माविसम्म पढ्दा नयाँ किताव नै देख्न पाइँन

आर्थिक अभावकै कारण पढाइ पूरा गर्न पाइन भन्ने धेरै गुनासो सुनिन्छ । अर्थात आफूले चाहेको विषय पढ्न नपाएको धेरैको गुनासो हुन्छ । तर इच्छा भएको खण्डमा पढाइलाई आर्थिक अभावले रोक्न सक्दैन भन्ने धेरैले उदाहरण पनि दिएका छन् । यस्तै मध्येका एक हुन्, राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेश कार्यालयका प्रमुख जीतबहादुर शाह विद्यालयको शुल्क तिर्न उनकी आमाले गहना नै बेच्नु प¥यो । खसी र बाख्रा बेचेको पैसाले नपुगेपछि विद्यालयको शुल्क तिर्न अभिभावकले ऋणको भारी बोक्न तयार भए । आर्थिक अवस्था कमजोर छ भन्दैमा उनले हिम्मत हारेनन् । अन्ततः शिक्षाविद्को रुपमा आफूलाई स्थापित गरेरै छोडे । शिक्षक, विद्यालय निरीक्षक, जिल्ला शिक्षा अधिकारी, शिक्षा विकास निर्देशक हुँदै हाल उनी राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतमा प्रमुख र सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालय प्रमुखको नेतृत्व गरिरहेका छन् । प्रस्तुत छ, शिक्षाविद् शाहकै शब्दमा उनको जीवन भोगाइ र संघर्षको शारांसः

आमाले नाकको फुली नै बेच्नुभयो

विसं २०२० भदौ ८ गते सल्यानको कुमाख गाउँपालिका वडा नं. ५ मा मेरो जन्म भएको हो । आमा पशुपति र बुवा नरबहादुर शाहको पहिलो सन्तान हुँ । भिर पाखाहरुमा लुकामारी खेल्दै बाल्यकाल वित्यो । सानोमा गाईबाख्रा चराउने र बुवाआमालाइ सघाउने काम गर्थेँ । बुवाआमाले सामान्य खेती गर्नुहुन्थ्यो । आर्थिक अवस्था दयनीय थियो ।

तीन रुपैयाँ पढाइ शुल्क तिर्न पनि बाआमालाई धौँ–धौ पथ्र्याे । आमाबुवाले कहिले खसी बेचेर त कहिले साहुबाट ऋण ल्याएर स्कुलको शुल्क तिर्नुहुन्थ्यो । पढाइको शुल्क तिर्नकै लागि आमाले नाकमा लाउने फुली र बुलाखीसमेत बेच्नु परेको थियो । नयाँ किताव निकै महंगो पथ्र्याे । सधै पुराना किताव किनेर पढेको हुँ । माध्यमिक तहसम्म नयाँ किताव नै देख्न पाइँन ।

पढाइमा असफल हुनु परेन

पढाइको सन्दर्भमा भौगोलिक वातावरण मेरो लागि बाधक बन्यो । डरलाग्दा भिरपाखाकै कारण सानैमा विद्यालय जान पाइँन । छोरो भिरबाट लढ्छ की भन्ने डरले आमाबुवाले ठूलो भएपछि मात्रै स्कुल पठाउनु भयो । किनकी विद्यालय धेरै टाढा थियो । ८ वर्षको हुँदा अरणीको प्राथमिक विद्यालय कोटनाउलाबाट औपचारिक पढाइ सुरु गरँे । दुःखद कुरा कक्षा १ मै तीन वर्ष पढ्नु प¥यो । दुइ वर्षसम्म परीक्षा दिने समय नै थाहा पाइँन । अरणीकोमा कक्षा ६ सम्मका पढाइ पुरा गरेँ । ऊबेला गाउँमा कक्षा ६ भन्दा माथिल्लो तहमा पढाइ हुने स्कुलहरु थिएनन् ।

