कर्णाली पर्यटन दशक घोषणाको तयारीमा प्रदेश सरकार

सुर्खेत, ३१ भदौ । 

कर्णाली प्रदेश सरकारले पर्यटनलाई प्रदेशको आर्थिक रूपान्तरणको आधार बनाउने लक्ष्यसहित चालु आर्थिक वर्षमा ७५ करोड २१ लाख रुपैयाँ लगानी गर्ने योजना अघि सारेको छ । प्रमुख पाँच पर्यटकीय गन्तव्यको गुरुयोजना कार्यान्वयनदेखि पर्यटनसँग जोडिएका पूर्वाधार, पहुँच, सेवा र प्रवद्र्धनसम्म सरकारले लगानी गर्न लागेको हो । 

मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौहान पार्क, सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु तालको संरक्षण तथा विकासका लागि मात्रै प्रदेश सरकारले २१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको बुँदा नम्बर ५० मा यी गन्तव्यको गुरुयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने उल्लेख छ । 

समग्र पर्यटन प्रवद्र्धन तथा विकासका लागि भने ५३ करोड ८६ लाख रुपैयाँ छुट्याइएको छ । पार्क, उद्यान, खुला स्थान, पदमार्ग, दृश्यावलोकन स्थल तथा प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार निर्माण एवं स्तरोन्नतिलाई सरकारले प्राथमिकतामा राखेको छ । सरकारको लगानीको आकार बढे पनि अब त्यसको प्रतिफल देखाउने चुनौती थपिएको छ । कर्णालीका पर्यटकीय गन्तव्यमा विगतदेखि नै पूर्वाधार अभाव, कमजोर सडक पहुँच, होटल तथा खानेपानीको कमी र प्रचारप्रसारको अभाव मुख्य समस्याका रूपमा रहँदै आएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का पर्यटनलाई पूर्वाधार विकास, सेवा सुधार र गन्तव्य व्यवस्थापनसँग जोडेर अघि बढाउने सरकारको नीति रहेको बताउँछिन् । ‘पर्यटनसँग जोडिएका सहायक पूर्वाधार निर्माणमा समेत सरकारले ठूलो बजेट छुट्याएको छ,’ उनले भनिन, ‘सहरी क्षेत्रको सौन्दर्य अभिवृद्धि, हरित वातावरण संरक्षण तथा पर्यापर्यटनको दिगो विकासलाई प्रवद्र्धन गर्न पार्क, उद्यान, खुला स्थान, पदमार्ग, दृश्यावलोकन स्थल तथा प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार निर्माण एवं स्तरोन्नति हुनेछ ।’ सरकारले प्राथमिकतामा राखेका पाँच गन्तव्य कर्णालीका फरक–फरक पर्यटकीय विशेषताका प्रतिनिधि हुन् । मुगुको रारा प्राकृतिक सौन्दर्यका कारण कर्णालीको प्रमुख पहिचान बनेको छ । 

सुर्खेतको काँक्रेविहार ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा हो । बुलबुले उद्यान तथा चौहान पार्कलाई सहरी पर्यटनसँग जोड्ने योजना छ । सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु ताललाई प्राकृतिक पर्यटनका गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले समेत यी क्षेत्रलाई कर्णालीका प्रमुख पर्यटनस्थलका रूपमा सूचीकृत गरेको मन्त्री खडकाको भनाई छ ।

तर, कर्णालीको पर्यटन सम्भावना यी पाँच गन्तव्यमा मात्र सीमित छैन । रारा, शे–फोक्सुण्डो, स्यार्पु, कुपिण्डे, काँक्रेविहार, पञ्चकोशी, सिञ्जा, लिमी उपत्यकालगायत असंख्य प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा प्रदेशमा छन् । यसअघि प्रदेश सरकारले रारा, शे–फोक्सुण्डो, कुपिण्डे, स्यार्पु, काँक्रेविहार, पञ्चकोशीलगायत प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई एउटै पर्यटन सञ्जालमा जोड्ने गरी पर्यटन सर्किट विकासको अवधारणासमेत अघि सारेको थियो ।

