नेपालगञ्ज–कोहलपुरका बजारमा बढ्यो चहलपहल बाँके–बर्दियाका व्यवसायी उत्साहित

बाँके, ५ जेठ ।
नेपाल सरकारले भारतबाट सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने व्यवस्था कडाईका साथ लागू गरेपछि सीमापार व्यापारमा ठूलो परिवर्तन देखिन थालेको छ । भारतीय सीमावर्ती बजार रुपैडिहामा व्यापार मन्द बन्दै गएको बेला नेपालगञ्ज, कोहलपुरसहित बाँके र बर्दियाका बजारमा भने ग्राहकको चहलपहल बढ्न थालेको छ । लामो समयदेखि सुस्त बनेका स्थानीय बजारमा फेरि कारोबार बढ्न थालेपछि व्यवसायीहरू उत्साहित बनेका छन् ।
नेपालगञ्जको जमुनाहा नाकापारी रहेको रुपैडिहा उद्योग व्यापार प्रतिनिधि मण्डल (बहराइच) ले नेपाल सरकारको नयाँ भन्सार नीतिका कारण सीमाक्षेत्रको व्यापार ७५ प्रतिशतसम्म घटेको दाबी गर्दै नीति पुनरावलोकन गर्न माग गरेको छ । मण्डलले जिल्ला प्रशासन बहराइचमार्फत भारत सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै सीमापार व्यापारमा गम्भीर असर परेको जनाएको हो ।
मण्डलका नगर अध्यक्ष शैलेश जायसवाल ले जिल्ला अधिकारीलाई बुझाएको पत्रमा नेपाल सरकारले सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क कडाइका साथ लागू गरेपछि रुपैडिहा बजार तथा आसपासका व्यापारीहरू आर्थिक सङ्कटमा परेको उल्लेख गरेका छन् । उनका अनुसार पहिले दैनिक उपभोग्य सामग्री सहज रूपमा ओसारपसार हुने गरे पनि अहिले चामल, चिनी, तेल, औषधी तथा तरकारीजस्ता वस्तुमा समेत कडाइ गरिएकाले व्यापार उल्लेख्य रूपमा घटेको हो । सीमामा सशस्त्र प्रहरीद्वारा निगरानी बढाइएपछि सर्वसाधारण र व्यापारी दुवैलाई असहज भएको गुनासो पनि गरिएको छ ।
यता, सीमामा कडाइ बढेपछि बाँके, बर्दिया, दाङलगायत जिल्लाबाट रुपैडिहा किनमेल गर्न जानेहरूको संख्या उल्लेख्य रूपमा घटेको छ । पहिले सस्तो भन्दै भारतीय बजार पुग्ने नेपाली उपभोक्ता अहिले आफ्नै बजारतर्फ फर्किन थालेपछि नेपालगञ्ज, कोहलपुर, गुलरिया, राजापुर तथा बाँसगढीजस्ता बजारमा व्यापार बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघ का अध्यक्ष टंक धामी ले सीमामा गरिएको कडाइले स्वदेशी बजारलाई सकारात्मक प्रभाव पारेको बताए । उनका अनुसार अहिले नेपालगञ्ज र कोहलपुर मात्र नभई पहाडी जिल्लाका बजारसमेत चलायमान हुन थालेका छन् । “पहिले सामान्य सामान किन्न पनि ठूलो संख्या भारततर्फ जाने गर्थे,” अध्यक्ष धामीले भने, “अहिले त्यो क्रम घटेपछि नेपाली बजारमै किनमेल बढेको छ । यसले स्थानीय व्यापारी, राजस्व संकलन र समग्र आन्तरिक अर्थतन्त्रलाई फाइदा पुगेको छ ।”
नेपालगञ्जको धम्बोझीस्थित कपडा व्यवसायी प्रकाश अग्रवालले केही महिनाअघिसम्म बजार निकै सुस्त रहेको बताए । “ग्राहकहरू धेरैजसो रुपैडिहा जाने भएकाले यहाँ व्यापार घटेको थियो,” उनले भने, “अहिले भने दैनिक ग्राहक बढिरहेका छन् । पसलमा फेरि पुरानोजस्तै चहलपहल देखिन थालेको छ ।”
कोहलपुरकी किराना व्यवसायी सविता खड्काले पनि सीमामा गरिएको कडाइले नेपाली व्यापारीलाई राहत मिलेको बताए । “पहिले सानो सामानका लागि पनि भारत जाने चलन थियो,” उनले भने, “अहिले स्थानीय बजारमै किनमेल हुन थालेपछि व्यापार राम्रो भएको छ । व्यवसायीहरूमा नयाँ उत्साह आएको छ ।”
ग्राहकहरू पनि अहिले आफ्नै बजार सहज र सुरक्षित भएको बताउँछन् । बर्दियाको गुलरियाबाट नेपालगञ्ज किनमेल गर्न आएकी ग्राहक माया चौधरीले भारत जाँदा झन्झट बढेपछि नेपालमै सामान किन्न थालेको बताए । “पहिले रुपैडिहा पुगेर सामान ल्याउँथ्यौँ,” उनले भने, “अहिले यहीँ राम्रो सामान पाइने रहेछ । समय पनि बच्ने भयो, झन्झट पनि कम भयो ।”
व्यवसायीहरूका अनुसार सीमामा गरिएको कडाइले नेपाली बजारमा पैसा घुम्न थालेको छ । यसले साना तथा मध्यम व्यवसायीलाई राहत मिल्नुका साथै स्थानीय अर्थतन्त्रसमेत चलायमान बन्न थालेको उनीहरूको भनाई छ । सीमामा गरिएको निगरानी र भन्सार कडाइलाई निरन्तरता दिन सके नेपाली बजार अझ सशक्त बन्ने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन् ।





