मृत्युसँग जुधेको जुम्ला, अब डाक्टर उत्पादन गर्दै

गाेल्डेन बुढा
जुम्ला,११ साउन ।
एक समय थियो, कर्णालीमा बिरामी हुनु आफैंमा मृत्युको जोखिम निम्त्याउनु जस्तै थियो। राति सुत्दा सर्पले टोकेको बिरामी बिहान अस्पताल पुग्ने निश्चितता हुँदैनथ्यो। प्रसूति व्यथा लागेकी महिलालाई डोकोमा बोकेर घण्टौं उकालो–ओरालो हिँडाउनुपर्थ्यो। सामान्य शल्यक्रिया त परको कुरा, ज्वरो, निमोनिया वा दुर्घटनाका बिरामीसमेत जिल्ला अस्पतालबाट सुर्खेत वा नेपालगञ्ज रेफर हुन्थे। उपचारभन्दा पहिले बाटो पार गर्नुपर्ने बाध्यता थियो, र धेरैका लागि त्यो बाटो नै अन्तिम यात्रा बन्थ्यो।स्वास्थ्य संस्थाका भवन थिए, तर चिकित्सक थिएनन्। दरबन्दी थिए, तर डाक्टर थिएनन्। भएका चिकित्सक पनि काज मिलाएर सुविधा सम्पन्न सहरतिर बस्ने प्रवृत्ति सामान्य थियो। अस्पतालहरू स्वास्थ्य सहायक (एचए), अहेब, स्टाफ नर्स र अनमीको भरमा टिकेका थिए। कर्णालीका लागि ‘विशेषज्ञ उपचार’ भन्ने शब्द नै लगभग अपरिचित थियो।आज त्यही कर्णालीले इतिहासलाई उल्ट्याएको छ।जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक आफ्नै भूमिबाट १८ एमबिबिएस चिकित्सक उत्पादन गरेको छ। कुनै बेला डाक्टरको प्रतीक्षामा रहेका अस्पतालहरू अब आफ्नै डाक्टर उत्पादन गर्ने तहमा पुगेका छन्। यो एउटा शैक्षिक उपलब्धि मात्र होइन, राज्यले दशकौंसम्म बेवास्ता गरेको भूगोलले आत्मनिर्भर स्वास्थ्य प्रणालीतर्फ चालेको ऐतिहासिक फड्को हो।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान २०६८ सालमा स्थापना हुँदा धेरैले प्रश्न गरेका थिए,‘जुम्लामा पनि मेडिकल कलेज चल्ला र?’ दुर्गम भूगोल, कमजोर सडक, सीमित पूर्वाधार र जनशक्तिको अभावबीच सुरु भएको यात्रा आज परिणाममा पुगेको छ। २०७८ मा एमबिबिएस अध्यापनको अनुमति पाएपछि सुरु भएको पहिलो ब्याचले अब चिकित्सकका रूपमा स्नातक भएर इतिहास रचेको छ।यो परिवर्तन एउटा संस्थाको मात्रै सफलता होइन; यो कर्णालीको सामाजिक मनोविज्ञानमा आएको परिवर्तन पनि हो। हिजो आफ्ना छोराछोरीलाई डाक्टर बनाउन काठमाडौं वा भारत पठाउन नसक्ने अभिभावकका लागि अहिले जुम्लामै चिकित्सा शिक्षा सम्भव भएको छ। अझ उल्लेखनीय कुरा, जुम्लामा अहिले कर्णालीका मात्र होइन, तराई, पूर्वी नेपाल र भारतसम्मका विद्यार्थी एमबिबिएस अध्ययन गरिरहेका छन्।सिराहकी नुरुजाह खातुन त्यही परिवर्तनको एउटा अनुहार हुन्। उनी भन्छिन्, “तराईमा हुँदा कर्णाली भनेको निकै टाढा र कठिन ठाउँ जस्तो लाग्थ्यो। यहाँ आएपछि मेरो धारणा नै बदलियो। जुम्लाबाट एमबिबिएस पढ्न पाउनु जीवनकै ठूलो अवसर बन्यो।”