२०८३ मंसिर ९ गते
वीरेन्द्रनगर, सुर्खेत 18°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

कोरोना कहरमा सावधानी अपनाउँदै खुल्न थाले विद्यालय

सुर्खेत, २ असोज ।

कोरोना त्रासका कारण गत चैतबाट बन्द रहेका विद्यालयहरु संचालनमा आउन थालेका छन् । कोरोना कहरकाबिच कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्यालयहरु खुल्न थालेका हुन् । कोरोना भाइरसकाको त्रासकाबीच पनि यहाँका स्थानीय तहहरुले सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्न थालेका हुन् ।

लामो समयदेखि बन्द भएका यहाँ केही विद्यालयहरु बिहीबारदेखि नै खुलेका छन् । अधिकांश विद्यालयहरु भने आउँदो आइतबारबाटै संचालनमा आउने भएका छन् । यसका लागि स्थानीय तहहरुले आवश्यक तयारी थालेका छन् । संघीय सरकारले कोरोनाको अवस्था हेरेर पठनपाठन गर्न सक्ने अधिकार स्थानीय तहलाई दिएपछि कर्णालीका स्स्थानीय तहले विद्यालय संचालनको अभ्यास सुरु गरेका हुन् ।

बिहीबारदेखि सुर्खेत, दैलेख र कालिकोटका केही विद्यालयहरु खुलेका छन् । वीरेन्द्रनगरको अम्मरज्योति माध्यमिक विद्यालय नेवारेले आवश्यक सुरक्षा सावधानी अपनाएर पठनपाठन प्रारम्भिक चरणमा पढाइ सुरु गरेको छ । ‘प्रशासनबाट विद्यालय खोल्ने निर्णय भएको छैन, हामीले अब कसरी पठनपाठन गर्न सकिन्छ भनेर अभ्यास गरेका हौँ’ अमरज्योति माध्यमिक विद्यालयमा प्रधानाध्यापक खगेन्द्र थापाले भने, ‘विद्यालय सञ्चालन गर्ने अनुमति दिए कक्षा ९ र १० मा थोरै विद्यार्थी राखेर पठनपाठन सुरु गर्न सकिन्छ ।’

यद्यपी विद्यार्थी संख्या धेरै भएका कारण पठनपाठन गर्न मुस्किलपर्ने थापाले बताए । ‘कक्षा १० मा मात्रै चार सयभन्दा बढी विद्यार्थी छन्’ थापाले भने, ‘एउटा कक्षामा ३० जना विद्यार्थी राख्यो भने पनि ठाउँ अपुग हुन्छ ।’ शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक माध्यमबाट भए पनि पठनपाठन नियमित गर्नुपर्ने उनको भनाइ छ । सुर्खेतमा मात्र होइन, कर्णालीका अन्य जिल्लामा पनि विद्यालयहरु खुल्न थालेका हुन् । लकडाउन हटेको र सरकारले सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान खुला गरेपछि विद्यालयहरु पनि खुल्न थालेका हुन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबारसम्म कर्णालीका विभिन्न चार जिल्लाहरु कोरोनामुक्त बनेका छन् । कारोना संक्रमण नभएका जिल्लामा सहज रुपमा र संक्रमणको जोखिम भएका जिल्लामा भने आवश्यक स्वास्थ्य सावधानी अपनाएर विद्यालयहरु संचालन गर्न सकिने शिक्षाविद्हरुले बताउँदै आएका छन् । कर्णालीका हिमाली जिल्लामा मंसिरमा नै शैक्षिक सत्र सकिदै छ । यसकारण पनि यो वर्षको शैक्षिक सत्र खेर फाल्न नहुने दबाव बढ्दै गएको छ । यही कारण पनि स्थानीय तहले आवश्यक सावधानी र सतर्कता अपनाएर विद्यालय संचालन गर्न थालेका हुन् ।
अब कोरोना देखाएर

बालबालिकालाई नतर्साऔं

कालिकोटको पचालझरना गाउँपालिकाका सबै विद्यालयहरु खुलेका छन् । बिहीबारदेखि गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन सुरु भएको छ । झण्डै ६ महिनापछि पचालझरनामा आठवटा माध्यमिक विद्यालयसहित ३६ वटै विद्यालयमा पठनपाठन सुरु भएको हो । सामाजिक दुरी कायम गरेर गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन सुरु भएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए ।