चौरजहारीको शितल माध्यमिक विद्यालयबाट कक्षा ७ देखि १० सम्म अध्ययन गरेँ । २०३९ सालमा एसएलसी प्रथम श्रेणीमा पास भएँ । ३० जनामध्ये ६ जना मात्रै पास भएका थियौँ । रुकुमपश्चिमकै मुसिकोट क्याम्पसबाट आइएड, सानोठिमी भक्तपुरबाट विएड, त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरबाट स्नातकोत्तर र काठमाडौं विश्वविद्यालयबाट एमफीलसम्मको अध्ययन पुरा गरेको छु । बाआमाले मलाई पढाउन गरेको संघर्षकै कारण सानैदेखि पढाइमा म अब्बल थिए । कक्षा १ देखि एसएलसीसम्म सधै प्रथम भएँ । उच्च शिक्षामा पनि कहिले असफल हुनु परेन ।

हेडसरले जागिर खोजी दिनुभयो

म पढाइमा अब्बल थिएँ । घरको आर्थिक अवस्था सरहरुलाई पनि थाहा थियो । जसकाकारण एसएलसी दिएपछि हेडसर (डिल्लीराज खनाल) ले जागिर खोजीदिनु भयो । एसएलसी दिएपछि त्रिवेणी गाउँपालिका रुकुमको एउटा स्कुलमा शिक्षक भएर पढाउन थालँे । ऊबेला तीन सय ८६ रुपैयाँ तलव थियो । त्यही तलवबाट पढाइ, घरखर्च र व्यक्तिगत इच्छाहरु पुरा गर्नुपथ्र्याे ।

केही महिनापछि गाउकै कोटनाउलामा शिक्षक बनेँ । एसएलसीको रिजल्ट आएपछि जीवन चलाउन सहज भयो । किनकी प्रथम श्रेणीमा पास भएपछि जु सुकै विद्यालयमा पनि शिक्षक हुन पाइन्थ्यो । यसरी २०४० सालदेखि २०५० सालसम्म शिक्षक पेसामा विताएँ ।

लोकसेवा पास भएको विश्वास नलागेपछि…

२०५० सालको कुरा हो । ऊबेला गाउँमा फोनहरु थिएनन् । केही खबर पु¥याउनु प¥यो भने आकाशवाणीकै भर पर्नुपथ्र्याे । म लोकसेवा पास गरेर विद्यालय निरीक्षक बनेको खबर पनि आकाशवाणीबाटै आएको थियो । तर मलाइ विश्वास नै लागेन । विश्वास नलागेपछि लोकसेवाको कार्यालय दाङमै पुगँे । साँचिक्कै म पास भएछु । धेरैले मौखिक पास गर्न एक÷दुइ लाख रुपैयाँ घुस खुवाउनुपर्छ भने । मसँग त्यतिधेरै पैसा थिएन । मन नलागे पनि मौखिक परीक्षा दिएँ ।

अन्ततः सफल भएँ । २०५० साल फागुनमा विद्यालय निरीक्षक भएर जाजरकोट पुगेँ । २०५३ देखि ५५ सम्म दैलेख र पुनः ५५ देखि ५९ सम्म जाजरकोटमा विताएँ । दुइ वर्षको अध्ययन २०६१ सालमा शैक्षिक तालिम केन्द्र नेपालगञ्जमा फर्किएँ । २०६५ देखि ०२६ सम्म जुम्ला, ६८–७१ सम्म दाङ ७१ देखि ७३ सम्म बर्दिया र २०७३ देखि ०७५ सम्म सुर्खेतको जिल्ला शिक्षा अधिकारीको रुपमा नेतृत्व गरँे ।

२०७५ असोजदेखि बुटवलमा शिक्षा विकास निर्देशक र २०७६ जेठदेखि राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यालय प्रमुखको रुपमा कार्यरत छु । यसका साथै सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण आयोजनामा कार्यालय प्रमुख (आयोजना निर्देशक) को जिम्मेवारी निभाइ रहेको छु ।

