भरतपुरमा भरतको पक्षमा माहौल बन्दै

भरतपुर,८ असार ।
चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन चलिरहेको छ । देशका ७७ वटै जिल्लाबाट मतदान गर्न र आफ्ना उम्मेदवारलाई जिताउन आएकाहरू बेग्लै माहौल छ । त्यसै मध्यका एक जुझारु युवा हुन् भरत प्रसाद पनेरू ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशमा पनेरूलाई विधि, निष्ठा र सहअस्तित्वको राजनीतिका प्रतिनिधि व्यक्तित्वका रूपमा हेरिने गरिएको छ । पार्टीको स्थापना कालदेखि नै निरन्तर सक्रिय रहँदै आएका पनेरूले कहिल्यै कुनै गुट वा समूहको छहारी खोज्नेभन्दा पनि पार्टीलाई नीति, विधि र संगठनात्मक मूल्यमान्यताअनुसार सञ्चालन हुनुपर्ने पक्षमा दृढतापूर्वक आवाज उठाउँदै आएका छन् ।
सहकर्मीहरूलाई निषेध गर्ने वा कमजोर बनाउने राजनीतिक संस्कृतिभन्दा माथि उठेर सबैलाई समेट्ने, सच्याउने र सहकार्यको वातावरण निर्माण गर्ने उनको शैलीले उनलाई लुम्बिनी प्रदेशका कार्यकर्तामाझ फरक पहिचान दिलाएको छ । उनका समर्थकहरूका अनुसार भरत पनेरूका लागि लुम्बिनी केवल भौगोलिक क्षेत्र नभई रास्वपाको एक अभिन्न र महत्वपूर्ण आधारभूमि हो ।
राजनीतिमा केवल भाषण वा नाराभन्दा पनि ज्ञान, दृष्टिकोण र व्यवहारिक क्षमताको आवश्यकता पर्ने बताउँदै समर्थकहरूले पनेरूको शैक्षिक तथा बौद्धिक पृष्ठभूमिलाई उनको प्रमुख सबल पक्षका रूपमा प्रस्तुत गरेका छन् । उनले समाजशास्त्र र भौतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् भने ग्रामीण विकास विषयमा अध्ययनरत छन् । साथै मानविकी, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन तथा विज्ञान विषयमा स्नातक तहको अध्ययन पूरा गरेका छन् ।
समर्थकहरूका अनुसार पनेरूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउनुका मुख्य आधारहरूमा विधिको शासन स्थापित गर्ने प्रतिबद्धता, उच्च शैक्षिक योग्यता र व्यवहारिक शालीनता, साथै भेदभावरहित र समावेशी नेतृत्व क्षमता रहेका छन् । उनी पार्टीलाई व्यक्तिकेन्द्रित होइन, नीति र प्रणालीमा आधारित संगठनका रूपमा विकास गर्न सक्ने नेताका रूपमा प्रस्तुत गरिएका छन् ।
रास्वपाभित्र सहअस्तित्व, एकता र विधिको पक्षमा निरन्तर आवाज उठाउँदै आएका भरत प्रसाद पनेरूलाई केन्द्रीय सदस्यमा मतदान गरी नेतृत्व तहमा पुर्याउन समर्थकहरूले अपिल गरेका छन् ।
“लुम्बिनीको आवाज, विधिको वकालत — केन्द्रीय सदस्यमा भरत प्रसाद पनेरू” भन्ने नारासहित उनको उम्मेदवारीलाई व्यापक समर्थन जुटिरहेको बताइएको छ ।






