जहाँ डाक्टर पुग्दैनथे, त्यहीँ डाक्टर पढ्न भारतबाट पुग्दै

गाेेल्डेन बुढा

जुम्ला,७ चैत ।
छिमेकी देश भारतको जम्मु–कश्मीरकी साक्षी गुप्ता जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन् । औपचारिक रूपमा चिकित्सा शिक्षा आयोगका मापदण्ड पूरा गरेर दुर्गम भूगोलमा आइपुगेकी उनी केवल पाठ्यपुस्तकको चिकित्सा होइन, ‘सीमान्त जीवनको चिकित्सा’ सिक्दै छिन् । उनी भन्छिन्, ‘यहाँ बिरामी मात्र होइन, अभाव, दूरी र राज्यको पहुँच नपुगेका कथाहरू पनि पढ्न पाइन्छ ।’भारत मध्यप्रदेशकी कस्तुरी सिंह र उत्तर प्रदेशका कार्तिकेय मिश्र पनि त्यही यात्राका सहयात्री हुन् । सहरका सुविधासम्पन्न कलेज रोज्ने विकल्प हुँदाहुँदै उनीहरूले जुम्ला रोज्नु संयोग होइन । यो छनोट चिकित्सा शिक्षाको ‘सुविधा’ भन्दा ‘अर्थ’ खोज्ने निर्णय हो । उनीहरूका लागि जुम्ला एउटा कक्षा कोठा मात्र होइन, एउटा जीवित प्रयोगशाला बनेको छ, जहाँ रोग केवल जैविक अवस्था होइन, सामाजिक–आर्थिक यथार्थसँग गाँसिएको छ ।साक्षी भन्छिन्, ‘नेपालमा चिकित्सा शिक्षाको गुणस्तरबारे सुनेकी थिएँ, तर जुम्ला आएपछि बुझें—यहाँ पढाइ मात्र होइन, समर्पण पढाइन्छ ।’ कार्तिकेय थप्छन्, ‘यहाँको जनजीवनले सिकाएको कुरा कुनै किताबमा पाइँदैन ।’यी कथाहरू व्यक्तिगत अनुभवमा सीमित छैनन् । पछिल्लो ब्याचमा नयाँदिल्ली, उत्तर प्रदेश, उत्तराखण्डलगायतका क्षेत्रबाट आएका विद्यार्थीहरूको उपस्थिति एउटा गहिरो संकेत हो,कर्णाली अब ‘अन्तिम विकल्प’ होइन, ‘चेतन चयन’ बन्न थालेको छ ।केही वर्षअघिसम्म कर्णालीको परिचय गरिबी, अशिक्षा र पलायनसँग जोडिन्थ्यो । युवा रोजगारीका लागि भारतका उत्तराखण्ड र हिमाचल पुग्थे । आज परिस्थिति उल्टिएको छ,उही भूगोलतर्फ ज्ञान र सीपको खोजीमा भारतीय विद्यार्थी आउँदैछन् । यो केवल भौगोलिक उलटफेर होइन, धारणागत रूपान्तरण हो ।यता प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीका अनुसार यो परिवर्तन सहजै आएको होइन ।

