सम्पादकीय : एमयू स्थापनाका १६ वर्ष

मध्यपश्चिम विश्वविद्यालय (एमयू) बुधबार आफ्नो शैक्षिक इतिहासको १६ औं वार्षिकोत्सव मनाएको छ । यो कर्णाली प्रदेशको उच्च शिक्षाको विकास यात्राको ऐतिहासिक उपलब्धि पनि हो । स्थापना कालको संघर्षदेखि आजको विस्तारित संरचनासम्मको यात्रा एमयूलाई कर्णालीको शैक्षिक चेतना, पहुँच र आकांक्षासँग जोडिएको संस्थाका रूपमा स्थापित गरेको छ । यस वर्षको दीक्षान्त समारोहमा करिब १९ सय २८ विद्यार्थी दीक्षित भए । योसँगै विश्वविद्यालय स्थापना भएको १६ वर्षको अवधिमा आठ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । जसले एमयूको निरन्तर विस्तार, शैक्षिक उत्पादन क्षमता र जनविश्वासलाई स्पष्ट रूपमा देखाउँछ । ग्रेस लिस्टमा रहेका विद्यार्थीमध्ये ठूलो संख्याले अभिभावकसहित समारोहमा सहभागिता जनाउनु विश्वविद्यालयप्रतिको भावनात्मक सम्बन्धको पनि संकेत हो । उत्कृष्ट विद्यार्थीलाई कुलपति पदक, उपकुलपति पदक तथा डीन लिस्टबाट सम्मान गर्ने अभ्यासले शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने नीति झल्काउँछ । तर, एमयूको आजको उपलब्धि केवल वर्तमान व्यवस्थापनको प्रयासको परिणाम मात्र होइन, दशकौँ लामो संघर्ष, बहस र जनआन्दोलनको प्रतिफल हो । २०४९ को राष्ट्रिय शिक्षा आयोगले नयाँ विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारेपछि मध्यपश्चिम क्षेत्रमा पनि उच्च शिक्षाको आवश्यकता महसुस गरियो । 

त्यसपछि २०५० को दशकभर सुर्खेतलाई केन्द्र बनाएर विश्वविद्यालय स्थापनाको अभियान निरन्तर अघि बढ्यो । स्थानीय निकाय, नागरिक समाज, राजनीतिक नेतृत्व र विभिन्न समितिहरूको सक्रियताले यो अभियानलाई जनआन्दोलनको स्वरूप दिएको थियो । २०५२ सालमा जिल्ला विकास समितिको नेतृत्वमा सुरु भएको औपचारिक प्रयासदेखि २०५३ मा सरोकारवालाको साझा निर्णयसम्म आइपुग्दा विश्वविद्यालय स्थापनाको आधार तयार भयो । त्यसपछि गठन भएका विभिन्न समिति, अध्ययन कार्यदल र नागरिक अभियानहरूले यसको आवश्यकतालाई वैज्ञानिक रूपमा प्रमाणित गर्दै अघि बढाए । महायज्ञ, चन्दा संकलन, राजनीतिक दबाब, डेलिगेसन तथा निरन्तर बहसहरूले कर्णालीमै विश्वविद्यालय स्थापना गर्नुपर्ने मागलाई राष्ट्रिय मुद्दा बनायो । अन्ततः २०६७ असार ३ मा मध्यपश्चिम विश्वविद्यालय ऐन जारी भएपछि सुर्खेतमा केन्द्रीय कार्यालय रहने गरी विश्वविद्यालयको औपचारिक स्थापना सम्भव भयो । आज एमयू सात वटा ग्राजुएट स्कुल, १० आंगिक क्याम्पस तथा विभिन्न तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै एक बहुविषयक विश्वविद्यालयका रूपमा विकसित भएको छ । व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कानून, कृषि र मानविकी तथा सामाजिक विज्ञान जस्ता क्षेत्रमा स्नातकदेखि विद्यावारिधिसम्मका कार्यक्रम सञ्चालन भइरहेका छन् । 

यसले कर्णाली मात्र होइन, लुम्बिनी र देशका अन्य क्षेत्रका विद्यार्थीलाई पनि उच्च शिक्षाको अवसर प्रदान गरेको छ । १८ औं विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको आम्दानी–खर्च समीक्षा, आगामी वर्षका नीति तथा कार्यक्रम र १ अर्ब ४९ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव प्रस्तुत गरिनु विश्वविद्यालयको प्रशासनिक र शैक्षिक विस्तारको संकेत हो । तर, विस्तारसँगै गुणस्तर, अनुसन्धान क्षमता, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकताका चुनौती पनि उत्तिकै बढेका छन् । एमयूको इतिहास केवल संस्थागत विकासमा मात्र सीमित छैन । यो कर्णालीको आत्मनिर्भर शैक्षिक भविष्य निर्माणको प्रतीक पनि हो । अबको आवश्यकता उत्सव र उपलब्धि गणना गरेर मात्र हुँदैन । विश्वविद्यालयले प्रविधिको विकाससँगै समायानुकल गुणस्तरीय शिक्षा, अनुसन्धानमुखी अभ्यास र रोजगारीसँग जोडिएको शिक्षा दिनतर्फ ध्यान केन्द्रित गर्नुपर्दछ । दीक्षान्त समारोहले विद्यार्थीको शैक्षिक यात्रा पूरा भएको संकेत गर्छ, तर विश्वविद्यालयका लागि भने यो अझ जिम्मेवार, प्रभावकारी र भविष्यउन्मुख यात्राको नयाँ आरम्भ हुनुपर्ने समय हो ।

सम्पादकीय : एमयू स्थापनाका १६ वर्ष

सिंजामा पहिलोपटक एनसीसी तालिम

सम्पादकीय : एमयू स्थापनाका १६ वर्ष

जैविक विविधतामाथी बढ्दो खतरा

Leave a comment

Your email address will not be published. Required fields are marked *