प्रधानाध्यापकलाई अधिकार दिनुपर्छ

करिव एक दशक सामुदायिक विद्यालयको शिक्षक भएँ । करिव २७ वर्षदेखि प्रत्यक्ष रुपमा सामुदायिक विद्यालयको मिलेर काम गर्दै आएको छु । मेरो अनुभवले अहिलेसम्म सामुदायिक विद्यालयलाईले अभिभावक पाएको जस्तो लाग्दैन । विद्यालय निरीक्षकदेखि शिक्षा निर्देशकसम्मको भूमिका अझै स्पष्ट हुन सकेको छैन । शिक्षकले काम गरे÷नगरेको मूल्याङ्कन गर्ने र दण्ड÷पुरस्कारको व्यवस्था छैन । अर्काेतिर काम नगर्ने शिक्षकलाई जागिरबाट बरखास्त गर्ने व्यवस्था छैन ।

पहुँच हुनेहरु सुविधा सम्पन्न ठाउँमा थुप्रिन थाले । तीन तहका सरकारले सामुदायिक विद्यालयमा लगानी गर्न सकेका छैनन् । यसरी हेर्दा सामुदायिक विद्यालयको मालिक (हेड सर, विद्यालय व्यवस्थापन समिति, सरकार वा अभिभावक) को हो भनेर स्पट भएको छैन । जसकाकारण आज सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर दयनीय छ । यसको सुधारका लागि हेडटिचरलाई पावरफूल अधिकारी दिनुपर्छ । विद्यालय व्यवस्थापन समितिलाई निर्णय गर्ने र हेडसरलाई कार्यान्वयनको जिम्मेवारी दिनुपर्छ ।

अनि विद्यार्थी लड्डु बोकेर अफिसमा आए…

म बर्दियाको जिल्ला शिक्षा अधिकारीको रुपमा कार्यरत थिएँ । एक दिन शैक्षिक सुधारका लागि बाँसगढीमा विद्यार्थी, अभिभावक र शिक्षकसँग भव्य भेला थियो । मैले शैक्षिक गुणस्तर सुधार्ने विषयमा बोल्दै गर्दा एकजना अभिभावक मेरा दुइवटा छोरामध्ये एउटा रातीसम्म पढ्छ र पढाइमा राम्रो छ । तर अर्काे पढ्न मान्दैन र खाना खानेवित्तिकै सुत्छ । उसलाई सुधार्न के गर्नुपर्ला भनेर प्रश्न गर्नुभयो । एसएलसी नजिकै आएका कारण अभिभावकले विद्यार्थीको चिन्ता व्यक्त गर्न स्वभाविक थियो ।

अविभावकले भनेअनुसार अध्ययनमा रुचि नराख्ने विद्यार्थीलाई सामान्य सम्झाइ बुझाएँ । एसएलसीको नतिजा आउँदा प्रश्न गर्ने अभिभावक र पढ्न रुचि राख्दैन भनिएको विद्यार्थी लड्डु बोकेर कार्यालयमा भेट्न आए । अनि विद्यार्थीलाई सम्झाउन जान्ने हो भने त्यसले जीवनमा ठूलो प्रभाव पार्दै रहेछ भन्ने लाग्यो । जुन जीवनमा अस्मरणीय क्षण हो । यसका साथै एसएलसी प्रथम श्रेणीमा सफल हुँदा र विनी पदमा नाम निकाल्दा जीवनमा खुशी मिलेको थियो ।

(२०७७ साउन ४ गते आइतबार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)

माविसम्म पढ्दा नयाँ किताव नै देख्न पाइँन

उपचार नपाउँदा अस्पतालमा छट्पटाउँदै कोरोना संक्रमित

माविसम्म पढ्दा नयाँ किताव नै देख्न पाइँन

विपीको ३८ औं स्मृति दिवसमा वृक्षारोपण

Leave a comment

Your email address will not be published. Required fields are marked *