अहिले भने सरकारको जोड पर्यटकलाई गन्तव्यसम्म पु‍र्याउने मात्र नभई त्यहाँको बसाइ लम्ब्याउने वातावरण निर्माणमा छ । पर्यटन सूचना तथा अभिलेख केन्द्र, पर्यटकसम्बन्धी सूचना सामग्री, गाइडबुक, सुरक्षा तथा आपत्कालीन सहयोग संयन्त्र विकासका कार्यक्रमसमेत अघि बढाइएको मन्त्री खडकाको दावी छ ।

पर्यटन दशकको लक्ष्य रोजगारी

प्रदेश सरकारले पर्यटन क्षेत्रलाई गन्तव्य विकासमा मात्र सीमित नगरी रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोड्ने उद्देश्यले ‘कर्णाली पर्यटन दशक’ घोषणा गर्ने कार्यक्रम अघि सारेको छ । दशक अभियानअन्तर्गत प्रमुख पर्यटकीय गन्तव्यको संरक्षण, पूर्वाधार निर्माण, पहुँच विस्तार, प्रचारप्रसार तथा पर्यटन सेवाको गुणस्तर सुधारलाई प्राथमिकता दिइनेछ । 

पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक रूपान्तरण र स्थानीय रोजगारीको आधार बनाउने सरकारको लक्ष्य छ । पर्यटनसँग सम्बन्धित सीप विकास कार्यक्रममार्फत स्थानीय नागरिकलाई हस्पिटालिटी सेवा, ट्रेकिङ गाइड, स्थानीय मौलिक वास्तुकला संरक्षण तथा रैथाने बालीबाट उत्पादित परिकारको प्रवर्धनसम्बन्धी तालिम दिने योजना पनि सरकारले अघि सारेको छ ।

यसबाट पर्यटकीय क्षेत्रमा स्थानीय सहभागिता र रोजगारी बढाउने अपेक्षा गरिएको छ । स्थानीय रैथाने परिकार, मौलिक वास्तुकला, संस्कृति तथा जीवनशैलीलाई पर्यटन बजारसँग जोडेर गाउँमै आम्दानी र रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ । कर्णालीमा पर्यटन पूर्वाधारका लागि बजेट बढ्दै गए पनि विगतको अनुभवले कार्यान्वयनमा प्रश्न उठ्दै आएको छ । 

संरचना निर्माण मात्रै गरेर पर्यटकको संख्या बढाउन नसकिने व्यवसायीहरूको अनुभव छ । डोल्पाका पर्यटन व्यवसायी जीतेन्द्र झाँक्री दुई दशकदेखि आफू यस क्षेत्रमा काम गर्दै आएको बताउँदै उपल्लो डोल्‌पाका ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्धनमा राज्यले अझ बढी लगानी गर्नुपर्ने बताउँछन् ।

‘शे गुम्बा र क्रिस्टल माउन्टेनलगायतका सम्पदाको संरक्षण तथा प्रवर्धनमा अझै धेरै काम गर्न बाँकी छ,’ उनले भने । कर्णालीमा रारा, शे–फोक्सुण्डो, स्यार्पु, कुपिण्डे, काँक्रेविहार, पञ्चकोशी, सिञ्जा, लिमी उपत्यकालगायत असंख्य प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा छन् । तर, गन्तव्यसम्म पुग्ने सडक, नियमित यातायात, आवास, खानेपानी, सञ्चार र सूचना प्रणाली कमजोर रहेसम्म पर्यटक आगमन बढाउन कठिन हुने गरेको छ । 

त्यसैले अबको लगानी केवल संरचना निर्माणमा सीमित नगरी गन्तव्य विकास, पहुँच, प्रचारप्रसार, सेवा गुणस्तर र स्थानीय समुदायको आम्दानीसँग जोडिनुपर्ने व्यवसायीहरूको भनाइ छ ।  कर्णाली पर्यटन दशक प्रभावकारी रूपमा कार्यान्वयन हुन सके प्रदेशमा पर्यटक आगमन बढ्नुका साथै होटल, होमस्टे, यातायात, हस्तकला, कृषि तथा स्थानीय उत्पादनको बजार विस्तार हुने अपेक्षा गरिएको छ ।

कर्णाली पर्यटन दशक घोषणाको तयारीमा प्रदेश सरकार

सम्पादकीय : भूकम्पपीडितलाई कहिलेसम्म अस्थायी बास ?

कर्णाली पर्यटन दशक घोषणाको तयारीमा प्रदेश सरकार

पाँच वर्षभित्र सिक्टा सिँचाइ आयोजना पूरा गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *