उपचार नपाउँदा अस्पतालमा छट्पटाउँदै कोरोना संक्रमित

सुर्खेत, ६ साउन ।
सुर्खेतका एक कोरोना संक्रमित उपचार नपाएपछि अस्पतालमा छट्पटाइरहेका छन् । प्रहरीको कुटाइबाट हात भाँचिएका उनको उपचार हुन सकेको छैन । एक हप्ता वितिसक्दा पनि सिम्ता गाउँपालिका–८ का ३५ वर्षिय ति युवाले उपचार पाउन सकेका छैनन् ।

असार २९ गते उनको हात भाँचिएको हो । प्रहरीको कुटाइबाट हात भाँचिएको हाप्ता दिनदेखि नै उनी उपचारको लागि भौत्तारिरहेका छन् । हातको उपचारका लागि सुर्खेत र नेपालञ्जका तीन वटा अस्पताल धाउँदा पनि उनले उपचार पाउन सकेका छैनन् । ‘प्रहरीले हात भाँचेकै दिन उपचार गर्न लैजाऊ भनेको थिएँ, तर घटना भएको पाँच दिनपछि मात्रै मलाई अस्पतालको गेटमा पु¥याए’ पीडित युवाले भने, ‘तीन वटा अस्पतालमा धाएँ, तर डाक्टरले उपचार नै गरेनन् ।’
असार २९ गते हात भाँचिए पनि उनलाई साउन २ गतेमात्रै प्रदेश अस्पताल कालागाउँमा पु¥याइएको थियो । त्यहाँ पनि सुरुमा कोरोना संक्रमित भन्दै उपचारमा आनाकानी गरियो । बल्तल्ल प्रदेश अस्पतालले हातको एक्सरे ग¥यो । तर उनको उपचार गरिएन । बरु यहाँ सम्भव नहुने भन्दै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज (शिक्षण अस्पताल) कोहलपुर रिफर गरियो । संक्रमित भएकै कारण आफ्नो उपचारमा अस्पतालहरुले आनाकानी गरेको हुन सक्ने पीडितको भनाइ छ । कोहलपुरमा पुगे पनि तीन दिनदेखि उनको उपचार भएको छैन । प्रदेश अस्पतालले भने संक्रमितको उपचारका लागि आवश्यक उपकरणहरु नहुँदा नेपालगञ्ज रिफर गर्नुपरेको जनाएको छ । हाल उनी नेपालगञ्ज शिक्षण अस्पताल कोलहपुरको आइसोलेसनमा छन् ।
प्रदेश अस्पताल सुर्खेतले कोरोना संक्रमितको लागि आवश्यक अप्रेशन थ्रिएटर नभएका कारण बिरामीलाई रिफर गर्नु परेको दाबी गरेको छ । ‘कोरोना संक्रमितको अप्रेशन गर्नु नर्मलकेस होईन, संक्रमितको अप्रेशनका लागि छुट्टै अप्रेशन थिएटर चाहिन्छ, तर त्यो प्रदेश अस्पतालमा छैन’ प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डम्वर खड्काले भने, ‘सुर्खेतमा उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेजसँग समन्वय गरेर बिरामीलाई कोहलपुर रिफर गरेका हौँ ।’ कोरोना संक्रतिको अप्रेशनका लागि लेभट थ्रिको अस्पताल हुनुपर्ने उनको भनाइ छ । ‘प्रदेश अस्पताल लेभल टु हो, तर लेभल थ्रीको अस्पतालमा मात्रै कोरोना संक्रमितको अप्रेशन गर्न सकिन्छ’ उनले भने, ‘नेपालगञ्ज मेडिकल कलेजले अप्रेशन गर्छौँ भनेपछि विरामीलाई त्यहाँ रिफर गरिएको हो, तर हामी उपचारबाट पन्छिएका होइनौँ ।’
अस्पतालले बिरामीको उपचार गर्न चाहे पनि आवश्यक पूर्वाधारको अभावमा संक्रमितको अप्रेशन सम्भव नभएको उनको तर्क छ । ‘जनशक्ति मात्रै भएर हुँदैन, उपचारका लागि त्यही अनुसारको आवश्यक पूर्वाधार चाहिन्छ’ उनले भने, ‘एउटा बिरामीका लागि जोखिम मोल्ने, तर भोलि अस्पताल बन्द गरेर हजारौ बिरामीलाई उपचारबाट बन्चित गराउन चाहेनौं ।’
‘भोली अप्रेशन हुन्छ’
नेपालगन्ज मेडिकल कलेज (शिक्षण अस्पताल) कोहलपुरले पीडित युवाको भोली बुधबार मात्रै अप्रेशन हुने जनाएको छ । ‘बिरामीको अहिले कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ, अब बुधबार अप्रेशन गर्छाैँ’ अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले भने, ‘अप्रेशनको पालो कुर्नेगरी वार्डमा भर्ना गरिएको छ ।’
पीडितको उपचारका लागिमात्रै पाँच जना स्वास्थ्यकर्मी खटिएको डाक्टर श्रेष्ठले बताए । एसीजडित कोरोना वार्डमा भर्ना गरिएका कारण उपचारमा कमी नहुने उनको भनाइ छ । पीडितभन्दा अन्य बिरामीहरुको जटिलकेस भएका कारण तत्काल उपचार नगरिएको अस्पतालले जनाएको छ । ‘उहाँभन्दा पीडित धेरै जटिल केसका बिरामीहरु अप्रेशनको लाइनमा छन्, बिरामीको पालो अनुसार अप्रेशन हुन्छ’ श्रेष्ठले भने । अप्रेशन गर्नका लागि बिरामीलाई परिवारका सदस्यहरु बोलाउन लगाएको छ ।

