लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस मनाइदै

दाङ ,१ असोज ।
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । प्रदेश सरकारले असोज २ र ३ गते सरसफाइ, राष्ट्रिय झण्डा सजावट तथा दीप प्रज्वलनलगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ । बैठकले असोज २ गते प्रदेशस्थित सबै सरकारी निकायले सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेश राजधानी परिसरको सरसफाइको समन्वय आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले गर्नेछ ।
सोही दिन प्रदेशस्थित सरकारी निकायमा निर्धारित आकारका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी कार्यालय सजाउने र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ । प्रदेशवासीलाई पनि आ–आफ्नो घरमा दीप प्रज्वलन गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
असोज ३ गते पनि सरकारी निकायमा राष्ट्रिय झण्डा राख्ने, कार्यालय सजाउने र साँझ दीप प्रज्वलन गरिनेछ । जिल्लास्थित सरकारी कार्यालयले जिल्लामा आयोजना गरिएको संविधान दिवससम्बन्धी कार्यक्रममा अनिवार्य सहभागिता जनाउने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । प्रदेश सरकारले संविधान दिवसलाई राष्ट्रिय एकता, संविधानप्रतिको सम्मान र नागरिक सहभागितासहित मनाउन थालेको हो ।






