कोरोनाले अलमलमा कांग्रेस महाधिवेशन : कार्यकाल लम्ब्याउने नियत

काठमाडौं, २ भदौ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले अहिलेको पार्टी नेतृत्व र पदाधिकारीले नै पार्टीको आगामी महाधिवेशन फागुनमा गर्न नचाहिरहेको आरोप लगाएका छन् । ४ वर्षे कार्यकाल सकिएर थपिएको एक वर्षको ६ महिना बितिसक्दा समेत अहिलेको पार्टी नेतृत्वले महाधिवेशनका लागि आवश्यक काम अघि नबढाएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् ।
सभापति लगायत संस्थापन पक्ष विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को संक्रमण बढ्ने क्रममा रहेकाले फागुनमै महाधिवेशन गर्न सम्भव नरहेको बताउँछ । तर इतर समूह विकल्प खोजेर भए पनि महाधिवेशन फागुनमै गर्नु पर्नेमा जोड दिन थालेको छ । संघिय सांसदसमेत रहेका केही केन्द्रीय सदस्यले नेतृत्व र पदाधिकारीको नियतमै प्रश् न उठाएका छन् । उनीहरुले कोरोना महामारी नभए पनि महाधिवेशन गर्ने मनस्थितिमा संस्थापन पक्ष नरहेको बताएका छन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद अमरेशकुमार सिंहको आरोप त्यस्तै छ । ‘पार्टीको नेतृत्व र पदाधिकारीको नियत नै समयमा महाधिवेशन गर्ने देखिँदैन, अघिल्लो फागुनमा त माहामारी थिएन नि’, उनले संक्षिप्त कुरा गर्दै भने, ‘नेतृत्व तथा पदाधिकारीको नियत सफा छैन । आफ्नो कार्यकाल सकिने वित्तिकै नेतृत्व हस्तान्तरण गर्ने काम भएन ।’ उनले कार्यकाल लम्ब्याउने अनेक गतिविधि हुन थालेका बताए । ‘बरु विधान मात्रै होइन, कानुन र संविधान समेत मिचेर जति सक्यो आफ्नो कार्यकाल लम्ब्याउने प्रवृत्ति देखिएको छ, यो नेपाली प्रवृत्ति हो’, सिंहले भने, ’अहिले नेपालको मात्र होइन, विश्वभरको राजनीति नै त्यसरी अघि बढेको छ ।’ कोरोना महामारी अहिले विश्वभरका नीति नियम नमान् ने, आचरण र सिद्धान्त ठीक नभएका व्यक्तिका लागि अवसर भएको छ ।’
कांग्रेसको नेतृत्वले महाधिवेशन नचाहने सत्तारुढ नेकपाको नेतृत्वसँग मिलेर महाधिवेशन नै नगर्ने हो की भन् ने चिन्ता बढेको सिंह बताउँछन् । ‘नेकपा पनि महाधिवेशन चाहँदैन, अहिलेको पार्टीको नेतृत्व पनि त्यस्तै छ, नेकपासँग मिलेर विधानमा भएको व्यवस्था ४ वर्षे कार्यकालको सट्टा कोरोना महामारीको नाममा ऐन नै बदलेर महाधिवेशन नै नगर्ने हो की ?’, उनको प्रश् न छ । अबको २ वर्षपछि आम निर्वाचन हुन्छ, त्यसअघि महाधिवेशन टारेर अहिलेकै नेतृत्व र कार्यसमितिलाई निरन्तरता दिने सम्भावना पनि उत्तिकै छ । यसले देशको लोकतन्त्रलाई फाइदा गर्दैन, नेपाली जनता र राष्ट्रलाई त झन् फाइदा गर्दै गर्दैन ।’
उनले अहिलेको पदाधिकारीको अनुहार देखाएर पार्टी उँभो नलाग्ने समेत बताए । सिंहको विचारमा महामारी बीचमा महाधिवेशन गर्ने विकल्प धेरै छन् तर नेतृत्वको गर्ने नियत छैन । उनले भने, ‘महाधिवेशन गर्ने नै हो भने त पहिलेका महाधिवेशन प्रतिनिधि पनि काँग्रेसकै त हुन्, त्यही आधारमै पनि चुनाव गर्न पनि सकिन्छ, अनलाइनलगायत विकल्प हुन सक्छन् नि ।’ कांग्रेस नेतृ डिला संग्रौला नेतृत्वले चाहे विभिन् न विकल्प अपनाएर पार्टीको महाधिवेशन गर्न सकिने बताउँछिन् ।
