विद्यार्थीको परीक्षामा बद्मासी गर्ने उपप्राध्यापकहरु जागिरबाटै बर्खास्त

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा बद्मासी गर्ने एक जना प्राध्यापक र दुई जना उपप्राध्यापकलाई कारबाही गरिएको छ । विश्वविद्यालयको गरिमामाथि नै आँच पु¥याएको पुष्टि भएपछि केन्द्रीय क्याम्पसमा कार्यरत दुई जना उपप्राध्यापकलाई सदाका लागि जागिरबाटै बर्खास्त गरिएको हो ।
इन्जिनियरिङ संकायतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् स्थायी उपप्रध्यापक विश्वनाथ यादव र स्कुल अफ ल तर्फको करार सेवामा कार्यरत उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त गरिएको हो ।
दुबै जनालाई भविष्यमा समेत विश्वविद्यालय सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ । मध्यपश्चिम विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन नियमावली २०६९, परिषद् ३३ को नियम १७४ बमोजिम गठित छानबिन समितिको प्रतिवेदनको आधारमा उनीहरुलाई बर्खास्त गरिएको हो ।
विश्वविद्यालय स्थापनाको १२ बर्षको इतिहाँसमा पहिलोपटक कार्यकारी परिषद्ले स्थायी उपप्रध्यापकलाई बर्खास्त गरेको हो । बर्खास्तमा परेका निर्देशक यादवले विद्यार्थीको आन्तरिक मूल्यांकनमा आफूखुशी नम्बर दिएको पाइएको हो । पहिलो समेस्टरका विद्यार्थीलाई प्राक्टिलमा समान अंक दिएका थिए ।
उनले सम्बन्धित विषय शिक्षकले दिएको नम्बरलाई लुकाइ दिएका थिए । छानबिन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्षसहित दोषी भएको पुष्टि गरेको थियो । आन्तरिक परीक्षा सञ्चालन नगरी हचुवाका भरमा नम्बर दिएको पाइएपछि केही विद्यार्थीहरुले डीन र उपकुलपति कार्यालयमा उजुरी गरेका थिए । उजुरी परेपछि प्राडा दीपबहादुर रावलको नेतृत्वमा प्राडा सीपी रिजाल र वीरबहादुर पौडेल रहेको तीन सदस्यीय छानबिन गठन गरिएको थियो ।
सोही छानबिन समितिले दोषी रहेको प्रमाण भेटाएपछि बर्खास्त गरिएको हो । यसअघि पनि उनले प्रथम सेमेस्टरका विद्यार्थीको आन्तरिक मूल्यांकनमा सबै विषयमा सबैलाई समान अंक दिएका थिए । हाल प्रयोगात्मक कक्षा सञ्चालन नभएको भन्दै डीन कार्यालयले मास्टर्स तेस्रो सेमेस्टरको स्ट्रक्चरल इन्जिनियरिङको नतिजा प्रकाशन गरेको छैन । आन्तरिक मूल्यांकनको ४० मा ४० नम्बरमा पठाएपछि डीन कार्यालयले नतिजा रोकिदिएको हो । उनले इन्जिनियरिङ विषय अध्ययन गराउनका लागि अपाउनुपर्ने २६ वटा प्रक्रियासमेत पुरा नगरेको पाइएको छ ।
यस्तै करार सेवामा कार्यरत स्कुल अफ ल का उपप्राध्यापक पन्तले कानुन संकायतर्फको परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको पुष्टि भएपछि कारवाही गरिएको छ । पन्तले बिएएलएलबीको चौथो सेमेष्टकारको परीक्षामा प्रश्नपत्र आउट गरेका थिए । पन्तले चौथो सेमेष्टरमा दुई वटा विषयका प्रश्नपत्र आउट गरेका थिए ।
घटना बाहिरिएपछि परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डा.आनन्दप्रसाद सुवेदीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिमा वीरबहादुर पौडेल, चित्रबहादुुर केसी, नारायाण योगीसहित पाँच जना सदस्य थिए । समितिले घटनामा दोषी रहेको प्रमाण पेश गरेपछि पन्तलाई कारबाही गरिएको हो ।
पन्तले यसघि पनि बिएएलएलबीको प्रवेश परीक्षामा प्रश्नपत्र आउट गरेका थिए । त्यतिबेला उनलाई विश्वविद्यालयले तीन महिनाका लागि निलम्बन गरेको थियो । प्रवेश परीक्षामा सहभागी भएका एकसय ९० जना विद्यार्थीमध्ये एकसय २५ जना पास भएका थिए । पास भएका मध्ये प्लसटुमा सी नम्बर ल्याउने विद्यार्थीको नाम एक नम्बरमा निस्कीएपछि अन्य विद्यार्थीहरुले प्रवेश परीक्षाप्रति आशंका गरेका थिए ।
