सिंजामा पहिलोपटक एनसीसी तालिम

गाेल्डेन बुढा
जुम्ला,३ असार ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ रहेको कनकासुन्दरी माध्यमिक विद्यालय लुड्कुमा राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सुरु गरिएको छ। देविदत्त गण जुम्लाको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो। सिंजा क्षेत्रमा पहिलोपटक यो तालिम गरिएको हो।गणपति प्रमुख सेनानी धिरज थापाका अनुसार ५२ एनसीसी ब्याच राष्ट्रिय सेवा दल जुनियर तालिमको शुभारम्भ भएको थियो। १ सय दिनको तालिममा छनोट भएका विद्यार्थीलाई ७९ दिन जिल्लामै राखिने र २१ दिन जिल्ला बाहिर बाँके जिल्लामा लगेर प्रशिक्षण दिइने छ। कुल ३० जना विद्यार्थी छनोट गरिएको छ। जसमध्ये १५ जना छात्र र १५ जना छात्रा छन्।सो कार्यक्रम कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर प्रसाद आचार्य, उपाध्यक्ष प्रेमकली बुढा, विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपाने, कनकासुन्दरी मावि लुड्कुका पूर्व विव्यस अध्यक्ष दीपेन्द्र प्रसाद उपाध्याय, अभिभावक तथा शिक्षक–विद्यार्थीको उपस्थितिमा सञ्चालन भएको कार्यक्रम सञ्चालन सहायक प्रअ मरिचमान काफ्लेले बताए।उनले भने, “विद्यार्थीलाई अनुशासन, राष्ट्रप्रेम, नेतृत्व विकास, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिन्छ।” त्यसका साथै विद्यार्थीलाई तालिम अवधिमा ड्रिल, खुकुरी ड्रिल, टेक्वान्दो, एरोविक्स र फिल्ड क्राप्टलगायतका विषयमा समेत प्रशिक्षण दिइने सेनाले जनाएको छ।जुम्लामा अहिलेसम्म ११ वटा विद्यालयमा एनसीसी तालिम सञ्चालन गरिएको छ।

एनसीसी नेपाल सरकारको युवा विकास कार्यक्रम अन्तर्गत एक असल, अनुशासित, चरित्रवान, जिम्मेवार, देशभक्तिले ओतप्रोत भएको नागरिक उत्पादन गर्नु मुख्य लक्ष्यसहितको युवा विकास कार्यक्रम हो। सोको जिम्मेवारी नेपाली सेनालाई नेपाल सरकारबाट दिइएको छ।एनसीसी सैनिक सेवा होइन तर तालिमको दौरान सैनिक व्यक्तिको जस्तो अनुशासन, जीवन उपयोगी सीप, विपद् व्यवस्थापन गर्ने सीप, समय व्यवस्थापन जस्ता विषयहरूमा पर्याप्त अभ्यास गराई दीक्षित हुने गर्दछन्। नेपाल सरकारको मुख्य प्राथमिकतामा रहेको यस तालिम सञ्चालनका लागि नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त भएको हुँदा सोही बमोजिम स्थानीय तहसम्म पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप नेपाल अधिराज्यभर २५७ विद्यालयहरूमा ७९ दिनको संस्थागत तालिम साथै विभिन्न ४ स्थानहरूमा राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोर (जुनियर डिभिजन क्याडेट) नवलपरासी, राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङ्गसिला मोरङ (जुनियर डिभिजन क्याडेट), राष्ट्रिय सेवा दल मध्य–पूर्वी तालिम शिक्षालय बर्दिबास (सिनियर/जुनियर डिभिजन क्याडेट) महोत्तरी, राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कोहलपुर, बाँके (सिनियर/जुनियर डिभिजन क्याडेट) तालिम शिक्षालयहरूबाट तालिम सञ्चालन गरिँदै आइरहेको छ।नेपाली सेनाले सञ्चालन गर्दै आएको जुनियर नेसनल क्याडेट कोर (एनसीसी) तालिम जुम्लामा हालसम्म ३ सय ७८ जना विद्यार्थीले लिएका छन्। जुम्लाका ११ वटा विद्यालयका विद्यार्थी उक्त तालिममा सहभागी भएका हुन्, जसमा २ वटा निजी र ९ वटा सामुदायिक विद्यालय छन्।