विवादित सडक वर्षौंपछि कालोपत्रे

सागर परियार
जुम्ला, २२ भदौं ।
कर्णाली राजमार्गअन्तर्गत जुम्ला सडक खण्डको विभिन्न भागमा आव ०७४/७५ मा कालोपत्रे भयो । नाग्म जुम्लासम्मको ३२ किलोमिटर दूरीमा कुडारी, त्रिवेणी, रारालिही, उम्गाड, एैरेनीलगायतका सबै ठाउँमा कालोपत्रे धमाधम सुरु भयो । तर जग्गा विवादका कारण तातोपानी गाउँपालिका–६ स्थित रावतबाडा सडक कालोपत्रे हुन सकेन ।

त्यहाँ निकै साघुरो भएको र करिब ४ मिटर चौडाइ गरेर मात्र कालोपत्रे गर्ने तयारी भए पनि स्थानीयले अवरोध गर्दा सडक निर्माण विवादित बनेको थियो । जसले गर्दा रावतबाडा नजिककै २ सय ५० मिटर सडक वर्षौसम्म साँघुरो र धुलाम्य नै रह्यो । त्यसबीचमा नाग्मदेखि जुम्लाको ३२ किलोमिटर सडकमध्ये करिब ३० किमि सडकमा भने कालोपत्रे सकिएको थियो ।

स्थानीयकै विरोध र विवादकै कारण दुईवटा टेण्डर भइसक्दा पनि निर्माण हुन नसकेको रावतबाडाको २ सय ५० मिटर सडक वर्षौंपछि कालोपत्रे भएको छ । विभिन्न चरणमा स्थानीयसँंग गरिएको परामर्श र संवाद पश्चात विवाद मिलेपछि २ सय ५० मिटर सकडलाई थप चौडा बनाई कालोपत्रेको काम सुरु भएको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।

उनले भने, ‘स्थानीयकै विरोधले गर्दा वर्षौंदेखि त्यो सडक निर्माण हुन सकेको थिएन, मुस्किलले विवाद समाधान भएपछि ४ मिटर सडक चौडा गरेर, एक मिटरको नाली निकालेर दुई सवारी अट्ने ६ मिटरको सडक निर्माण गरी कालोपत्र भइरहेको छ ।’ त्यस्तै नाग्मदेखि जुम्लातर्फको १ किलोमिटर ग्राभेल सडक पनि कालोपत्रे भइरहेको छ । ६ मिटर चौडाइ र नालीसमेत निकालेर सकिएको उक्त सडक पनि वर्षौंपछि कालोपत्र हुने भएको छ ।

नाग्मदेखि जुम्लातर्फको १ किमि सडकमा कुनै विवाद नभए पनि ठेक्कापट्टाकै ढिलाले आजसम्म कालोपत्रे हुन सकेको थिएन । अहिले १ किमि नाग्मदेखि जुम्ला र २ सय ५० मिटर रावतबाडा सडक कालोपत्रे गर्ने काम एकैसाथअघि बढिरहेको सडक डिभिजनका प्रमुख भण्डारीले जानकारी दिए । दुई ठाउँको गरी १२ सय ५० मिटर कालोपत्रे गर्ने बाँकी ७ सय ५० मिटर थप जुम्लादेखि नाग्मसम्मको बिग्रिएको सडक मर्मत गरी २ किमि कालोपत्रे गर्ने योजना छ ।

प्रमुख भण्डारी भन्छन, ‘त्यसका लागि ४ करोडको लागत छ । सकड कालोपत्रेसँंगै विभिन्न ठाउँमा पर्खाल र नाली निर्माण गर्नुपर्नेछ ।’ २ किलोमिटर कालोपत्रे सकिएपश्चात नाग्म जुम्लासम्मको ३२ किलोमिटर सडकमा काहीँ पनि खाल्डाखुल्डी नहुने उनको दाबी छ । यसअघि नै तातोपानी, लिताकोट, राँका, कुडारीको सडक खण्डमा कालोपत्रे गरी सकिएको छ ।

कर्णालीकै लाइफलाइनका रूपमा रहेको कर्णाली राजमार्गलाई नाली छोडेर ६ मिटरको चौडाइ बनाएको खण्डमा कर्णालीमा दुर्घटना रोकिने विज्ञहरू बताउँछन् । खर्च पनि कम लाग्ने र छोटो समयमै यात्रा गर्न सक्ने खालको सडकको विकास र स्तरवृद्धिमा ध्यान दिनुपर्ने विज्ञले सुझाव दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *