‘चुनावमा जनतासँग गरेका बाचा पूरा गर्दैछौं’

स्थानीय सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि आफ्नो नीति तथा कार्यक्रम र बजेट ल्याइसेका छन् । साथै चालु आर्थिक बर्षको बजेट कार्यान्वयनको समिक्षा पनि गरिरहेका छन् । आगामी आर्थिक बर्ष स्थानीय सरकारका जनप्रतिनिधिहरुको लागि महत्वपूर्ण बर्ष पनि हो । किनकी आउँदो आर्थिक वर्ष नै उनीहरुका लागि कार्यकालको अन्तिम बर्ष हो । साथै आगामी आर्थिक वर्षका लागि कस्ता योजनाहरु बने ? त्यसको कार्यान्वयन कसरी हुन्छ ? यीनै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी टेकराज केसीले सल्यानको कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
दानबहादुर केसी
अध्यक्ष, कालिमाटी गाउँपालिका, सल्यान
हिजोआज गर्दै हुनुहुन्छ ?
हामी अहिले चालु आर्थिक बर्षको अन्तिममा भएकाले विकासको कामको समिक्षासँगै आगामी बजेटलाई कार्यान्वयन चाँडै गर्ने विषयमा छलफलमा छौं । चालु आर्थिक बर्षमा भएका कामको रकम भुक्तानी गरिरहेका छौं । समिक्षा गर्ने काम पनि भइरहेको छ ।
चालु आर्थिक बर्षमा बजेट कार्यान्वयन अवस्था कस्तो भयो ?
चालु आर्थिक बर्षमा हाम्रो पालिकामा ९० प्रतिशत बजेट कार्यान्वयन गर्न सक्यौँ । हाम्रो शुरुवातदेखिको मान्यता नै विकासका काम असार केन्द्रीत मात्रै गर्ने होइन भन्ने हो । त्यही अनुरुप हामीले बजेट कार्यान्वयलाई तीव्रता दियौँ । बिचमा कोरोनाका कारण काममा केही असर पुग्यो ।
यो हाम्रो पालिकाको मात्र समस्या थिएन । चालु आर्थिक बर्षका अधिकांश कामहरु हामीले चैतमै सकिसकेका थियौँ । आउँदो आर्थिक बर्षको बजेट पनि हामी समयमै कार्यान्वय गर्नेगरी लाग्ने योजना बनाएका छौं ।
आगामी आर्थिक बर्षको प्राथमिकता के हो ?
हामीले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याएका छौं । दुई बर्षदेखि विश्व नै आक्रान्त हुनेगरी कोरोना भाइरसको प्रभाव छ । पहिलो त नागरिकको जीउधनको सुरक्षा हुनुपर्छ भनेर हामीले बजेट त्यता केन्द्रीत गरेका छौं ।
त्योसँगै हामीले कोभिड नै प्रभावित पारेको शिक्षा, रोजगारी लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरेका छौं । शिक्षा क्षेत्रमा कोरोनाले ठुलो प्रभाव पार्यो । त्यसैलाई मध्यनजर गरेर हामीले पालिकाका सबै विद्यालयहरुको अनुगमन गर्ने तयारी गरेका छौं । परिस्थिति अहिले अलि सामान्य बन्ने जस्तो भएकाले वैकल्पिक विधिबाट पठनपाठनसँगै भौतिक रुपमा पनि उपस्थित बनाएर बालबालिकाको पढाइलाई निरन्तरता दिन्छौं । सबै स्वास्थ्य इकाईहरुलाई बलिया बनाउछांै ।
बेरोजगारी समस्या समाधान गर्न कस्ता कार्यक्रम छन् ?
