बाँकेको राप्तीमा छाडिएका घडियाल बढ्नुको साटो घट्दै, संरक्षणमा आहारा र बासस्थानको चुनौती

बाँके ,२ असोज ।
बाँकेको राप्ती नदीमा संरक्षणका लागि छाडिएका दुर्लभ घडियाल गोहीको संख्या बढ्नुको साटो घट्दै गएको पाइएको छ। प्राकृतिक बासस्थानको क्षय, आहाराको कमी र नदीमा बढ्दो मानवीय गतिविधिका कारण राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण बन्दै गएको हो।
घडियाल संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्जले पछिल्ला तीन वर्षदेखि मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने राप्ती नदीमा घडियाल छाड्दै आएको छ। नदीलाई घडियालका लागि उपयुक्त प्राकृतिक बासस्थानका रूपमा लिइए पनि संरक्षणका लागि आवश्यक वातावरण र आहारा पर्याप्त हुन नसक्दा छाडिएका घडियालको संख्या अपेक्षाअनुसार बढ्न सकेको छैन।
राप्तीसोनारी गाउँपालिका–१ की घडियाल संरक्षणमा सक्रिय शारदा खुनाका अनुसार हालसम्म राप्ती नदीमा २५ वटा घडियाल छाडिएको छ। तर, गत वर्ष गरिएको अनुगमनका क्रममा १२ वटा घडियाल मात्र भेटिएको उहाँले बताउनुभयो। यस वर्षको गणना हुन बाँकी रहेकाले नदीमा अहिले कति घडियाल छन् भन्ने यकिन तथ्यांक आउन बाँकी रहेको उहाँको भनाइ छ।
“नदी आसपास मानिसको आवतजावत बढ्दै गएको छ। घडियालको मुख्य आहारा माछा हो, तर नदीमा माछाको संख्या पनि घटिरहेको छ,” खुनाले बताउनुभयो, “बासस्थान र आहारा दुवै सुरक्षित नभएसम्म घडियालको संख्या बढाउन चुनौती हुन्छ।”
घडियाल संरक्षणमा नदीमा निर्भर समुदायको जीविकोपार्जनसमेत महत्वपूर्ण विषय रहेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले बताउनुभयो। राप्ती नदीमा माछा मार्ने तथा सुन चालेर जीविकोपार्जन गर्दै आएका खुना, कुमाल, बादीलगायत समुदायलाई वैकल्पिक आयआर्जनका अवसरसँग जोड्नुपर्ने उहाँको भनाइ छ।
“नदीमा निर्भर समुदायलाई जीविकोपार्जनको विकल्प नदिई घडियाल संरक्षण मात्र सम्भव हुँदैन,” खड्काले भन्नुभयो, “उनीहरूलाई पर्यटन तथा संरक्षणसँग जोडेर वैकल्पिक रोजगारी र आयआर्जनको व्यवस्था गर्न सके मानव–वन्यजन्तु द्वन्द्व पनि घटाउन सकिन्छ।”
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले सिमसार क्षेत्र अतिक्रमण, नदीमा माछाको कमी र बढ्दो मानवीय आवतजावत घडियाल संरक्षणका प्रमुख चुनौती बनेको बताउनुभयो। घडियालका लागि आवश्यक प्राकृतिक बासस्थान संरक्षणसँगै नदीको जलचर पारिस्थितिक प्रणालीलाई स्वस्थ राख्नुपर्ने उहाँको भनाइ छ।
घडियाल सफा र बग्ने पानीमा बस्ने तथा मुख्य रूपमा माछा खाने प्रजाति भएकाले राप्ती नदी यसको प्राकृतिक बासस्थानका लागि उपयुक्त मानिन्छ। तर, नदीमा माछा घट्दै जानु, नदी किनारमा मानवीय गतिविधि बढ्नु तथा सिमसार क्षेत्र अतिक्रमण हुनुजस्ता कारणले घडियालको बाँच्ने वातावरणमा प्रत्यक्ष असर पर्न थालेको संरक्षणकर्मीहरूको भनाइ छ।
घडियाल नेपाल र भारतमा मुख्य रूपमा पाइने दुर्लभ प्रजाति हो। नेपालमा यसको संरक्षणका लागि कानुनी व्यवस्था गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले घडियाललाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। घडियाल मारेमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ।
मगर गोहीको तुलनामा शान्त स्वभावको घडियालले सामान्य अवस्थामा मानिसलाई आक्रमण नगर्ने संरक्षणकर्मीहरू बताउँछन्। यसको लामो र साँघुरो थुतुनो तथा माछा समात्न अनुकूल बनोट यसको प्रमुख विशेषता हो। नदीको खाद्य शृंखलामा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले घडियालको संरक्षण केवल एउटा दुर्लभ जीवको संरक्षण मात्र नभई समग्र नदी प्रणालीको संरक्षणसँग जोडिएको विषय हो।
राप्तीमा घडियालको संख्या बढाउन नियमित अनुगमन, नदीमा माछाको संरक्षण, सुरक्षित बासस्थानको व्यवस्थापन र मानवीय गतिविधिको नियमनसँगै नदीमा निर्भर समुदायको जीविकोपार्जन सुधारमा ध्यान दिनुपर्ने देखिन्छ। संरक्षणसँगै स्थानीय समुदायलाई पर्यटन, प्रकृति अवलोकन तथा अन्य वैकल्पिक आयआर्जनका गतिविधिमा जोड्न सके घडियाल र मानवबीच सहअस्तित्व कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बाँकेको राप्तीमा छाडिएका घडियाल बढ्नुको साटो घट्दै, संरक्षणमा आहारा र बासस्थानको चुनौती

२२.५० मेगावाटको जल्दीगाड आयोजनामा जुट्यो ४ अर्ब

बाँकेको राप्तीमा छाडिएका घडियाल बढ्नुको साटो घट्दै, संरक्षणमा आहारा र बासस्थानको चुनौती

बाँकेको राप्तीमा छाडिएका घडियाल बढ्नुको साटो घट्दै,

Leave a comment

Your email address will not be published. Required fields are marked *