बर्दियामा विद्यालय व्यवस्थापन समिति र सरोकारवालाबीच अन्तरक्रिया, बाल संरक्षणमा साझा जिम्मेवारीमा जोड

बर्दिया ,१ असोज ।
बर्दियाका बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा विद्यालय व्यवस्थापन समिति तथा प्रमुख विद्यालय सरोकारवालासँग बाल संरक्षण, विद्यालय सुधार र सुरक्षित तथा समावेशी शैक्षिक वातावरण निर्माणका विषयमा विभिन्न बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन्।

सुरक्षित भविष्य परियोजनाअन्तर्गत आयोजना गरिएका कार्यक्रमहरू राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन भइरहेको परियोजनाअन्तर्गत सम्पन्न भएका हुन्।
बढैयाताल गाउँपालिकामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको संयुक्त बैठक आयोजना गरिएको थियो। बैठकमा विद्यालयको समग्र सुधार, बाल संरक्षण, सुरक्षित तथा समावेशी विद्यालय वातावरण निर्माणका साथै विद्यालय व्यवस्थापन समितिको प्रभावकारी भूमिका र नेतृत्व सुदृढीकरणका विषयमा छलफल गरिएको थियो।

त्यसैगरी, गुलरिया नगरपालिकामा सुरक्षित भविष्य परियोजनाको कार्यक्षेत्रमा रहेका चार विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, प्रधानाध्यापक तथा बाल क्लबका प्रतिनिधिहरूको सहभागितामा संयुक्त बैठक तथा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा बालबालिकाको संरक्षण तथा सुरक्षा, नियमित विद्यालय उपस्थिति, सिकाइको निरन्तरता, बालबालिकाको अर्थपूर्ण सहभागिता तथा विद्यालय, परिवार र समुदायबीचको समन्वय सुदृढीकरणका विषयमा छलफल भएको थियो।

अन्तरक्रियाका क्रममा बालबालिकाका लागि सुरक्षित, समावेशी तथा बालमैत्री सिकाइ वातावरण निर्माण गर्न विद्यालय, परिवार, समुदाय तथा अन्य सरोकारवालाबीच सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। बालबालिकाको अधिकार तथा सुरक्षालाई प्रभावकारी बनाउन सबै पक्षले आफ्नो भूमिका र जिम्मेवारीलाई प्राथमिकताका साथ निर्वाह गर्नुपर्ने सहभागीहरूको धारणा थियो।
कार्यक्रमको सहजीकरण सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक मनोज पौडेलले गर्नुभएको थियो। सहजीकरणमा राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम अधिकृत राजेन्द्र चौधरीले सहकार्य गर्नुभएको थियो।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, बाल क्लब तथा अन्य सरोकारवालाबीच प्रत्यक्ष संवाद र अन्तरक्रियाले विद्यालय तथा समुदायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। यस्ता कार्यक्रमले बाल संरक्षण, गुणस्तरीय शिक्षा, बालबालिकाको अर्थपूर्ण सहभागिता तथा सुरक्षित र उज्ज्वल भविष्य निर्माणका लागि साझा प्रयासलाई थप मजबुत बनाउने विश्वास आयोजकहरूले लिएका छन्।







