रुकुम पश्चिममा कोरोना नियन्त्रणका लागि १० करोड भन्दा बढी खर्च

रुकुम पश्चिम, २४ भदौ ।

गएको आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म कोरोना भाइरस रोकथाम, नियन्त्रण, तथा पूर्वतयारीका लागि रुकुम पश्चिममा १० करोड २२ लाखभन्दा बढी रुपैयाँ खर्च भएको छ । रुकुम पश्चिमका ६ पालिका र जिल्ला प्रशासन कार्यालयमार्फत चार महिनाको अवधिमा १० करोड २२ लाख ६८ हजार तीन सय ३४ रुपैयाँ खर्च भएको हो ।

कुल रकममध्ये जिप्रकामार्फत १९ लाख ९९ हजार दुई सय एक रुपैयाँ खर्च भएको छ भने १० करोड दुई लाख ६९ हजार एक सय ३३ रुपैयाँ पालिकामार्फत खर्च भएको छ । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जिल्ला प्रशासन कार्यालयबाट भएको खर्च रकमले सबै पालिकामा स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताए । सुरक्षाकर्मी र कर्मचारीको लागि पनि आवश्यक स्वास्थ्य सामग्री खरिद गरिएको उनले भने ।

चौरजहारी नगरपालिका

गएको असार मसान्तसम्म सबैभन्दा बढी खर्च चौरजहारी नगरपालिकाले गरेको छ । विभिन्न शीर्षकमा तीन करोड ८९ लाख २० हजार ६ सय ५१ रुपैयाँ खर्च गरेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । उनका अनुसार पीसीआर ल्याब सञ्चालन तथा स्वयंसेवक पारिश्रमिक गरी ७४ लाख ९३ हजार सात सय ८८ रुपैयाँ खर्च भएको छ ।

त्यस्तै आइसोलेशन अस्पताल तथा क्वरेण्टीन निर्माणसँग सम्बन्धित कार्य र अन्यमा एक करोड ९९ लाख ६१ हजार नौ सय सात रुपैयाँ खर्च भएको छ । नगरपालिकाले दैनिक छाक टार्न मुस्किल भएका ६ सय २८ घर परिवारलाई २० लाख रुपैयाँको राहत वितरण गरेको छ । अधिकृत केसीले प्राकृतिक प्रकोप रोकथाम, तयारी, उद्धार, राहत तथा पुनस्र्थापना शीर्षक अन्तर्गत स्वास्थ्य समग्री खरिद तथा जोखिम भत्तालगायतमा ९४ लाख ६४ हजार नौ सय ५६ रुपैयाँ खर्च गरिएको बताउनुभयो । चौरजहारीले जिल्लामै पहिलो पटक पीसीआर परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको हो । यसका साथै नगरपालिकाले आइसोलेशन अस्पतालसमेत सञ्चालनमा ल्याएको छ ।

आठबीसकोट नगरपालिका

त्यसैगरी आठबीसकोट नगरपालिकाले कोरोना नियन्त्रणमा एक करोड ९६ लाख ६३ हजार ६ सय १२ रुपैयाँ खर्च गरेको जनाएको छ । अस्पताल निर्माण तथा व्यवस्थापनमा एक करोड १७ लाख ८१ हजार चार सय ७५ र क्वरेण्टीन निर्माण, सञ्चालन तथा व्यवस्थापनमा ३१ लाख १४ हजार एक सय २४ रुपैयाँ खर्च भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद लम्सालले बताए । उनका अनुसार औषधि तथा स्वास्थ्य उपकरण खरिदमा ११ लाख ३३ हजार तीन रुपैयाँ र विपद्को समयमा खटिएका कर्मचारीहरुलाई कार्यपालिकाको निर्णयअनुसार जोखिम भत्ता, खाजा तथा यातायात खर्चमा तीन लाख ३६ हजार पाँच सय ३५ रुपैयाँ खर्च भएको छ ।

अधिकृत लम्सालले दिएको जानकारीअनुसार विपन्न तथा मजदुर गरेर परिवार पाल्नेहरुलाई १८ लाख ६३ हजार पाँच सय ४० रकम बराबरको राहत वितरण गरिएको छ भने देशका विभिन्न स्थानमा रहेकालाई उद्धार गरेर नगरपालिका ल्याउँदा १४ लाख ३४ हजार नौ सय ३५ रुपैयाँ खर्च भएको छ । नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा १७ लाख २० हजार सात सय ४० रुपैयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आइसोलेशन अस्पताल समेत सञ्चालन गरेको छ ।

मुसिकोट नगरपालिका

मुसिकोट नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नरवीर खड्काले एक करोड ४६ लाख ९९ हजार सात सय ३२ रुपैयाँ कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको बताए ।

नगरपालिकाले विभिन्न वडामा ज्याला मजदुरी गरेर जीविकोर्पान गर्दै आएका व्यक्तिहरुको लागि २७ लाख ४२ हजार तीय सय रुपैयाँ बराबरको राहत समाग्री वितरण गरेको छ भने ३८ लाख ४२ हजार चार सय ३२ रुपैयाँ स्वास्थ्य सुरक्षा सामग्री खरिदमा खर्च गरेको छ ।

