कर्णालीमा थप ३० जनामा कोरोना संक्रमण

सुर्खेत, २६ भदौ ।
कर्णाली प्रदेशमा शुक्रवार थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका नौ जना, कालिकोटका दुई जना, दैलेखका तीन जना, जुम्लाका दुई जना, सल्यानका दुई जना, जाजरकोटका एक जना, हुम्लाका एक जना, रुकुमपश्चिमका एक, बर्दियाका चार, काठमडौंका एक, ताप्लेजुङका एक, ललितपुरका एक र गुल्मीका एक जना रहेका छन् । त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक जनामा संक्रमण देखिएको छ । योसंगै कर्णालीमा संक्रमितको संख्या दुई हजार सात सय ५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १५ जना संक्रमण निको भई डिस्चार्ज भएका छन् । हालसम्म संक्रमण निको हुनेको संख्या दुई हजार तीन सय ७९ जना रहेको छ । प्रदेशका विभिन्न अस्पताल र आइसोलेसनमा हाल तीन सय ७० जना उपचाररत रहेका छन् । प्रदेशमा संक्रमणबाट कर्णालीमा ६ जनाको भने मृत्यु भइसकेको छ ।






