकारले सीमामा कडाइ गरे पनि अहिले पनि हजारौं मानिसहरू युरोप छिर्न पाउने आशामा भान सहरको सीमा छेउछाउ भौंतारिइरहेका छन्। आप्रवासीहरूले टर्कीलाई युरोप छिर्ने सहज बाटो मान्दछन्। टर्की पछिल्लो दशकमा युरोप पलायन हुनेहरूको रोजाइको पहिलो रुट रहँदै आएको छ।
अफगानी र पाकिस्तानीहरू देशमा विद्यमान युद्ध र हिंसाका कारण देश छोड्न बाध्य छन्। सुरक्षित भविष्यका लागि उनीहरू जोखिमपूर्ण यात्रा गर्दै शरणार्थीका रूपमा युरोप छिर्ने गर्छन्। इरानी युवाहरू भने सरकारको दमन सहन नसकेर पलायन हुँदै आएका छन्। तीमध्ये कतिपय मानव बेचबिखनको शिकारसमेत भइरहेका छन्।






