लेख:पराजयको शोक

उमालाल आचार्य

संविधान जारी भएपछि २०७४ को पहिलो चुनावमा एमाले र माओवादी एकीकरण  हुँदा खड्ग प्रसाद ओलीको नेतृत्वमा स्पष्ट  बहुमतको सरकार  निर्माण भएको थियोे । माओवादी र एमाले नेतृत्वको आपसमा स्वार्थ बाँझिदा ओलीले  संसद विघटन गरिदिए । अदालतले त्यसलाई उल्टाएर पुनर्गठन गरि यथावत स्थितिमा ल्याइदियो । राष्ट्रपति आफ्नो अनुकूल भएको कारण ओलीले फेरि विघटन गरे  । मानौं उनी संसद विघटन गर्नैका लागि  प्रधानमन्त्री भएका  हुन । पछिल्लो पटक अदालतले ओलीलाई फ्याँकेर काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाइदियो ।

लहडको भरमा अकारण दुई पटक संसद विघटन गरेको आरोप ओलीको टाउकोमा लाग्दै आएको छ । यस कारण संसद विघटन गर्नु परेको थियो भनेर ओलीले प्रष्ट रूपमा कतै केही बताइरहेका छैनन् । राज्यले अर्बौं रुपैयाँ खर्च गरेर चुनाव सम्पन्न गराउँछ तर कोही मैमत्त सन्काह शासकले अकारणमा संसद विघटन गरिदिंदा आर्थिक रूपमा राष्ट्र जर्जर हुँदै जान्छ । त्यसकारण  त्यसरी  संसद विघटन गरिनु राष्ट्रका लागि धोका र बेइमानी सिबाय अरु हुन सक्दैन ।

अनेकन रणनीति षड्यन्त्र र दाउपेचबाट  देउवासँग मिलेर ओलीले २०८१ साल असारमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तेस्रो ठुलो पार्टीको असंवैधानिक मैमत्त सरकारलाई ढाल्दै अर्को असंवैधानिक  सरकार गठन गरि नेतृत्व लिन पुगे । असंवैधानिक यस मानेमा कि भ्रम दाउपेच र षड्यन्त्रबाट सबैभन्दा ठुलो पार्टी काँग्रेसलाई पाखा राखी तेस्रो ठुलो पार्टी माओवादी र दोस्रो ठूलो पार्टी एमालेले सत्तामा कब्जा जमाएका थिए ।

ओलीबाट आफ्ना विगतका कमि कमजोरी धोइ पखाली गरेर या पाठ सिकेर नयाँ सोच र विचारले  देश विकासमा कटिबद्ध हुने अपेक्षा थियो, तर त्यसो हुन सकेन । भ्रष्टाचार सम्बन्धमा ५ वर्ष भित्र कतैबाट किटानी उजुरी नपरेमा फेरि कसैले पनि  मुद्दा लगाउन नपाइने भन्ने आसयको खतरनाक अवधारणा ल्याउन खोजेपछि शुरुमै जनताको आँखाको कसिंगर बन्दै गएका प्रधानमन्त्री ओलीको चौतर्फी विरोध भयो ।

सत्ताको बागडोर समाएका ओलीको संवैधानिक निकायमा दबदबा कायम रहेको अवस्थामा थियो । त्यो परिस्थितिमा मन्त्री र सांसदका विरुद्ध भ्रष्टाचार मुद्दामा कसले उजुरी दिने आँट गर्न सक्छ ? ज जसले गर्छ उसका विरुद्ध मिडिया ट्रायल गरेर उल्टै झुठा मुद्दा लगाइ ओली सरकारले फसाउने प्रबल सम्भावना हुन्छ । ओलीले आफ्ना दुईवटा नारा बारम्बार फलाक्ने गरे । पहिलो  सुखी नेपाली समृद्ध नेपाल । दोस्रो थियो म भ्रष्टाचार गर्दैन र गर्न पनि दिन्न । ती नाराहरुमा के नियत लुकेका थिए भन्ने कुरा घटनाक्रमले छर्लङ्ग पारिरहेका छन ।

ओली र देउवाको आलोचना यति बढ्दै गयो कि सामाजिक संजालमा मात्र होइन तिनका प्रत्येक्ष उपस्थितिका सभा र सम्मेलनमा पनि विरोधका स्वरमा नारा जूलूस हुन थाल्यो र कुनै पनि सभा र जनभेला वा उपस्थिति जनाउन मुश्किल पर्न थाल्यो । त्यसकारण सुरक्षा व्यवस्थापन गर्न कठिनाइ  हुन गएकोले सभा सम्मेलनमा उपस्थित नहुनकालागि सुरक्षा निकायले जनआलोचित नेतृत्वलाई सुझाव नै दिनुपरिरहेको थियो ।

