हरेक व्यक्तिले जीवनमा संघर्ष गरेकै हुन्छ । जीवन संघर्षको क्रममा जो थाक्दैन, त्यो व्यक्ति मात्र लक्ष्यमा पुग्छ । जो व्यक्ति कर्म नगरी सुख खोज्छ, ऊ कहिल्यै सफल हुन सक्दैन । सबैको जीवनमा बाधा अड्चन आउँछन्, जसले डटेर सामना गर्छ उ नै सफलतामा पुग्छ । दुख परिश्रमसँग रमाउन जान्ने व्यक्ति नै सफल हुने हो । त्यस्तै जीवन भोगाइको अनुभव भएका एक उदाहरणीय व्यक्ति हुन् प्रेम पाण्डे । वीरेन्द्रनगरमा रहेको नमुना कलेक्सनका सञ्चालकसमेत रहेका उनले आफ्नो जीवन भोगाइ र संघर्षको विषयमा हाम्रा सहकर्मी गीता थापासँग आजको जम्काभेटमा साँटेका छन् । प्रस्तुत छ, कुराकानीको शारासं ः

बाल्यकाल
प्रेम पाण्डे बाल्यकालमा चकचके स्वभावका थिए । उनी नयाँ कुरा केही देख्यो की त्यसको सिको गरिहाल्थे । उनी हक्की स्वभावका थिए । कसैसँग नडराउने, सबै साथीहरुसँग मिल्ने र बोलिहाल्ने गर्थे । उनको जन्म पिता सर्पनन्द जैसी र माता लाली जैसीको कोखबाट २०४१ सालमा दैलेखको रानीवनमा भएको हो । मध्यम परिवारमा जन्मिएका उनको बाल्यकाल रमाइलोसँग वित्यो । उनी बाल्यकालदेखि नै खेल्न औधी रुची राख्थे । खेल भनेपछि उनलाई अरु केही चाहिन्नथ्यो । खेल्न पाए पुग्थ्यो । उनको रुची नै खेलकुदमा थियो । त्यहि रुची पुरा गर्न उनले कराँते खेल्न सुरु गरे । उनले पढाइसँगसँगै खेललाई पनि अघि बढाए ।
पढाइसँगै खेल
उनले कक्षा एकदेखि पाँचसम्म दैलेखको भाषा स्कुलमा पढेका हुन् । कक्षा ६ देखि भने उनले दैलेख बजारको नारायण क्यापसमा पढे । उनको दैलेख बजारमा पनि घर भएकाले बजारमै बसेर पढ्थे । एसएलसी उनले सोही क्याम्पसबाट उतिर्ण गरे । उनी कक्षा सातमा पढ्दै गर्दा कराँते खेलमा आवद्ध भए । त्यसपछि उनको पढाइसँगै खेलको यात्रा पनि सुरु भयो । उनको रुची अनुसार उनले कराँते सिके र पछि गुरुसमेत भए । उनी एसएलसी पास भएपछि २०५८ सालमा सुर्खेत झरे । उनले कक्षा ११ र १२ भने वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतबाट पास गरेका हुन् । क्यापसको पढाइ सकेपछि उनले एकवर्ष दैलेखमा कराँते सिकाए । उनलाई त्यतिबेला निकै खुशी लागेको थियो । विद्यार्थीहरुलाई कराँते सिकाउन पाउँदा । त्यसपछि उनी २०६३ सालमा काठमाडौं गए । उनी काठमाडौं कराँते सिकाउकै लागि मात्र गएका थिए । उनले काठमाडौंको भैसीपाटी र कोटेश्वरको नीजि विद्यालयमा दुईवर्ष विद्यार्थीलाई कराँते सिकाए । उनी फेरी काठमाडौंबाट २०६४ सालमा सुर्खेत फर्किए ।
यसकारण खेल क्षेत्र छाडे
उनी सुर्खेत फर्किएपछि फेरी खेल क्षेत्रमा कहिल्यै फर्किएनन् । कारण थियो राज्यले खेलाडी र खेल क्षेत्रलाई पाखा लगाउनु । पाण्डेले राज्यले खेलाडीका लागि केही पनि नगरेको महशुस गरे । खेल क्षेत्रमै लागेर घरपरिवार चलाउन नसक्ने भएपछि उनी गुरुबाट व्यापारी बने । राज्यले खेलाडीलाई तलवको व्यवस्था र खेल क्षेत्रलाई प्राथमिकता नदिँदा उनी खेल क्षेत्रबाट नै पलायन हुनुप¥यो । उनी भन्छन्, ‘राज्यले खेलाडी र खेल क्षेत्रलाई प्राथमिकता दिन नसक्दा मैले खेल क्षेत्र छोड्नु परेको हो ।’ राज्यले खेल क्षेत्रलाई पहिले मात्र होइन अहिले पनि पाखा लगाउँदै आएको उनको भनाइ छ । कतिपय खेलाडी खेल क्षेत्रमा नै भविष्य बनाउने सपना बुनेर आए पनि सोचे र देखेजस्तो नहुँने उनी बताउँछन् । उनले पनि खेल क्षेत्रमा भविष्य देखेनन् । खेलाडी बनेर घरखर्च चलाउन हम्मेहम्मे परेपछि उनी खेल क्षेत्रबाट नै पलायन भए । उनले खेल क्षेत्रमा देखेको सपना अनि बाल्यकालको रुची सबै त्यागेर व्यवसायतर्फ होमिए ।
