पाँच वर्षभित्र सिक्टा सिँचाइ आयोजना पूरा गर्ने लक्ष्य, निर्माण कार्यलाई तीव्रता

बाँके, ३१ भदौ ।
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले आयोजनाका बाँकी पूर्वाधार निर्माणको काम पाँच वर्षभित्र पूरा गर्न निर्देशन दिएपछि शाखा, उपशाखा तथा प्रशाखा नहर निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको हो ।
आयोजना निर्देशक राजु आचार्यले पछिल्लो समय आयोजनाको निर्माण कार्यले गति लिएको बताए । बजेट र आवश्यक जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र बाँकी पूर्वाधार निर्माण सम्पन्न गर्न सकिने उनको भनाई छ । “पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार अहिले काम अघि बढिरहेको छ,” निर्देशक आचार्यले भने । उनका अनुसार सिक्टा सिँचाइ आयोजनाको हालसम्म ५१ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वाधार निर्माणमा हालसम्म करिब २४ अर्ब रुपियाँ खर्च भइसकेको छ । आयोजनाले बाँकेको ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ ।
आयोजनाका सूचना अधिकारी मनोजकुमार साहका अनुसार बाँकी संरचना निर्माणका लागि नयाँ बोलपत्र आह्वान गर्ने, शाखा तथा प्रशाखा नहर निर्माण अघि बढाउने र लामो समयदेखि रोकिएका काम पुनः सञ्चालन गर्ने प्रक्रिया तीव्र पारिएको छ । उनका अनुसार पछिल्लो चरणमा थप ३० वटा बोलपत्र आह्वान गरिएको छ । यसबाट बाँकी पूर्वाधार निर्माणले थप गति लिने अपेक्षा गरिएको छ ।
सिक्टाअन्तर्गत ४५ किलोमिटर लामो पश्चिम मूल नहर निर्माण भइसकेको छ । पश्चिम मूल नहरअन्तर्गत सिधनिया, अकलघरुवा र गुरुवागाउँ शाखा नहर पनि सम्पन्न हुने चरणमा पुगेका छन् भने डुडुवा शाखा नहरको निर्माण जारी छ ।
करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको डुडुवा शाखा नहर लामो समयदेखि अलपत्र अवस्थामा थियो । ठेकेदार कम्पनीसँगको विवाद तथा अदालतमा विचाराधीन मुद्दाका कारण रोकिएको निर्माण कार्य विवाद समाधान भएपछि गत वर्षदेखि नयाँ ठेकेदारमार्फत पुनः अघि बढाइएको हो ।
आयोजनाले पश्चिम मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर गरी कुल ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ । हालसम्म करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको निर्देशक आचार्यले जानकारी दिए ।
लक्ष्यअनुसार सम्पूर्ण क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन अझै शाखा, उपशाखा र प्रशाखा नहर निर्माण गर्नुपर्ने अवस्था छ । त्यसैले आगामी पाँच वर्षमा यी संरचनाको निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको आयोजनाले जनाएको छ ।
सिक्टा सिँचाइ आयोजनाको निर्माण अवधि र लागत भने पटक–पटक संशोधन हुँदै आएको छ । विसं २०६४ मा स्वीकृत पहिलो गुरुयोजनाले १२ अर्ब ८० करोड रुपियाँ लागतमा आर्थिक वर्ष २०७०/७१ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो । निर्माणका क्रममा थप नौ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने गरी पूर्वि मूल नहरलगायतका संरचना थपिएपछि आयोजनाको लागत र समय दुवै बढेको हो ।
आर्थिक वर्ष २०७१/७२ मा स्वीकृत संशोधित गुरुयोजनाले २५ अर्ब दुई करोड रुपियाँ लागतमा आर्थिक वर्ष २०७६/७७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर निर्धारित समयसीमामा पनि आयोजना पूर्ण रूपमा सम्पन्न हुन सकेन ।
त्यसपछि विसं २०७९ मा स्वीकृत गुरुयोजनाले आयोजनाको सम्पूर्ण काम ५२ अर्ब ८९ करोड रुपियाँ लागतमा आर्थिक वर्ष २०८९/९० सम्म सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ । पछिल्लो समय सरकारले भने बाँकी निर्माण कार्यलाई आगामी पाँच वर्षभित्र पूरा गर्ने गरी कामलाई गति दिन निर्देशन दिएको हो ।
आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१, अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ । आयोजनाको मुख्य उद्देश्य बाँकेको ठूलो भू–भागमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन र उत्पादकत्व बढाउनु हो ।
आयोजनाका अनुसार अब बाँकी शाखा, उपशाखा तथा प्रशाखा नहर निर्माण सम्पन्न गर्न सके लक्ष्यअनुसारको क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न सकिनेछ । आगामी पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने सरकारी लक्ष्यले लामो समयदेखि निर्माणाधीन सिक्टाबाट पूर्ण लाभ लिन पाउने स्थानीय किसानको अपेक्षा पनि बढाएको छ ।






