५ वर्षको योजना १२ वर्षमा पनि अधुरो : कर्णाली तटबन्ध निर्माण सुस्त, राजापुर–गेरुवाका दर्जनौँ बस्ती बाढी र कटानको जोखिममा

बर्दिया,१० साउन ।

कर्णाली नदीमा कटान नियन्त्रण तथा बाढी रोकथामका लागि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको तटबन्ध निर्माण आयोजना १२ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। योजनाअनुसार निर्माण गर्नुपर्ने ७१ किलोमिटर तटबन्धमध्ये हालसम्म करिब २२ किलोमिटर मात्रै निर्माण भएको छ। जसका कारण राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका दर्जनौँ बस्ती तथा हजारौँ बिघा खेतीयोग्य जमिन अझै बाढी र कटानको उच्च जोखिममा रहेका छन्।
साविक कर्णाली नदी नियन्त्रण व्यवस्थापन आयोजना राजापुर, हालको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना अन्तर्गत सञ्चालित उक्त आयोजनाको उद्घाटन २०७१ फागुन १५ गते तत्कालीन सिँचाइ मन्त्री एमपी साउँदले गर्नुभएको थियो। गुरुयोजनाअनुसार कर्णाली नदी र यसको भंगालो गेरुवा नदीमा तटबन्ध निर्माण सम्पन्न गर्न १२ अर्ब ८० करोड ७४ लाख रुपैयाँ बजेट स्वीकृत गरिएको थियो।
आयोजनाले पाँच वर्षभित्र ७१ किलोमिटर तटबन्ध निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि २०८३ असारसम्म आइपुग्दा करिब २२ किलोमिटर अर्थात् करिब २५ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाएको छ। नदी कटानबाट खेतीयोग्य जमिन जोगाउने र वर्षेनी हुने बाढी तथा डुबानबाट जनधनको सुरक्षा गर्ने उद्देश्यले स्थापना गरिएको आयोजना अपेक्षित गतिमा अघि बढ्न नसकेको देखिएको छ।
निर्माण कार्यमा भएको ढिलाइका कारण राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका विभिन्न बस्ती प्रत्येक वर्ष बाढी र कटानको त्रासमा बाँच्न बाध्य छन्। राजापुर नगरपालिका–४ का किसान हरिप्रसाद थारुले तटबन्ध निर्माण पूरा नहुँदा वर्षायाममा ढुक्क भएर बस्न नसकिएको बताउनुभयो। उहाँले प्रत्येक वर्ष नदी कटान र बाढीले खेतीपाती तथा बस्तीमा क्षति पुर्‍याउने गरेको भन्नुभयो।
आयोजनाका अनुसार हालसम्म २ अर्ब ८० करोड रुपैयाँभन्दा बढी खर्च गरी १६८ वटा स्पर निर्माण गरिएको छ भने बाढी नियन्त्रणका लागि २७ स्थानमा तटबन्ध निर्माण गरिएको जनाइएको छ। राजापुर–४ को दलईघाट क्षेत्र कर्णाली नदीबाट सबैभन्दा बढी कटान र बाढीको जोखिम रहेको क्षेत्रका रूपमा चिनिन्छ।
आयोजना प्रमुख सुदिन मुक्तानले पर्याप्त बजेट अभावका कारण तटबन्ध निर्माण कार्यले गति लिन नसकेको बताउनुभयो। उहाँले आवश्यक बजेटको तुलनामा पछिल्ला तीन–चार वर्षदेखि वार्षिक रूपमा करिब ८–९ करोड रुपैयाँ मात्रै निकासा हुने गरेकाले निर्माण कार्य सुस्त भएको जनाउनुभयो।
राजापुर नगरपालिका–३ का लक्षमण थारुले ठूलो बाढी आए मुक्त कमैया बस्ती, राजापुर बजार, संघर्षनगरलगायत दर्जनौँ बस्ती डुबानमा पर्ने जोखिम रहेको बताउनुभयो। उहाँले सत्तीघाटस्थित कर्णाली पुलको पश्चिमतर्फ कटान बढ्दै गएकाले समयमै नियन्त्रण नगरे आवागमनसमेत अवरुद्ध हुन सक्ने अवस्था रहेको भन्नुभयो। राज्यले यसतर्फ तत्काल ध्यान नदिए बाढी र कटानले ठूलो जनधनको क्षति पुर्‍याउने उहाँको चेतावनी छ।
यस्तै, गेरुवा गाउँपालिका–२ को राजीपुर, बनघुस्रा, टिकुलीगढलगायतका बस्ती पनि बाढी र कटानको उच्च जोखिममा रहेका छन्। गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसीले वर्षेनी बाढीका कारण दर्जनौँ बस्ती डुबानमा परेर स्थानीय बासिन्दा विस्थापित हुने गरेको बताउनुभयो। उहाँले बाढी पस्नासाथ रोपाइँ गरिएको धानबालीसमेत डुबेर किसानले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था रहेको जनाउनुभयो। तटबन्ध निर्माण अझै सम्पन्न हुन नसक्दा प्रत्येक वर्ष यस क्षेत्रका बासिन्दाले त्रासपूर्ण जीवन बिताइरहेको उहाँले भन्नुभयो।
स्थानीयवासीले स्वीकृत गुरुयोजनाअनुसार पर्याप्त बजेटको व्यवस्था गर्दै तटबन्ध निर्माणलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्। समयमै आयोजना सम्पन्न हुन सके कर्णाली नदीबाट हुने कटान, डुबान तथा त्यसबाट हुने जनधन र कृषि उत्पादनको क्षति उल्लेखनीय रूपमा न्यूनीकरण हुने विश्वास स्थानीयको छ।

५ वर्षको योजना १२ वर्षमा पनि अधुरो : कर्णाली तटबन्ध निर्माण सुस्त, राजापुर–गेरुवाका दर्जनौँ बस्ती बाढी र कटानको जोखिममा

बाँकेमा शेयर बजारप्रति बढ्दो आकर्षण : ४५

Leave a comment

Your email address will not be published. Required fields are marked *