‘विद्यार्थीहरू जहाँसुकै जान सक्थे, तर उनीहरूले यहाँको शैक्षिक अनुशासन, सरकारी संरचना र दुर्गम स्वास्थ्य प्रणाली बुझ्ने अवसर रोजेका छन्,’ उनी भन्छन् ।२०६८ सालमा स्थापना भएको प्रतिष्ठान आज चार स्कुलमार्फत १३ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । सीमित स्रोत–साधनका बीच पनि लाइसेन्स परीक्षामा शतप्रतिशत सफलता, तीन सय शय्याको शिक्षण अस्पताल र व्यावहारिक अभ्यासको अवसरले यसलाई फरक बनाएको छ ।तर, यो संस्थाको कथा केवल शैक्षिक उपलब्धिको सूची होइन । यो राजनीतिक इच्छाशक्ति, सामाजिक संघर्ष र क्षेत्रीय असमानताविरुद्धको प्रतिरोधको कथा हो ।प्रतिनिधिसभामा प्रस्तुत भएको प्रतिष्ठानसम्बन्धी विधेयकले त्यतिबेला राष्ट्रिय बहस चर्कायो । जुम्लाबाट निर्वाचित नरेश भण्डारीले अघि सारेको प्रस्तावप्रति समर्थनभन्दा बढी शंका उब्जियो । ‘दुर्गम कर्णालीमा यस्तो संस्था सम्भव छैन’ भन्ने तर्कले केन्द्रदेखि स्थानीय तहसम्म जरा गाडेको थियो ।विधेयक पारित भएपछि पनि विवाद रोकिएन । जुम्लामै केन्द्रीय कार्यालय राख्ने निर्णयले स्थानीय राजनीति विभाजित भयो । आफ्नै भूगोलबाट ‘यो चल्दैन’ भन्ने आवाज उठ्यो ।तर, त्यही अविश्वासमाथि उभिएर प्रतिष्ठानले आफ्नो पहिचान बनायो । यो परियोजना मात्र थिएन—यो राज्यले कर्णालीप्रति गरेको ऐतिहासिक उपेक्षाको संरचनात्मक जवाफ थियो ।जहाँ कहिल्यै चिकित्सक टिक्दैनथे, जहाँ स्वास्थ्यचौकीले अस्पतालको भूमिका खेल्थ्यो, जहाँ बिरामीले उपचारभन्दा नियति पर्खिन्थे,त्यहीँबाट प्रतिष्ठानले यात्रा सुरु गर्‍यो ।आज अवस्था फेरिएको छ । चिकित्सक टिकिरहेका छन्, विशेषज्ञ सेवा विस्तार भएको छ, र सबैभन्दा महत्वपूर्ण,कर्णाली आफैं चिकित्सक उत्पादन गर्ने भूगोल बन्दैछ ।यस्तै नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार, ‘यो संस्थाले शिक्षा र स्वास्थ्य दुवैलाई एकैसाथ उकासेको छ । सडकले भूगोल जोड्यो, प्रतिष्ठानले अवसर जोड्यो ।’संस्थापक नरेश भण्डारी यसलाई अझ स्पष्ट रूपमा व्याख्या गर्छन्,‘यो संस्था गरिबी, अशिक्षा र बेरोजगारीविरुद्धको मिसाइल हो ।’उनको भनाइमा, कर्णालीका छोराछोरीले अब अवसर खोज्न बाहिर जानु पर्दैन । अवसर आफैं उनीहरूको आँगनमा आएको छ ।कर्णालीको कथा अब करुणा होइन, क्षमता लेख्ने चरणमा प्रवेश गरेको छ । जुम्लाको यो शान्त भूगोलमा अहिले एउटा गहिरो परिवर्तनको धड्कन सुनिन्छ,जहाँ कहिल्यै नआउने भनिएका चिकित्सकहरू जन्मिरहेका छन्, र जहाँ कहिल्यै सम्भव नठानिएको सपना बिस्तारै यथार्थ बन्दैछ ।प्रतिष्ठानमा चिकित्सा शिक्षाका चार वटा स्कुलमा स्नातक र स्नातकोत्तर गरी १३ कार्यक्रम सञ्चालनमा छन् । स्कुल अफ मेडिसिनअन्तर्गत एमबीबीएस, एमडी र एमएस तथा स्कुल अफ फार्मेसीअन्तर्गत ब्याचलर इन फार्मेसी र मास्टर इन फार्मेसी, स्कुल अफ नर्सिङअन्तर्गत बीएस्सी नर्सिङ, ब्याचलर अफ नर्सिङ र ब्याचलर अफ मिडवाइफरी साइन्स, स्कुल अफ पब्लिक हेल्थअन्तर्गत ब्याचलर अफ पब्लिक हेल्थ र मास्टर इन पब्लिक हेल्थका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । हाल एमबीबीएसमा ५०, नर्सिङमा २०, बीएनएसमा २०, बीपीएचमा २०, बीएस्सी नर्सिङमा २० र बीफर्मामा २० जना अध्ययनरत छन् । प्रतिष्ठानले ग्रामीण स्वास्थ्य, जनस्वास्थ्य र फार्मेसीमा पीएचडी तहका कार्यक्रम पनि चाँडै सुरु गर्ने तयारी रहेको शिक्षाध्यक्ष डा. धामी बताउँछन् । प्रतिष्ठानमा शिक्षक र कर्मचारी गरी १ सय २० जना कार्यरत छन् ।शिक्षाध्यक्ष डा. धामीका अनुसार प्रतिष्ठानमा फार्मेसी र नर्सिङ, जनस्वास्थ्य विषय अध्ययन गरेका विद्यार्थी सबै लाइसेन्स परीक्षामा उत्तीर्ण भएकाले पनि पछिल्ला दिनमा कर्णाली प्रतिष्ठानप्रति विद्यार्थीको आकर्षण बढ्दो छ ।

जहाँ डाक्टर पुग्दैनथे, त्यहीँ डाक्टर पढ्न भारतबाट पुग्दै

कर्णाली प्रदेशसभाबाट पहिलोपटक संकल्प प्रस्ताव पारित

जहाँ डाक्टर पुग्दैनथे, त्यहीँ डाक्टर पढ्न भारतबाट पुग्दै

लेख:पराजयको शोक

Leave a comment

Your email address will not be published. Required fields are marked *