कर्णालीमा बढ्दो दुर्घटना

गाेल्डेन बुढा

जुम्ला,७ असार ।
कर्णाली प्रदेशमा सडक दुर्घटनाले निरन्तर मानवीय क्षति निम्त्याइरहेको छ। पछिल्ला केही वर्षका तथ्यांक र जिल्लागत घटनाक्रमले सडक सुरक्षा अझै गम्भीर चुनौतीका रूपमा रहेको देखाएका छन्। जुम्लासहित कर्णालीका विभिन्न जिल्लामा भएका दुर्घटनाले सडक, सवारी र चालकको व्यवहारसँग जोडिएका समस्या उजागर गरेका छन्।२०८१ जेठ २७ गते जुम्लाको पातारासी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भयो। क १ प २०७७ मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय मीनबहादुर बुढाको ज्यान गएको थियो।यता २०८२ चैत १७ गते जुम्लाको तिला गाउँपालिका–५ स्थित खोलीगाउँको बिराली ढुस्कामा ट्याक्टर दुर्घटना भयो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार भे २ त १७७२ नम्बरको ट्याक्टर एक सय मिटर तल खसेको थियो। दुर्घटनामा जुम्लाको तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतको मृत्यु भयो।त्यसैगरी २०८२ चैत ३ गते मुड्केचुला गाउँपालिका–३ काङ्ग्रे खोलामा बा.१७ च. ३९७० नम्बरको बोलेरो जिप खस्यो। दुर्घटनामा चालक मुड्केचुला–३ भोटगाउँका २३ वर्षीय सल्मान रोकायाको घटनास्थलमै मृत्यु भयो।२०८३ असार २ गते तातोपानी गाउँपालिका–३ लाछुगाउँ नजिक ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार भे १ ट ८९३५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर तिला गाउँपालिका–४ निवासी ३५ वर्षीय खर्बेन्द्र शाहीको घटनास्थलमै मृत्यु भएको थियो।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार कर्णालीमा हुने सवारी दुर्घटनामध्ये ६५ प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेका छन्। त्यसपछि ब्रेक फेल, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, चालक अनुमतिपत्रबिना सवारी चलाउने, सडकको कमजोर अवस्था र जोखिमपूर्ण ओभरटेक दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन्।तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा ५ सय ४९ दुर्घटनामा १ सय ३१ जनाको मृत्यु भएको थियो भने ३ सय ३८ जना गम्भीर घाइते भएका थिए। आर्थिक वर्ष २०८०/०८१ मा दुर्घटनाको संख्या बढेर एक हजार ८६ पुगे पनि मृत्यु संख्या १ सय १२ मा सीमित रह्यो। त्यस अवधिमा ४ सय ७२ जना गम्भीर घाइते भएका थिए।आर्थिक वर्ष २०८१/०८२ मा ९ सय ६८ दुर्घटनामा १ सय ३९ जनाको मृत्यु भएको छ भने ७ सय २ जना गम्भीर घाइते भएका छन्। चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म प्रदेशभर एक हजार १ सय १५ सवारी दुर्घटना भइसकेका छन्। ती दुर्घटनामा १ सय २३ जनाको मृत्यु भएको छ भने दुई हजार १ सय ६५ जना घाइते भएका छन्।कर्णाली प्रदेशभित्र १० वटा जिल्ला छन्। प्रदेशभर भएका दुर्घटनामध्ये ५८ प्रतिशत सुर्खेतमा भएका छन्। मृत्युको हिसाबले पनि सुर्खेत नै सबैभन्दा अगाडि छ। दुर्घटनामा संलग्न सवारीसाधनमध्ये मोटरसाइकलको हिस्सा ४७ प्रतिशत रहेको छ। त्यसपछि जिप–कार, अटो–टेम्पो, ट्र्याक्टर, माइक्रोबस, बस र ट्रक रहेका छन्।समयगत विश्लेषणले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म दुर्घटना सबैभन्दा बढी हुने देखाएको छ। चालकको उमेरका आधारमा २६ देखि ४० वर्ष उमेर समूहका चालक सबैभन्दा बढी दुर्घटनामा संलग्न छन् भने १७ देखि २५ वर्ष उमेर समूह दोस्रो स्थानमा रहेको छ।हाल कर्णाली प्रदेशमा ४१ हजार ३ सय ८२ सवारीसाधन दर्ता भएका छन्। करिब नौ हजार ७ सय १५ किलोमिटर सडक सञ्जालमा ट्राफिक व्यवस्थापनका लागि जम्मा २ सय २० ट्राफिक प्रहरी खटिएका छन्। यसअनुसार एक ट्राफिक प्रहरीले औसतमा ४५ किलोमिटर सडकको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था छ।सडक डिभिजन सुर्खेतका प्रमुख विवशबाबु सदादेवले सडक सुरक्षाका लागि आगामी आर्थिक वर्षमा बजेट उल्लेख्य रूपमा बढाइएको जानकारी दिए। चालु वर्षको एक करोड रुपैयाँको तुलनामा आगामी वर्ष सडक सुरक्षा कार्यक्रमका लागि आठ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए। उक्त बजेटबाट दुर्घटनाको उच्च जोखिम भएका स्थानमा क्र्यास ब्यारियर, रोड मार्किङ, ट्राफिक लाइट, राउन्डअबाउट लगायत सुरक्षा पूर्वाधार निर्माण गरिनेछ।साथै कर्णाली राजमार्गको स्तरोन्नति, हर्रे–बाङ्गेसिमल र छिन्चु–जाजरकोट सडकखण्डमा सुरक्षा संरचना निर्माण तथा वीरेन्द्रनगर चारलेन सडकमा ट्राफिक लाइट सञ्चालनलाई प्राथमिकता दिइएको छ।चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म जनचेतना कार्यक्रम ६ हजार ८ सय २५ पटक गरिएको छ भने ४ लाख ४५ हजार ६ सय ८३ जना लाभान्वित भएका छन्।

सडक विस्तार र सवारीसाधनको संख्या बढ्दै जाँदा कर्णालीमा दुर्घटनाको जोखिम पनि बढिरहेको छ। तीव्र गति नियन्त्रण, सडक सुरक्षामा लगानी वृद्धि, प्रभावकारी ट्राफिक व्यवस्थापन र चालक सचेतनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन नसकिए मानवीय क्षतिको श्रृंखला अझै भयावह बन्न सक्ने देखिन्छ।

कर्णालीमा बढ्दो दुर्घटना

निशुल्क स्वास्थ्य सिविरबाट तीन सय ३३ जनाले

Leave a comment

Your email address will not be published. Required fields are marked *