सुर्खेतमा चट्याङले दुई जनाको मृत्यु

सुर्खेत, २६ भदौ ।
सुर्खेतमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–१ सुगुरखालका सुरजबहादुर वलीको घरमा बुधबार राति चट्याङ पर्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
डीएसपी घर्तीका अनुसार मृत्यु हुनेमा सुरजकी चार वर्षीया छोरी रोशनी वली र उनका भाइका छोरा ११ वर्षीय विनोद वलीको घटना स्थलमै मृत्यु भएको हो । घटनामा सुरजकी १० वर्षीया छोरी गंगा वली, १२ वर्षीया छोरी अमृता वली र ७ वर्षीय छोरा जय वली घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर, कालागाउँमा ल्याइएको डीएसपी घर्तीले बताए ।