‘कोरोना महामारी बीचमा हाम्रो भन्दा धेरै संक्रमण भएका केही देशले ठूला ठूला निर्वाचन समेत गरेका छन्’, उनले भनिन् ‘भारतमा लोक सभाको निर्वाचन, दक्षिण कोरियामा पनि निर्वाचन भइसकेको अवस्थामा देश भित्रको एउटा लोकतान्त्रिक पार्टीको महाधिवेशन गर्नै नसकिने भन् ने छैन ।’ प्रतिनिधिसभा सांसदसमेत रहेकी संग्रौलाले महाधिवेशन गर्ने दुई विकल्प अघि सारेकी छन् । उनका अनुसार क्रियाशील सदस्यता वितरण अनलाइन माध्यामबाट गर्न सकिन्छ ।
तल्ला कमिटीको निर्वाचन विकेन्द्रीकरण निर्वाचन प्रणाली अपनाएर गर्न सकिन्छ । ‘विभिन् न विकल्प छन्, त्यस अनुसार महाधिवेशन गर्नुपर्छ, पहिलो आधार भनेको क्रियाशील सदस्यता वितरण हो, त्यो वितरण गर्न गाह्रो भएको छ भने त्यसलाई अनलाइनबाटै दिन सकिन्छ’, उनले भनिन्, ‘दोस्रो, निर्वाचनको प्रणाली पनि विकेन्द्रीकरण निर्वाचनको प्रणाली अपनाउन सकिन्छ । चुनिएर आउने प्रतिनिधिलाई प्रत्येक वडा तहमै बाकस राखेर गर्न सकिन्छ । त्यसो गर्दा सबै एकै ठाउँमा भेला हुनुपर्दैन ।
संग्रौलाको विकल्पमा अर्का केन्द्रीय सदस्य नेता मीन विश्वकर्माले भने सहमति जनाएनन् । महाधिवेशनको अरु प्रकृया नै बाँकी रहेकाले कोरोना महामारीकै बीच फागुनमा महाधिवेशन गर्न सम्भव नरहेको सांसदसमेत रहेका नेता विश्वकर्माको तर्क छ । ‘महाधिवेशनको सदस्यता सम्बन्धी प्रकृया सम्पन् न भइसकेको र निर्वाचनको मात्र प्रकृया बाँकी रहेको भए, निर्वाचन सम्बन्धी अन्य विकल्प खोज्न सकिन्थ्यो तर सदस्यता वितरण, नवीकरण, सदस्यता सम्बन्धी विवादको छानबिन बाँकी रहेकाले अहिले निर्वाचनको मात्र विकल्प खोजेर निष्कर्षमा पुग्न सकिँदैन’, नेता विश्वकर्माले भने, ‘महाधिवेशन भनेको मात्रै नेतृत्वको निर्वाचन होइन, नीतिगत निर्णय पनि हो, सिद्धान्त, नीति, कार्यक्रम र संगठनको पनि निर्वाचन हो ।’
राजनीतिक विश्लेषक खगेन्द्र प्रसाईं भने नेतृ संग्रौलाले भने जस्तो अन्य देशहरुको अवस्था नेपालको नरहेकाले महामारीका बेला महाधिवेशन गर्दा झनै भयावह स्थिति आउन सक्ने बताउँछन् । ‘जुन देशमा हस्पिटल लगायत हेल्थ सिस्टम राज्यको कमाण्डमा छ, ती देशमा यस्ता गतिविधि गर्न सकिन्छ होला, तर हाम्रो जस्तो भेन्टिलेटर समेत पर्याप्त मात्रामा नभएको देशमा संक्रमण बढ्दो क्रममा रहेका बेला भोली अप्ठेरो स्थिती नआउला भन् न सकिन् न’, उनले भने ।
यो कुनै बिचार राख्ने भन्दा पनि वस्तुगत प्रश् न भएकाले यो कोरोनाको स्थितिमा भर पर्ने उनको भनाई छ । ‘अहिलेको अवस्थामा कांग्रेसले अनलाइन मार्फत गर्न सक्छ कि सक्दैन, हाम्रो राज्यको क्षमता अनलाइन माध्यामबाट महाधिवेशन गर्ने छ कि छैन, बिचार गर्नुपर्छ’, उनले भने, ’भिडभाड नगरेर महाधिवेशनको काम गर्न सकिन्छ कि सकिँदैन, भोलि संक्रमण बढ्दै गयो र राज्यले धेरै मानिस एकै ठाउँमा भेला हुन नदिने स्थिति आयो भने गर्न सकिँदैन, त्यो स्वभाविकै हो ।’
कोरोना बहानामा महाधिवेशन गर्ने नगर्ने नियत नेताहरुले राखेको बारेमा प्रसाईंले आफू पुनः नेतृत्वमा रहिरहने सुनिश्चितता नभएसम्म महाधिवेशन नगर्ने प्रवृत्ति कांग्रेसमा पनि रहेको बताए । ‘महाधिवेशन नगर्ने इन्टेन्सनमा त्यहाँका मुख्य नेताहरु र पार्टीभित्रको पक्ष प्रतिपक्षमा हुन सक्छ, किनभने आफ्नो पोजिसन सुरक्षित छ भन् ने कुराको लगभग किटानी नभएसम्म महाधिवेशनमा जाने इच्छा कांग्रेसमा पनि देखिँदैन’, उनले भने, ‘किनभने अन्तरपार्टी लोकतन्त्रको संकट त ठूलै छ नि कांग्रेसमा पनि नेकपाको जस्तै, तर सानो प्रतिपक्ष भएकाले त्यस्तो संकट मुलुकलाई नोटिस नभएको मात्रै हो ।’