गणपति धीरज थापाका अनुसार जुम्लामा २०७३ सालदेखि विद्यालयस्तरमा एनसीसी तालिम सुरु गरिएको हो। तालिम लिने विद्यार्थीमध्ये १ सय ९८ जना छात्र र १ सय ८० जना छात्रा छन्। “विद्यालय तहबाटै सभ्य, अनुशासित र असल नागरिक उत्पादन गर्ने उद्देश्यले एनसीसी तालिम सञ्चालन गरिएको हो,” थापाले भने।जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित दुर्गा माध्यमिक विद्यालय लाम्राबाट ३६ जना (१८ छात्र, १८ छात्रा) सहभागी भएका छन्। यस्तै कनिका निशा माध्यमिक विद्यालयबाट पनि समान ३६ जना विद्यार्थी तालिममा सहभागी छन्। कैलाश बोधि माध्यमिक विद्यालयबाट ३४ जना (१८ छात्र, १६ छात्रा) र अर्को समूहमा ३६ जना (१८ छात्र, १८ छात्रा) विद्यार्थी सहभागी भएका छन्।यस्तै जनता माध्यमिक विद्यालय महतगाउँबाट २१ जना (१२ छात्र, ९ छात्रा) तथा अर्को समूहमा ३६ जना (१९ छात्र, १७ छात्रा) छन्। कर्णाली माध्यमिक विद्यालय अनामनगरबाट ४५ जना (२५ छात्र, २० छात्रा) र अर्को समूहमा ३३ जना (२० छात्र, १३ छात्रा) सहभागी छन्। चन्दननाथ माध्यमिक विद्यालय खलंगा बजारबाट ३६ जना (१६ छात्र, २० छात्रा) र अर्को समूहमा ३५ जना (१९ छात्र, १६ छात्रा) विद्यार्थीले तालिम लिएका छन्।गणपति थापाका अनुसार यो तथ्यांक २०७३ देखि २०८३ सालसम्मको हो। “एनसीसी तालिम प्राप्त विद्यार्थीको बानी–व्यवहार र आचरणमा सकारात्मक परिवर्तन देखिएपछि विद्यालयहरूबाट तालिमको माग बढ्दै गएको छ,” उनले भने, “अभिभावकहरू पनि यसप्रति सकारात्मक देखिएका छन्।”हरेक वर्ष निश्चित संख्यामा सञ्चालन गरिने यो तालिमले विपद्का बेला राष्ट्रका लागि योगदान गर्न सक्ने कर्मठ, इमान्दार र राष्ट्रभक्त जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको सेनाले जनाएको छ।‘अनुशासन नै राष्ट्रसेवाको मूल जग हो’ भन्ने आदर्श बोकेको एनसीसीले विद्यार्थीमा चरित्र निर्माण, नेतृत्व विकास, खेलभावना र निःस्वार्थ सेवाको संस्कार विकास गराउने थापाको भनाइ छ। तालिम सैद्धान्तिक र व्यावहारिक दुवै पक्ष समेट्ने पाठ्यक्रमअनुसार सञ्चालन गरिन्छ।तालिमले विद्यार्थीको आत्मविश्वास बढाउने, राष्ट्रप्रेम जागृत गर्ने र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने प्रमुख सेनानी थापाले बताए। “तालिम पूरा गर्न केही चुनौती भए पनि यसले व्यक्ति, समाज र देशलाई सकारात्मक दिशातर्फ लैजान मद्दत गर्छ,” उनले भने।कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीबाट छनोट गरी एनसीसी तालिम दिइन्छ। नेपालमा नेपाली सेनाले सिनियर र जुनियर गरी दुईवटा डिभिजन छुट्याएर तालिम दिँदै आएको छ। जुम्लामा जुनियर तालिम भइरहेको छ। यो वर्ष भने ग्रामीण भेगका विद्यालयलाई प्राथमिकतामा राखेर तालिमका लागि विद्यालय छनोट गरिएको देविदत्त गण जुम्लाले जनाएको छ।विद्यालयका शिक्षकहरूका अनुसार एनसीसी तालिमले विद्यार्थीलाई अनुशासित, सिर्जनशील र जिम्मेवार नागरिक बनाउन सहयोग गरेको छ। तालिमको सही सदुपयोग गर्न सके वैदेशिक रोजगारीमा होमिनुपर्ने नेपाली युवायुवतीको बाध्यता पनि हट्ने उनीहरूले विश्वास व्यक्त गरेका छन्।सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्दै राष्ट्रप्रति समर्पित नागरिक उत्पादन गर्नु नै यस तालिमको मुख्य उद्देश्य भएको जनाएको छ। नेपाली सेनाले राष्ट्रिय सेवा दलमार्फत २०२२ साल कार्तिक ७ गतेदेखि विद्यार्थीहरूलाई एनसीसी तालिम दिन सुरु गरेको थियो। जिल्लामा भने आव २०७१/०७२ बाट यस्तो तालिमको सुरुवात गरिएको हो। अहिले देशका ७७ वटै जिल्लामा प्रत्येक वर्ष सञ्चालन भइरहेको छ।