एक नम्बरमा पास हुने विद्यार्थी एक जना नेताकी छोरी थिइन् । प्रवेश परीक्षा हुनुअघि नै प्रश्नपत्र बाहिरएको थाहा पाएपछि प्रवेश परीक्षामा सहभागी ५२ जना विद्यार्थीहरुले डीन र उपकुलपतिको कार्यालयमा उजुरी गरेका थिए । यस्तै स्कुल अफ ल का तत्कालीन निर्देशक अर्जुनबहादुर ऐडीको जिम्मेवारी खोसिएको छ । ऐडी पनि प्रश्नपत्र बाहिर ल्याउने घटनामा संलग्न रहेको प्रमाणित भएपछि जिम्मेवारीबाट हटाइएको हो ।
पन्तले ऐडीलेसँगको मिलेमतोमा पश्नपत्र आउट गर्दै आएका थिए । तत्कालीन निर्देशक ऐडीले प्राज्ञिक परिषद्ले दिएको स्विकृति विपरित कार्य गरेको विश्वविद्यालयको भनाइ छ । परिषद्ले प्लसटुको परीक्षामा सीप्लस ल्याएका विद्यार्थीलाई मात्रै भर्ना लिन स्विकृति दिएको थियो । तर ऐडीले डी नम्बर ल्याउनेलाई पनि प्रवेश परीक्षामा सहभागी गराएको पाइएको हो ।
यसअघिको बिएएलएलबीको प्रवेश परीक्षामा सहभागी एकसय ९० जना विद्यार्थीमध्ये ७० जना डी अंक ल्याएका परीक्षामा सहभागी भएका थिए । यही कारण उनलाई निर्देशक पदबाट हटाइएको थियो । हाल ऐडीको ठाउँमा उपप्राधापक उपेन्द्रबहादुर विकलाई निर्देशकको जिम्मेवारी दिइएको छ ।
कोर्ष नै तयार नगरी पढाइ पुरा !
यस्तै हाइड्रो इन्जिनियरिङ संकायको आठौं सेमेष्टरको पुरा कोर्ष नै तयार गरी पढाइ पुरा गरेको खुलेको हो । ‘हाइड्रो इन्जिनियरिङ जस्तो विषयमा पुरा कोर्ष नै तयार नगरी पढाइ पुरा भएछ’ विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले भने, ‘पहिले विषयको नाममात्रै पास गरेछन्, अहिले पढाइ पुरा भएपछि कोर्ष स्विकृतिका लागि फाइल आएको छ ।’
कोर्ष नै तयार नगरी पढाइ पुरा भएको भेटिएपछि विश्वविद्यालयले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । विज्ञान तथा प्रविधि संकायका डीन सुदिपसिंह ठुकुरीको नेतृत्वमा छानबिन समिति गठन गरिएको उपकुलपति सिंहले बताए । कुनै पनि विषयको पठनपाठन गर्नुअघि विद्या परिषदको सिफारिसमा प्राज्ञिक परिषदबाट कोर्ष स्वीकृति लिनुपर्दछ ।
सम्बन्धित संकायका डिनको अध्यक्षतामा विद्या परिषद् र विश्वविद्यालयका उपकुलपतिको अध्यक्षतामा प्राज्ञिक परिषद् रहने व्यवस्था छ । तर हाइड्रो आठौं सेमेष्टरमा भने दुबै परिषद्बाट कोष पास नगरेर पठनपाठन पुरा गरिएको हो । पढाइ पुरा भएपछि मात्रै कोर्ष स्वीकृतिका लागि प्राज्ञिक परिषद्मा फाइल पठाइएको हो ।
‘शैक्षिक अपराध गर्नेले छुट पाउँदैनन्’
विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले शैक्षिक अपराध गर्ने जोसुकैलाई पनि माफी नदिने बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले शैक्षिक अपराध गर्ने जो सुकै व्यक्तिलाई पनि कानूनी कठघरामा उभ्याउने दाबी गरेका हुन् ।
विश्वविद्यालयको शैक्षिक गुणस्तर कायम गर्नका लागि शैक्षिक माफियाहरुलाई बर्खास्त गर्नुको विकल्प नरहेको उनको भनाइ छ । दुई जना उपप्राध्यापकले विश्वविद्यालयको प्राज्ञिक मर्यादामा आँच आउने गरी शैक्षिक अपराध गरेकाले सेवाबाटै बर्खास्त गर्नुपरेको बताए ।
‘यो विश्वविद्यालय कर्णाली प्रदेशका जनताका लागि खोलिएको हो । यहाँका विद्यार्थीको भविष्य बनाउनका लागि खोलिएको हो । तर यहाँ जागिरे विद्यार्थीलाई ८० प्रतिशत हाजिरी नपु¥याई उत्तीर्ण गर्ने काम भएको छ । प्रयोगात्मक कक्षाको प्रयोगशालाको काम नै नगरी ल्याब नै नभएको ठाउँमा ल्याब रिपोर्ट तयार गरेर विद्यार्थी उत्तीर्ण गर्ने काम क्याम्पस सञ्चालक र विद्यार्थीबीचको मिलेमतोमा हुने गरेकाले यस्ता काम रोक्नेतर्फ मेरो खबरदारी हो ।’