हामीले रोजगारी सिर्जना गर्न विभिन्न कार्यक्रम तय गरेका छौं । हाम्रो पालिका कृषि र पशुपालनको लागि पनि उपयुक्त ठाउँ हो । त्यसैले कृषि र पशुपालनको लागि हामीले पकेट क्षेत्र बनाएका छौं ।
बाख्रापालन, माछापालन, दुग्ध व्यवसाय लगायतलाई पकेट क्षेत्र बनाका छौं । हामीले समुहगत रुपमा र व्यक्तिगत रुपमा अनुदान दिनेगरी कार्यक्रम बनाएका छौं । कृषिको क्षेत्रमा पनि अनुदानका कार्यक्रम छन् । साझेदारी मोडलमा आधा कृषक समुह, संस्था र व्यक्तिले बेहोर्ने र आधा पालिकाले लगानी गर्नेगरी कार्यक्रम बनाएका छौं ।
यो कार्यक्रममार्फत युवाहरुलाई कृषिमा आकर्षित गर्नेछ भन्ने विश्वास लिएका छाैं । योसँगै हामीले सबै वडाका सडकहरु बाह्रै महिना संचालन गर्ने मोडल तयार गरेका छौं । गरिब र विपन्न परिवारका युवाहरु जसले रोजगारी पाएका छैनन् । उनीहरुलाई त्यसमा नियुक्ती गरेका छौं । कार्यविधि तयार गरी हामीले एकसय जना युवाहरुलाई नियमित काम दिएका छौं । यसले विकास र रोजगारी सिर्जना भएको छ ।
चालु आर्थिक बर्षमा ढिला गरी कार्यक्रम लागु भएकाले ६ महिना मात्र उनीहरुले रोजगारी पाए । आउँदो आर्थिक बर्षको शुरुवातबाटै अब एकसय भन्दा धेरै युवाहरुलाई हामी रोजगारी दिनेगरी कार्यक्रम नै बनाएका छौं । त्यसको लागि हामीले ६० लाख रकम छुट्याएका छौं । पालिकामा हामीले विभिन्न मोडेलमा युवाहरुलाई रोजगारी दिइरहेका छाैं।
चार वर्षमा के परिवर्तन गर्नुभयो त ?
हिजोको अवस्था र हामी निर्वाचित भएपछिको अवस्थामा धेरै परिवर्तन भएको छ । हामी निर्वाचित हुनुभन्दा अगाडी सबै वडामा सडक संजाल थिएन । अहिले सबै वडामा सडक संजाल पुगेको छ । त्यसैगरी शिक्षाका भवनहरु अस्तव्यस्त थिए । आज सबै विद्यालय भवनहरु पक्की बनेका छन् भने घेरबार भएको छ ।
स्वास्थ्यमा सबै ठाउँमा स्वास्थ्यको पहुँचमा नागरिक थिएनन् । अहिले सबै ठाउँमा स्वास्थ्यको पहुँच पुगेको छ । हाम्रो कार्यकालभित्र सबै वडामा विद्युत बल्ने लक्ष्य छ । त्यसको काम पनि भइरहेको छ । संचारको पहुँचमा अझै पनि सबै नागरिक छैनन् । त्यसको पहल पनि भइरहेको छ । भने कृषि, पशुपालन लगायत सिमान्तकृत वर्गलाई माथी उठाउने सवालमा पनि धेरै कामहरु भएका छन् ।
जनतासँग गरेका बाचा अब एक बर्षमा पुरा हुन्छन् त ?
हामीले भनेका ८० प्रतिशत बाचाहरु हामी पुरा गर्छौं । जनतालाई पनि अनुभूति भएको छ की हामीले जे प्रतिवद्धता गरेका थियौँ, त्यसमा अधिकांश कामहरु पुरा भइरहेका छन् भन्ने । बाँकी काम पनि हामी पुरा गर्न लागिरहेका छाैं । हामीलाई जनताले विश्वास गरेर काम गर्न पठाउनुभयो, त्यसलाई विर्सिएका छैनांै । हामी जसरी पनि जनताको आवश्यकता अनुसारका काम गर्छौं ।