ओलीका निकटतम सल्लाहकारले चर्चा कमाउनका लागि सुझाएको उपाय उद्धरणमा यस्तो थियो, “कमरेड केपी ओलीको  फेसबुक पेजमा हरेक दिन ५० हजार भन्दा बढी लाइक् आयो भने बुझ्नुस पार्टीले बहुमत ल्यायो, त्यहाँभन्दा बढी टाउको दुखाउनै पर्दैन । कान्तिपुरले के लेख्यो हेर्नै पर्दैन । तर हामी गर्दैनौं अर्काले गरिरहेको छ । काठमाडौको मेयर ले यसो खासखुस केही  लेख्नासाथै ८०/९० हजारले लाइक् गरेको देखिन्छ । धरानतिर एउटा बौलाहा टाइपको मेयर छ, उसको स्टाट्समा ४०/५० हजारले लाइक् गरेको देखिन्छ १ घण्टामा ।

त्यसपछि स्वतन्त्र पार्टीको सभापतिले राखेको देख्छु मैले,उसको १ घण्टामा ३०/४० हजारले लाइक गरेको देख्छु । तिनिहरुबाट पनि सिकौंन हामी  । सूर्यको जय होस लेख्दिनुस् । जय सूर्य लेख्दिनुस् सिद्धिगयोनी….।’’ त्यस पछि ओलीले सार्वजनिक कार्यक्रममा आफ्नो धर्मपत्नीबाट आफ्नै महिमामण्डन गर्न लगाए । केही कलाकार, र्‍यापर र टिकटकरलाई  पालैपालो बालुवाटारमा बोलाएर आफ्नो बढाइचढाइको लागि समय खर्च गरे । उनले चर्चाको लागि धेरै तमासा गर्न थाले ।

ढुकुटीबाट केपी ओली फूटबल खेल सम्म आयोजना गरे तर त्यहाँ पनि उनकै विरुद्ध  नाराबाजी शुरु भैदियो । मनमोहन अधिकारी, मदन भण्डारी  जीवराज आश्रतिहरु एमालेका आदर्श व्यक्तित्व हुन । पार्टी कार्यलय र  जनभेलाका कार्यक्रममा ती व्यक्तित्त्वका तस्बिर हुने गर्दथे । ओलीले सबै तस्बिर हटाएर आफ्नो एकल तस्बिर मात्रै राख्ने गरेको एमाले नेता कार्यकर्ता सबै जानकार नभेका होइन तर बोल्ने हिम्मत कसैले गरेनन् । कुनै दिनमा त ओलीले मुलधार का सबै खबर पत्रिकाको अग्र पेज पूरा ढाक्ने गरि आफ्नो अनुहार छपाएर सस्तो लोकप्रियता कमाएका थिए ।

त्यस्ता तस्बिर काठमाडौ सडक छेउ बिजुलीको पोल पोलमा पनि टाँगिएका थिए । आफ्ना समर्थकलाई सेल्फी खिच्नका लागि पार्टी  कार्यालयमा आदमकदको आकर्षक तस्बिर बनाएर उभ्याएका थिए ।  आफ्नो प्रचारप्रसारमा उनलाइ त्यस्तो लत बसेको थियो । स्वयं ओलीले पनि कार्यकर्तासँग लाइक माग्दै गरेको भिडियो सामाजिक सञ्जालमा मसला बन्न पुग्यो, “हे बाबा त्यही छेउमै त हुन्छ लाइकको बटन थिच्दिनुस न एक पटक ।’’ जननिर्वाचित ओलीलाई अनिर्वाचित सल्लाहकार हरुले दिनानुदिन सरसल्लाहको ज्यादा खुराक दिएर अजिर्ण बनाइदिए ।

सस्तो लोकप्रियताका लागि जतिसुकै तमासा गरे पनि विपक्ष तथा विरोधीप्रति असहिष्णु पूर्वाग्रह अकर्मण्यता पक्षपात र दमनका कारण ओली चौतर्फी आलोचनाले घेरिएका थिए । सबैथोक सत्ताले तह लगाउँछ भन्ने मान्यतामा अडिग थिए ।त्यसकारण उनी बारम्बार एउटै रटान लगाउँथे, “यो सरकार खरानीको डल्लो होइन र कसैले तोपले हाने पनि सरकार ढल्दैन ।’’ सामाजिक सञ्जाल बन्द गरिएको कारण त्यसको विरुद्ध  जेनजी समूह आन्दोलनका लागि सडकमा आयो । वार्ता र सहमतिबाट टुंग्याउनुको सट्टा अहंकार मात्र भरिएको सरकारले दमनको नीति लियो । त्यसको परिणाम राजीनामा बुझाएर प्रधानमन्त्री भाग्नुपर्ने अवस्था आयो ।

सत्ताको सुख भोगबाट यति छिट्टै हात धुनुपर्ला भनी सायद ओलीले सपना मा पनि सोचेका थिएनन् । उनलाई आफ्नो पहुँच र सम्पर्क भन्दा परबाट सरकार निर्माण भएको चित्त बुझिरहेको थिएन  त्यसकारण आन्दोलनको बलबाट निर्माण भएको सुशीला कार्की सरकारलाई दैनिकजसो दुत्कार्ने, लल्कार्ने र कटाक्ष गर्ने गरिरहे । संसद पुनर्गठन गर्न अदालतमा मुद्दा दायर गर्न, सरकारका काम कारबाहीलाई विफल पार्न र आन्दोलन दमनका विरुद्ध बनेको जाँचबुझ आयोगलाई लल्कार्न ओली

पछि परेनन् । जसरी पनि कार्की सरकारलाई असफल पार्न वा सत्ताविमुख बनाउन उनी निकै  लागि परे ।

काँग्रेस पार्टीका सभापति र नेपाली कम्युनिस्ट पार्टीको नयाँ बर्को ओढेको पुरानो माओवादी मुखियासँग ओलीले गोप्य भेटघाट नगरेका होइनन् । चुनावमा जाँदा प्रतिकूल परिणाम आउन सक्ने सम्भावना देखेर उनी भयभित थिए । किनकि आन्दोलनले देश समय र परिवेश ओलीको विपक्षमा खडा भए जस्तै देखिएको थियो । चुनाव रोक्न पर सार्न जतिसुकै  दुष्प्रयास गरे पनि  केही उपाय नलागेपछि ओली चुनावमा जान बाध्य भए ।

उनको चुनावी क्षेत्रबाट उनका विरुद्धमा काठमाडौ महानगरका मेयर बालेन्द्र शाहले उम्मेद्बारी दिने चर्चा चल्दा नै ऊनी हतास भैसकेका थिए । यद्यपि लोकलाई देखाउन,बालेनलाई तर्साउन र आफ्नो चित्त बुझाउन आफ्नै  स्वभाव अनुसार छुद्र र तुच्छ अभिव्यक्ति दिन थाले । जस्तै स्याल बाख्रा र कुखुराको गठबन्धन भएको छ । जस्तै अण्डा दुई किसिमका हुन्छन्  बतासे अण्डा र साँच्चैको अण्डा । ठुटे सिङ लिएर कोही मेरो चुनाव क्षेत्रमा पुगिरहेका छ्न, इत्यादि । कोही उमेदवारबाट किन ऊनी त्यसरी आतंकित भइरहेका थिए ?

किनकि हिजो सत्ताको चरम दुरुपयोग गर्दै देशको एउटा  प्रधानमन्त्रीले प्रतिशोध साँधेर रास्वपाका सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण समेतको मुद्दा हालेर थुनिरहेका थिए । वडासदस्य र उपमेयरलाई उचाल्दै चौतर्फी घेरेर मेयर बालेन शाहलाई असफल पार्न षड्यन्त्र गरिरहेका थिए । लोकलाज र संकोच नमानी मनोगत स्वार्थका लागि कुलमान घिसिङलाई अपमानित तरिकाले हटाएका थिए । जनताले न्याय र अन्याय छुट्याइरहेको थियो, त्यसकारण सत्ताबाट मात्र होइन सांसद पदबाट पनि विमुख हुनुपर्छ कि भन्ने त्रासले उनको आत्म कामिरहेको थियो ।

बालेनले झापा क्षेत्र नं. ५ बाट उम्मेद्बारी दिएपछि घमण्ड अनुसारको आफ्नो प्रतिष्ठा जोगाउन ओली झापामै केन्द्रित भएर घरदैलो गर्नु पर्‍यो । उनको एउटा चर्चित अभिव्यक्ति  थियो, कसैलाई  ओली बिनाको एमाले र एमाले बिनाको नेपाल चाहियो रे, तिम्रा नातिका पालामा पनि पूरा हुँदैन यो सपना । सायद त्यो अभिव्यक्तिले चुनावमा ओलीलाई गर्मी छुटाएको थियो, तब त घरदैलोमा जनताले उनलाई व्यङ्ग्य र कटाक्ष गरिरहेका थिए ।

