उम्मेदवारको प्रचार नगर्न रास्वपाको चेतावनी

सुर्खेत, १ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खेतले आफुलाइ कुनैपनि निर्वाचनमा उम्मेदवारको रुपमा प्रस्तुत नगर्न नेता कार्यकर्तालाइ चेतावनी दिएको छ । रास्वपा जिल्ला सचिब छबिलाल आचार्यद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा उक्त चेतावनी दिएको हो ।
“विभिन्न तहको निर्वाचनको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारीका लागि पार्टीले पार्टीको विधान र उम्मेदवार छनौट रुपरेखा मार्फत स्पष्ट बिधि र प्रक्रिया अवलम्बन गरी उम्मेदवारको छनौट गर्ने भएकोले कसैले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट कुनै पदको उम्मेदवारको रुपमा प्रस्तुत नगर्ने, नगराउने, सामाजिक संजालमा नकारात्मक, उत्तेजक, पार्टीको अनुशासन विपरित तथा पार्टी हित विपरितका पोष्टहरु तथा टिकाटिप्पणीहरु नगर्न र उपरोक्त अनुसारका पोष्टहरु शेयर समेत नगर्न आग्रह गरिएको छ ।
“बिज्ञप्तिमा भनिएको छ, “पार्टीको तहगत संरचना अनुसार पार्टीमा भएका समस्याहरु तथा आवश्यक विषयवस्तुहरुको उठान गर्ने तथा छलफल गरी उपयुक्त निर्णयहरु गर्ने र पार्टीको तल्लो तहमा गरिने कुनैपनि क्रियाकलाप वा कार्यक्रमहरु बारे माथिल्लो तहलाई पत्रमार्फत जानकारी गराउने तथा आवश्यकता अनुसार स्वीकृति लिने ।’’
बिज्ञप्तिमा पार्टीको बैधानिक संगठनात्मक तथा तहगत संरचना र पार्टीको विधान, नियमावली, कार्यबिधि वा सर्कुलरको अधिनमा रही कार्य गर्ने, पार्टीलाई एकताबद्ध राख्ने कार्य विपरितका तथा पार्टीको वैचारिक लाइन विपरितका कार्यहरु नगर्ने, नगराउने पनि उल्लेख गरिएको छ ।
पार्टीको संगठनात्मक संरचना, अनुशासन तथा हित विपरितका कार्यहरु कसैले गरे, गराएको पाइएमा अनुशासनको कारवाहीका लागि सम्बन्धित आयोग/प्रदेशमा पठाउने निर्णय समेत सो बैठकले गरेको बताइएको छ ।






