सामाजिक र कृषि मन्त्रालयसंग विवरण मागिँदै
सुर्खेत, २७ भाद्र ।
कर्णाली प्रदेशसभा, सामाजिक विकास समितिको ७६ औं बैठक शुक्रबार सम्पन्न भएको छ । समितिका अध्यक्ष देवी ओलीको अध्यक्षतामा बसेको बैठकले विद्यमान कोरोना भाइरसले सृजना गरेको समस्या, प्रभाव र यसको नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयबाट हालसम्म भएको कामको विवरण माग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी समितिको आ.व. २०७७/०७८ को वार्षिक कार्ययोजना तयार गर्ने, समितिको आन्तरिक कार्यविधि संशोधन गर्ने र समितिबाट हुने अनुगमन तथा मूल्याङ्कनलाई प्रभावकारी बनाउन खाका तयार गर्ने पनि निर्णय गरेको छ ।
समितिको कार्यक्षेत्र अन्तरगतका सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गत आ.व. २०७६/०७७ को वार्षिक प्रगति विवरण र चालु आ.व. २०७७/०७८ को अख्तियारी सम्वन्धित कार्यालयमा पठाए नपठाएको सम्वन्धमा विवरण माग गर्ने र तत्काल प्रदेशसभामा पेश गर्ने विधेयकको मस्यौदाको विषयमा भए गरेका काम कारवाहीका सम्बन्धमा सम्वन्धित मन्त्रालयबाट विवरण माग गर्ने निर्णयसमेत गरेको समितिका सचिव राजेन्द्र पौडेलले जानकारी दिए ।