प्रहरीले हात भाँचिदिए डाक्टरले उपचार गरेनन्
पीडित यसवा भारतबाट असार १६ गते १२ जना साथीहरुसँगै गाउँ पुगेका थिए । गाउँपालिकाले भनेअनुसार बागेश्वरी माविमा १३ दिनसम्म क्वारेन्टाइनमा बसे । १४ औं दिनमा साथीहरुसँगै उनी पनि घर जान हिँडेको थिए । क्वारेन्टाइनबाट अल्ली माथि पुगेपछि पछाडिबाट गएका दुई जना प्रहरी र दुई जना भान्सेहरुले मर्नसम्म हुनेगरी आफूलाई कुटेको पीडितको भनाइ छ । ‘कोरोना पोजेटिभ भागेको भनेर कुटेका रहेछन्, तर मलाइ त्यतिन्जेलसम्म कोरोना भएको थाहा नै थिएन’ उनले भने,‘मेरो दाहिने हात नै भाँचिदिए, शरीर भरी निलडाम मात्र छन् ।’ कुटपिट गरेकै दिन उपचार गर्न लैजाउ भनेर आफूले गाहगुहार गरे पनि कसैले नसुनेको उनको भनाइ छ । हात भाँचिएको पाँच दिनपछि मात्रै कालागाउँ अस्पताल ल्याइएको भन्दै उनले अस्पताले एक्सले गरे पनि उपचार गर्न नमानेको बताए ।
अस्पतालले रिफर गरे पनि एम्बुलेन्सले बोक्न नमानेपछि साउन ३ गते नेपालगञ्ज लिनुको सट्टा आफूलाई सुर्खेत बसपार्कको आइसोलेसनमा राखिएको पीडितको भनाइ छ । कोहलपुरबाट एम्बुलेन्स आएपछि मात्र नेपालगञ्ज पुगेको उनले बताए । साउन ४ गते दिनभरी आफूलाई सडकमै राखिएको भन्दलै उनले शनिबार साँझ मात्रै अस्पतालको आइसोलेसनमा राखिएको सुनाए । अझै पनि डाक्टरले उपचार गर्न नमानेको भन्दै अब रिपोर्ट नेगेटिभ आएपछि मात्रै उपचार गर्ने भनिएको पीडितको भनाइ छ ।
घटनामा संलग्न प्रहरी जिल्लामा तानिए
कुटपीटको घटनामा संलग्न भनिएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको छ । ‘घटनामा संलग्न भनिएका प्रहरीलाई जिल्लामा तानेर अनुसन्धान गरिरहेका छौँ’ सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले भने, ‘अनुसन्धानपछि मात्रै दोषी हुन् या होइनन् भन्ने पुष्टि हुन्छ, तर दोषी ठहरिए कारबाहीको भागिदार हुन्छन् ।’
पीडितले इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी सहायक निरीक्षक विजय पुनको कुटपिटबाट आफ्नो हात भाँचिएको आरोप लगाएका छन् । पुनसहित घटनामा संलग्न अन्य तीन जनालाई पनि कारबाही गर्नुपर्ने पीडितको माग छ । ‘मलाई चार जनाले मरणासन्न हुनेगरी कुटेका हुन्, हात मात्रै भाँचिएको छैन । शरिरभरी निलडाम छ’ पीडितले भने, ‘मलाइ कोरोना छ भन्ने जानकारी नदिएपछि साथीहरुसँगै म घर जान थालेको थिएँ, त्यहीबेला एक्कासी आएर कुटे ।’






