सानीभेरीको पुल निर्माणमा ढिलाइ

रुकुमपश्चिम, ७ भदौ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको सानीभेरी नदीमा निर्माण गरिएको मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेर रोकिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत र डोल्पालाई जोड्ने गरी निर्माण गरिएको पुल अन्तिम चरणमा आएर रोकिएको हो । सानीभेरी गाउँपालिका वडा नम्बर ३ र ७ मा पर्ने सानीभेरी नदीमा ६ वर्षअघि निर्माण कार्य थालिएको मोटरेबल पुल सञ्चालमा ढिलाइ भएको छ ।

गत असार अन्तिमदेखि सञ्चालनमा आउने भनिएको पुलको बाँकी काममा ढिलाई हुँदा सञ्चालनमा पनि ढिलाइ भएको छ। मोटरेबल पुल सञ्चालमा नआउँदा यस क्षेत्रका स्थानीयले लामो समयदेखि झोलुङ्गे पुलबाट दैनिक उपभोग्य वस्तुको ढुवानी गर्नुपर्ने बाध्यता रहेको स्थानीय हरिभक्त भण्डारीले बताए । प्रदेश राजधानी सुर्खेतसँग जोडिने गरी निर्माण गरिएको मोटरेबल पुल सञ्चालनको पर्खाइमा रहेका जिल्लावासी र स्थानीयले निर्माण सम्पन्न गरी पुल सञ्चालन गर्न सरोकारवाला निकायलाई आग्रह गर्दै आएका छन् । निर्माण कम्पनीले कोरोना महामारी र बर्खाको समस्या देखाउँदै बाँकी रहेको काम तत्काल सञ्चालन गर्न नसकिने बताएको छ ।

तर, उक्त पुल निर्माण सुरु भएको भने ६ वर्ष बितिसकेको छ । सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले सडक विभागका आयोजनाहरु स्थानीय सरकारको अधिकार क्षेत्रभित्र नपर्ने भएकाले निगरानी र नियमन कम हुँदा मोटरेबल पुलको काममा ढिलाइ भएको बताए । ‘पुल निर्माणमा ढिलाइ भए पनि स्थानीय तहलाई यससम्बन्धी अधिकार नहुँदा प्रभावकारी पहलकदमी हुन सकेको छैन,’ उनले भने, ‘तर पनि व्यक्तिगत रुपमा सम्पर्क गरेर निर्माण छिटो सम्पन्न गर्न पटक पटक कुरा गरिएको छ ।’ २०७१ देखि निर्माण कार्य शुरु गरिएको मोटरेबल पुल निर्माणको जिम्मा मैनाचुली कम्पनीले लिएको छ । उक्त पुल निर्माणमा पाँच करोड रुपैयाँ बढीको लागत रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *