सम्पादकीय : जन अपेक्षा पूरा गर !

कर्णाली प्रदेशको राजनीति फेरि नयाँ मोडमा पुगेको छ । मुख्यमन्त्री यामलाल कँडेलले अविश्वास प्रस्तावको सामना गर्नुभन्दा अघि नै राजीनामा दिएसँगै एमाले नेतृत्वको सरकारको अन्त्य भएको छ भने नयाँ सत्ता समीकरणअनुसार अब प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने लगभग निश्चित भएको छ । प्रदेश प्रमुखले राजीनामा स्वीकृत गरिसकेका छन् र नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । कँडेल नेतृत्वको सरकार करिब १६ महिना टिक्यो । यो अवधिमा केन्द्रमा सत्ता समीकरण फेरिँदा त्यसको प्रत्यक्ष असर कर्णालीमा पनि देखियो । सुरुमा एमाले–माओवादी गठबन्धनबाट बनेको सरकार पछि कांग्रेसको समर्थनमा चल्यो । तर सत्ता साझेदारबीच बढ्दो अविश्वास, मन्त्रीहरूको सामूहिक राजीनामा र अन्ततः अविश्वास प्रस्तावसम्मको घटनाक्रमले प्रदेश सरकार केन्द्रको राजनीतिक समीकरणमा कति निर्भर छ भन्ने फेरि प्रमाणित गरिदियो ।

राजीनामा दिने क्रममा मुख्यमन्त्री कँडेलले बजेट निर्माण, सत्ता साझेदारबीचको असमझदारी र प्रशासनिक दबाबका विषय सार्वजनिक गरे । बजेट पारित गराउन सहमति खोज्नुपरेको अवस्था र संसदभित्र देखिएको टकरावले प्रदेशमा नीति निर्माणभन्दा राजनीतिक खिचातानी बढी हाबी भएको चित्र देखायो । यस्ता घटनाले सरकार फेरिनुको कारण केवल दलगत समीकरण मात्र नभई विश्वासको संकट पनि भएको संकेत गर्छ । अब नेकपा र एमालेको नयाँ गठबन्धनसँग प्रदेश सभामा सरकार सञ्चालन गर्न पर्याप्त अंकगणित देखिएको छ । तर बहुमत जुटाउनु मात्रै सफलताको आधार होइन । प्रदेश सरकारले विकास निर्माणलाई गति दिने, सुशासन कायम गर्ने, बजेट कार्यान्वयन प्रभावकारी बनाउने र जनतामा स्थिर सरकारको अनुभूति गराउने चुनौती सामना गर्नुपर्नेछ । विगतमा सरकार परिवर्तनसँगै प्राथमिकता र कार्यक्रम बदलिने प्रवृत्तिले कर्णालीको विकासलाई निरन्तर प्रभावित गरेको छ ।

जनताका लागि कुन दल सरकारमा पुग्यो भन्नेभन्दा पनि सरकारले कस्तो परिणाम दियो भन्ने विषय महत्त्वपूर्ण हुन्छ । बारम्बारको सत्ता परिवर्तनले विकासका योजना अधुरा रहने, प्रशासन अन्योलमा पर्ने र राजनीतिक अस्थिरता दोहोरिने जोखिम बढाउँछ । त्यसैले नयाँ नेतृत्वले पद बाँडफाँटभन्दा कार्यसम्पादनलाई प्राथमिकता दिन सक्नुपर्छ । कर्णाली अहिले फेरि नयाँ राजनीतिक यात्राको संघारमा उभिएको छ । यो परिवर्तनले स्थिरता, सुशासन र विकासको नयाँ अध्याय सुरु गर्छ कि फेरि अर्को सत्ता समीकरणको भूमिकामात्र बन्छ, त्यसको उत्तर अब बन्ने सरकारको कामले दिनेछ । जनताले अब सरकार परिवर्तन होइन, परिवर्तनको परिणाम खोजिरहेका छन् ।

सम्पादकीय : जन अपेक्षा पूरा गर !

कर्णाली सरकार कति सहज एमाले र नेकपाको

Leave a comment

Your email address will not be published. Required fields are marked *