व्यवसायमा सघर्ष
उनको घरको आर्थिक अवस्था मध्यम नै थियो । खेल क्षेत्र छोडेर उनले फेन्सी पसल खोले । उनका आफन्तहरु पहिले नै सुर्खेतमा व्यवसाय गर्थे । उनीहरुको सल्लाह र सुझावमा उनले पनि वीरेन्द्रनगरमा ‘नमुना कलेक्सन’ सञ्चालन गरे । सुरुवाती दिनमा उनलाई निकै गाह्रो भयो । आफन्तसँग ऋण खोजेर पसल सुरु गरेको थिए । नयाँ ठाउँ, नयाँ व्यवसाय कसरी गर्ने, तर उनले हिम्मत हारेनन् । मेहेनत अनि संघर्ष गरे । त्यहि मेहेनत र सघर्षले उनी अहिले वीरेन्द्रनगरको प्रख्यात व्यापारी बन्न सफल भएका छन् ।
उनी फेन्सी समितिको अध्यक्षसमेत बनिसकेका छन् भने अहिले सुर्खेत उद्योग वाणिज्य संघको सदस्य पनि हुन् । भनिन्छ नि, ‘संघर्ष विना जीवनको कुनै अर्थ छैन ।’ सघर्ष गरे एकदिन अवश्य लक्ष्य पुरा हुन्छ । खेल क्षेत्रको लक्ष्य पुरा गर्न नसके पनि उनले व्यवसायको क्षेत्रमा भने आफ्नो लक्ष्य पुरा गरे । ‘प्रतिक्षाको फल मिठो हुन्छ’ भने झै पाण्डेले पनि जीवनमा अहिले त्यहि मिठो फल पाएका छन् । एउटा कोठाबाट सुरु गरेको व्यवसाय अहिले तीन कोठामा विस्तार भएको छ । उनले अहिले तीन वटा सटरमा फेन्सी पसल सञ्चालन गरेका छन् । दुख र परिश्रमको फल उनले प्राप्त गरेको छन् ।
उनको व्यवसाय विस्तारै फैलिदै गएको छ । उनले फेन्सी मात्र होइन, होटल व्यवसायमासमेत हात हालेका छन् । त्यसको सफलता भने फेन्सी पसलले दिएको हो । फेन्सी पसलबाट आएको नाफाले उनले होटल किनेका हुन् । उनले भर्खरै मात्र नमुना होटलसमेत सञ्चालन गरेका छन् । उनी भन्छन्, ‘मैले फेन्सी पसलबाट आएको आम्दानीले नै होटल किनेको हुँ ।’ उनले पसल गर्ने घरकै माथिल्लो तलामा रहेको मनकामना होटल थियो । उनले त्यहि होटल किने र नमुना होल नाम दिएर सञ्चालनमा ल्याएका छन् । अब उनले सबै सामान एकै ठाउँमा पाइने व्यवस्था गर्न लागेका छन् । त्यसका लागि पाण्डेले एउटा घर नै भाडामा लिएका छन् । उनको नमुना शोरुम गराउने योजना रहेको छ । कपडा, जुत्ता चप्पल, ब्याग सबै सामान एकै ठाउँमा पाइने व्यवस्था गर्ने उनको भनाइ छ । साथै टाढाबाट आउका पाहुँनालाई खान, बस्नेको व्यवस्थासमेत गरिने उनको भनाइ छ । सानो लगानीबाट सुरु गरेको उनको व्यवसाय अहिले फैलिदै गएको छ । त्यहि व्यवसायले नै उनलाई अहिले मालिक बनाएको छ ।
भावी योजना
उनको भावी योजना भनेकै नमुना शोरुम बनाउने हो । पाण्डेले कपडा, जुत्ता चप्पल, ब्याग सबै सामान एकै स्थानमा पाइने र बाहिरबाट आएका ग्राहकलाई बस्न र खानाकोसमेत व्यवस्था गर्ने गरी होटल सञ्चालन गरेका छन् । अब त्यही पसल र होटललाई व्यवस्थित रुपमा सञ्चालन गर्ने उनको योजना छ । इमानदार, निरन्तर र मेहनत गरेमा व्यवसायमा सफलता हात लाग्ने उनको भनाइ छ । आफ्नो यहाँसम्मको यात्रा पनि यसैको उपज भएको उनले सुनाए ।