रूपन्देहीका समिरराज जोशी पनि पहिलो ब्याचका स्नातकमध्ये एक हुन्। उनका अनुसार जुम्लाबाट चिकित्सक उत्पादन हुनु नेपालको चिकित्सा शिक्षाको विकेन्द्रीकरणको सबैभन्दा बलियो उदाहरण हो। तर उनी पूर्वाधार र सडक सुधार नगरेसम्म संस्थाले आफ्नो पूर्ण क्षमता हासिल गर्न नसक्ने बताउँछन्।वैतडीकी हेमलता चन्दका लागि पनि यो यात्रा डिग्री प्राप्त गर्ने यात्रा थिएन। “सुरुमा हामी निकै थोरै थियौँ। नयाँ ठाउँ, नयाँ वातावरण थियो। अहिले प्रतिष्ठान विद्यार्थीले भरिएको देख्दा कर्णाली साँच्चै बदलिँदै रहेछ भन्ने अनुभूति हुन्छ,” उनी भन्छिन्।उनी भन्छिन्, ‘यहाँ दुर्गम क्षेत्रको स्वास्थ्य सेवा र शिक्षाबारे पनि अध्ययन गर्न पाइरहेकी छु ।’‘पढाइ गुणस्तरीय त छ नै, शिक्षक र कर्मचारीको मिहिनेत पनि लोभलाग्दो छ,’ उनी भन्छिन्।प्रतिष्ठानका उपकुलपति डा. सुर्यमान मेन्याङ्बोका अनुसार पहिलो ब्याचबाट चिकित्सक उत्पादन हुनु कर्णाली र मुलुक दुवैका लागि ऐतिहासिक क्षण हो। उनका अनुसार अब हिमाली क्षेत्रले चिकित्सक माग्ने मात्र होइन, चिकित्सक उपलब्ध गराउने भूमिका पनि निर्वाह गर्न थालेको छ।प्रतिष्ठानका सहायक प्राध्यापक डा. लोकजनसिंहका अनुसार हाल छैटौँ ब्याच अध्ययनरत छ। पहिलो ब्याचमा २०, दोस्रो र तेस्रोमा ३०–३० तथा चौथोदेखि छैटौँसम्म ५०–५० विद्यार्थी अध्ययनरत छन्। अहिले दुई सय ३० भन्दा बढी विद्यार्थी एमबिबिएस पढिरहेका छन्। सरकारले सिट संख्या थपे कर्णालीबाट अझ धेरै चिकित्सक उत्पादन हुने अपेक्षा गरिएको छ।तर, उपलब्धिसँगै चुनौतीहरू पनि बाँकी छन्। अत्याधुनिक प्रयोगशाला, अनुसन्धान केन्द्र, सुपर स्पेसालिटी सेवा, विशेषज्ञ प्राध्यापक, सहज सडक पहुँच र आधुनिक पूर्वाधार अझै अपर्याप्त छन्। चिकित्सा शिक्षा सुरु हुनु एउटा कोसेढुंगा हो, तर त्यसलाई दीर्घकालीन उत्कृष्टताको केन्द्र बनाउनु अझ ठूलो जिम्मेवारी हो।संविधानसभा सदस्य तथा प्रतिष्ठान स्थापनाका अभियन्ता नरेश भण्डारी भन्छन्, “हिजो कर्णालीले डाक्टर खोज्थ्यो, आज डाक्टर उत्पादन गरिरहेको छ। यो एउटा संस्थाको उपलब्धि मात्र होइन, कर्णालीको आत्मविश्वासको पुनर्जन्म हो।”वास्तवमा, पहिलो ब्याचका १८ चिकित्सकको सफलता परीक्षा उत्तीर्ण भएको तथ्य होइन। यो दशकौँसम्म उपचारको अभाव, राज्यको उपेक्षा र भौगोलिक कठिनाइसँग संघर्ष गरेको कर्णालीले इतिहाससँग गरेको एउटा मौन तर शक्तिशाली प्रतिवाद हो।कुनै बेला बिरामीलाई बचाउन कर्णालीबाट हेलिकोप्टर खोजिन्थ्यो। आज त्यही कर्णालीले जीवन बचाउने चिकित्सक उत्पादन गर्न थालेको छ। यही परिवर्तनले कर्णालीको नयाँ इतिहास लेखेको छ।