निमित्त प्रशासकीय अधिकृत खड्काका अनुसार नगरपालिकाले आइसोलेशन भवन निर्माणको लागि ३० लाख र क्वरेण्टीन व्यवस्थापन र सञ्चालनमा ४१ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । नगरपालिकाले विभिन्न स्थानबाट मजदुर र विद्यार्थीलाई उद्धार गर्दा तीन लाख ५० हजार र कोरोनाका शङ्कास्पद बिरामीहरुलाई अस्पताल लैजाँदा एम्बुलेन्स भाडा शीर्षकमा एक लाख ४५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । त्यसैगरी कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रम तथा सूचना प्रकाशन, प्रसारणमा चार लाख ७० हजार रुपैयाँ खर्च भएको खड्काले बताए ।

मुसिकोट नगरपालिकाले यी खर्च सङ्घीय तथा कर्णाली प्रदेश सरकार, आन्तरिक र नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमबाट व्यवस्थापन गरेको जनाएको छ । नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकबाट ८५ लाख ६८ हजार आठ सय ७७ रुपैयाँ प्राप्त भएको थियो भने विभिन्न व्यक्ति र संस्थाबाट चार लाख ५५ हजार एक सय पाँच रुपैयाँ सहयोगस्वरुप प्राप्त भएको थियो ।

त्रिवेणी गाउँपालिका

रुकुम पश्चिमका तीन गाउँपालिकामध्ये त्रिवेणी गाउँपालिकाले सबैभन्दा बढी बजेट खर्च गरेको जनाएको छ । गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रणका लागि एक करोड २२ लाख १६ हजार ९२ रुपैयाँ खर्च गरेको स्वास्थ्य शाखा संयोजक वीरबहादुर डाँगीले बताए । उनका अनुसार गाउँपालिकाले सबैभन्दा बढी ५३ लाख ८८ हजार चार सय ७२ रुपैयाँ क्वरेण्टीन सञ्चालन तथा व्यवस्थापनमा र ३४ लाख सात हजार पाँच रुपैयाँ स्वास्थ्य सामग्री खरिदमा खर्च गरेको छ ।

स्वयंसेवक परिचालनमा १५ लाख ८१ हजार, आइसोलनश वार्ड निर्माणमा आठ लाख २८ हजार, नागरिक उद्धारमा पाँच लाख २९ हजार नौ सय, सूचना तथा सञ्चार खर्चमा ९९ हजार दुई सय र विविध शीर्षकमा तीन लाख ८२ हजार पाँच सय १५ रुपैयाँ खर्च भएको स्वास्थ्य संयोजक डाँगीले जनाए । यी खर्चको व्यवस्थापनको लागि कर्णाली प्रदेश सरकारले १५ लाख र पालिकाले स्थापना गरेको कोषमा १० लाख रुपैयाँ जम्मा भएको र बाँकी खर्च गाउँपालिकाले बेहोरेको उनले उल्लेख गरे ।

बाँफिकोट गाउँपालिका

बाँफिकोट गाउँपालिकाले असार मसान्तसम्म विभिन्न शीर्षकमा ९५ लाख ३२ हजार तीन सय ८३ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार गुरुङले कोरोना रोकथाम तथा उपचारको लागि निर्माण गरिएका क्वरेण्टीन व्यवस्थापन र सञ्चालनमा १६ लाख ६० हजार दुई सय २८ र स्वास्थ्य उपकरण तथा औषधिजन्य सामग्री खरिदमा २१ लाख रुपैयाँ खर्च भएको बताए । अधिकृत गुरुङका अनुसार गाउँपालिकामा ३७ लाख ५० हजार रुपैयाँको राहत वितरण गरिएको छ भने २० लाख २२ हजार एक सय ५५ रुपैयाँ जोखिम भत्ता शीर्षकमा खर्च गरिएको छ ।

सानीभेरी गाउँपालिका

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले भने गएको असार मसान्तसम्म सबैभन्दा कम खर्च भएको जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपाल सिंह विष्टले गएको आर्थिक वर्षको चार महिनामा ५२ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ खर्च गरेको बताए । गाउँपालिकाले औषधिजन्य सामग्री खरिदमा नौ लाख ३६ हजार ३८ र क्वरेण्टीन सञ्चालन तथा व्यवस्थापनमा २५ लाख ४४ हजार तीन सय ४२ रुपैयाँ खर्च गरेको छ । उहाँका अनुसार खाद्यान्न तथा राहत वितरणको लागि १० लाख एक हजार सात सय ८८ र पीसीआर परीक्षण तथा ढुवानीमा ३० हजार रुपैयाँ खर्च भएको छ ।

अलपत्र मजदुर तथा विद्यार्थीको उद्धारमा यातायात शीर्षकमा सात लाख २४ हजार चार सय ९४ रुपैयाँ खर्च भएको अधिकृत विष्टले उल्लेख गरे । यातायात र राहत वितरणमा कर्णाली प्रदेश सरकारले सहयोग गरेको थियो भने अन्य सबै रकम गाउँपालिकाले बेहोरेको उनले बताए ।

गएको आव २०७६र०७७ मा कोरोना नियन्त्रण, उपचार तथा पूर्वतयारीको लागि रुकुम (पश्चिम) मा गरिएको खर्च विवरण–

यो खबर उज्यालो अनलाइनमा राजु लामिछानेले लेखेका छन् ।

रुकुम पश्चिममा कोरोना नियन्त्रणका लागि १० करोड भन्दा बढी खर्च

नेप्से दोहोरो अङ्कले बढ्यो

रुकुम पश्चिममा कोरोना नियन्त्रणका लागि १० करोड भन्दा बढी खर्च

सिम्ता गाउँपालिका सिल, अध्यक्षलाई कोरोना पोजेटिभ

Leave a comment

Your email address will not be published. Required fields are marked *