आर्थिक भार र समय बर्बाद गरेको भन्दै कतार भिसा सेन्टर खारेजीको माग

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर खारेजको माग गरेको छ। सेन्टरले वैदेशिक रोजगारीमा जाने कामदारका लागि आर्थिक भार र समय बर्बाद गरेको भन्दै खारेजको माग गरेको हो।
मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै सेन्टरले व्यवसायी र कामदार दुवैलाई समस्या पारेकाले खारेज गर्नुपर्ने नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष कमल तामाङले बताए। मेडिकललगायत विषयमा ढिलाइ गर्दा ग्रामीण क्षेत्रबाट आई वैदेशिक रोजगारीमा जान चाहनेले रोजगारी गुमाउनुपर्ने अवस्था आएको संघको भनाइ छ।
अध्यक्ष तामाङले भने, ‘ग्रामीण क्षेत्रबाट आएका कामदारको मेडिकल परीक्षण समयमै नहुँदा रोजगारी गुमेका थुप्रै उदाहरण छन्। मेडिकल फेल भयो भने २० दिन कुराउने गरेको छ।’ जसको कारण कतारको मागअनुसार कामदार पठाउन नसकिएको उनको भनाइ छ।
कतारका लागि ५० हजार पूर्वस्वीकृति भएकोमा १० हजारभन्दा बढी कामदार पठाउन नसकेको लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएट संघका अध्यक्ष तारानाथ अर्यालले बताए।
उनले भने भिसा सेन्टरले तत्काल कार्य नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्। नेपाली कामदारलाई फ्रि भिसा फ्रि टिकटमा दुई वर्षअघि खोलिएको सेन्टरले कार्यविधि बिनाको काम गरेको उनीहरुको आरोप छ।