चुनाव सम्पन्न भएर परिणाम आयो दोस्रोबाट एमाले तेस्रो हैसियतमा मात्रै झरेन आफ्नै गढमा पनि ओली बालेनसँग करिब ५० हजार मतले पराजित हुन पुगे । धेरै चुनावी क्षेत्रमा एमालेको धरौटी रकम जफत भयो  अघिल्लो निर्वाचनमा समानुपातिक तर्फ २८ लाख थप मत ल्याएको एमालेले यस पटक १४ लाख थप मत ल्याएपछि  ओलीकै कारण पार्टीको साख ओरालो झरिरहेको दुनियाँले प्रष्टै बुझे । चुनावमा हार जित भन्ने कुरा अस्वभाविक होइन, तर त्यो लज्जास्पद हारले गर्दा उनले कतै मुख देखाउनसम्म सकिरहेका छैनन् । संसद भवन सिंहदरबार र बालुवाटारमा ओलीलाई बालेनले तगारो हालेर बाँकी राजनैतिक यात्रा नै  करिब अबरुद्ध पारिदिए । अरुलाई छुद्र बोल्न कटाक्ष गर्न र अपमान भर्न आनन्द मान्ने ओली यतिखेर पराजयको शोक मा परेका छन ।

मौसम संधै एकैनास रहन्न भनेका थिए ओलीले । हो,मौसम बदलिन्छ र सालिन्दा दोहोरिन्छ पनि । उनले हेक्का राख्न नबिर्सनु पर्ने हो कि मान्छेको उमेर कुनै मौसम र ऋतु जस्तो भएर कहिल्यै दोहोरिन्न । आफ्नो दम्भ र अहंकारले उछार नदिंदा जनतामा उनको आलोचना दिनहुुँ बढ्दै जान थाल्यो अब्बल चेतना उठेका मतदाताले उडन्ते सपना बेच्न ज्यादा बोल्ने उमेदवारलाई ठेगान लगाइदिए भने त्यति केही नबोल्ने उमेदवारलाई छ्यालब्याल नै बहुमत पुग्ने गरि जिताइदिए ।

काठमाडौ–पोखरा रेल, नेपालमा पानीजहाज र घर घरमा ग्यास भन्ने हास्यास्पद फतुरहरु उडन्ते सपना मात्र थिएनन्, सित्ती पूरा हुन नसक्ने यी कुरा जनतामाथि  घोर अपमान पनि थिए, त्यसर्थ जनताले चुनावमा बदला लिए । यो हार ओलीको मात्र होइन करिब ३५/३६ वर्षदेखि देश लुट्ने सबै राजनैतिक लुटेराहरुको  हो । गणतन्त्रका नाममा घरीघरी ब्याज खान पल्केका बेइमानहरु, परिवारवादका नाइकेहरु, राजनीतिको पसल थाप्ने दुष्टजन र मतियार सबै चुनावमा नराम्ररी बढारिएका छन ।

नयाँ सरकारको पनि गुण र दोष को आधारमा भोलि अवश्य समर्थन र आलोचना हुनेनै छ । हिजो भागबण्डाका आधारमा राजनीतिक नियुक्ति पाउनेहरु लाई आज रास्वपाले पदबाट अलग हुन आग्रह गरिरहेको छ । त्यस्ता राजनीतिक नियुक्ति मार्फत सरकारलाई अप्ठ्यारो पार्ने सम्भावनाको जरो उखेलिने देखिएको छ ।अन्योलको कालो बादल फाटेर गएको छ, युवा पंक्तिमा जोश र जाँगर भरिएको छ । यतिखेर देशको राजनीतिक क्षितिज मा पनि बिहानीले केही शुभ संकेत गरिरहेको हुँदा अब बन्ने सरकारसँग जनताको आशा पलाउन थालेको देखिन्छ । (लेखक : वीरेन्द्रनगर–१२ नेवारे निवासी हुनुहुन्छ)

लेख:पराजयको शोक

जहाँ डाक्टर पुग्दैनथे, त्यहीँ डाक्टर पढ्न भारतबाट

लेख:पराजयको शोक

सम्पादकीय : बजार अनुगमनलाई चुस्त बनाऊ !

Leave a comment

Your email address will not be published. Required fields are marked *