‘शैक्षिक सत्र खेर जान नदिन औपचारिक रुपमै विद्यालयमा पठनपाठन सुरु भएको छौँ’ उनले भने, ‘गाउँमा संक्रमित छैनन्, कोरोनाको त्रास देखाउन आवश्यक छैन ।’ संक्रमित नभएका सबै ठाउँमा विद्यालय खोल्न सकिने उनको तर्क छ । ‘विद्यालयमा मात्रै कोरोना जाने होइन, बालबालिकाहरु त गाउँमा घुलमिल भएकै छन्’ उनले भने, ‘अब पनि कोरोना पूर्णरुपमा हट्ला र विद्यालय खोलौला भन्दै कुर्नु बालबालिकाको भविष्य माथिको खेलवाड मात्रै हो ।’ सम्पूर्ण क्षेत्र खुल्ला गरेर विद्यालय बन्द गर्न नहुने उनको तर्क छ ।

तराइका जिल्ला बाहेकका अन्य ठाउँका शिक्षकलाई गाउँपालिकाले दुई महिनाअघि विद्यालयमा उपस्थित हुन आग्रह गरेको थियो । गाउँपालिकामा आएका शिक्षकलाई १४ दिन क्वारेन्टाइनमा बसालेर विद्यालयमा उपस्थित गराएको गाउँपालिकाले जनाएको छ । तराइका शिक्षकलाई पनि कोरोना परीक्षण गराउने, २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने र त्यसपछि मात्रै विद्यालयमा सहभागी गराउने गाउँपालिकाले भनाइ छ । उसो त त्यहाँ हालसम्म एक पनि पनि कोरोना संक्रमित छैनन् । यसअघि सहर तथा विदेशबाट आउनेहरुलाई राख्न गाउँपालिकाले विभिन्न १२ वटा विद्यालयमा क्वारेन्टाइन बनाएको थियो । अब संक्रमित क्षेत्र गाउँ फर्किनेहरुलाई राख्न १२ कोठे भवन बनाएका छ ।
क्वारेन्टाइन रहेका

विद्यालयमा सरसफाइ गरिँदै

कोरोनामो उच्च जोखिममा रहेको जुम्लाको चन्दननाथ नगरपालिकाले पनि आइतवारबाट विद्यालय खोल्ने भएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीले पढ्न पाउनेगरी विद्यालयहरु सञ्चालन गर्न लागिएको मेयर कान्तिका सेजुवालले जानकारी दिइन् । ‘पहिलो चरणमा प्राथमिक तकका विद्यालयमा पठनपाठन हुन्छ’ उनले भनिन्, ‘आधारभुत कक्षामा विद्यार्थी संख्या कम छ, सामाजिक दुरी कायम गरेर पठनपाठन गर्न सकिन्छ ।’ नगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापक बोलाएर आइतबारबाटै पठनपाठन निर्देशन दिएको छ । त्यस्तै मास्क र सेनिटाइनर प्रयोग गरेर सबै बालबालिकालाई विद्यालय पठाउन अभिभावकलाई पनि सूचित गरिसकेको छ । कोरोनाले विद्यालय क्षेत्र सबैभन्दा बढी प्रभावित भएको भन्दै आवश्यक सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्ने नगरपालिकाले तयारी गरेको छ । यसअघि क्वारेन्टाइन बनाइएका विद्यालयबाट क्वारेन्टाइन हटाउने, आवश्यक सेनिटाइज गर्ने र सरसफाइ गर्ने काम भइरहेको छ । कोरोना महामारीबाट बच्न विद्यालयबाटै सचेतनाका क्रियाकलाप अघि बढाउने छ । यसअघि चन्दननाथ नगरपालिकाले रेडियोबाट पढाउने कार्य गरेको थियो ।

पीसीआर रिपोर्ट नेगेटिभ भएमात्र शिक्षकलाई प्रवेश

दैलेखको भगवतीमाई गाउँपालिकाले शिक्षक÷शिक्षिकाको कोरोना परीक्षण गरेर मात्रै विद्यालय खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको गाउँ शिक्षा समितिको बैठकले शिक्षक÷शिक्षिकाको कोरोना परीक्षण गरेर मात्रै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पीसीआर रिपोर्ट नेगेटिभ आएका शिक्षकलाई मात्रै विद्यालयमा प्रवेश दिइनेछ ।

भैरबीमा पनि पीसीआर परीक्षणपछि आइतवारबाट नै सबै विद्यालय खुल्ने भएका छन् । विद्यालय खोल्नका लागि गाउँपालिकाले लागि सम्पूर्ण विद्यालयहरुमा आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने र शिक्षकहरुको आफै पिसीआर परीक्षण गर्ने र प्रत्येक हप्ता विद्यार्थीको स्वास्थ्य जाँच गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सिकाइ सहजीकरण निर्देशिका बमोजिम स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय संचालन गरिने थापाको भनाइ छ ।

कोरोना कहरमा सावधानी अपनाउँदै खुल्न थाले विद्यालय

स्थानीय तहले सडक निर्माण गर्दै

कोरोना कहरमा सावधानी अपनाउँदै खुल्न थाले विद्यालय

आजदेखि अधिकमास अर्थात् मलमास सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!