जुम्लाको गिडिदहमा पर्यावरण संरक्षण तथा जलवायु सम्मेलन!

गाेल्डेन बुढा
जुम्ला,३ असार।
समुद्री सतहदेखि ३ हजार ४ सय ८५ मिटर उचाइमा अवस्थित गिडिदह लामो समयसम्म स्थानीय जनजीवन र किंवदन्तीभित्र सीमित थियो। जुम्लाकै सबैभन्दा ठूलो तालमध्ये एक भए पनि दुर्गम भूगोल, पहुँच अभाव र राज्यको बेवास्ताका कारण यो प्राकृतिक सम्पदा वर्षौंसम्म राष्ट्रिय चर्चा बाहिर रह्यो। तर पछिल्ला चार वर्षमा भएका अध्ययन, सम्मेलन, पूर्वाधार निर्माण र नीति बहसले गिडिदहलाई कर्णालीको नयाँ पर्यटकीय सम्भावनाको केन्द्रका रूपमा स्थापित गर्न थालेको छ।२०७९ साल असोज ३ देखि ६ गतेसम्म गिडिदहमा पहिलो पटक सरकारी टोली पुग्नु यस क्षेत्रको इतिहासमै महत्वपूर्ण घटना मानिन्छ। तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, पूर्व नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही, उपाध्यक्ष दिलमाया शाही तथा स्थानीय सरोकारवालासहितको टोलीले गिडिदह पुगेर यसको वास्तविक अवस्था, पर्यटन सम्भावना र संरक्षणका चुनौतीहरूको प्रत्यक्ष अध्ययन गरेको थियो।

त्यतिबेला गिडिदहसम्म पुग्न चार दिनको जोखिमपूर्ण पैदल यात्रा गर्नुपर्थ्यो। गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, उपाध्यक्ष रेवती रावल, प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापासहित ८४ जनाको टोली गिडिदह सम्मेलनमा सहभागी भएको थियो। तातोपानी गाउँपालिका–४ को आयोजनामा सम्पन्न उक्त सम्मेलनले पहिलो पटक १४ बुँदे घोषणापत्र जारी गर्दै गिडिदहलाई संरक्षण र विकासको राष्ट्रिय बहसमा ल्याउने आधार तयार गर्यो।त्यो सम्मेलन केवल पर्यटन प्रवर्द्धनको कार्यक्रम मात्र थिएन, सामाजिक चेतनाको पनि एउटा सन्देश थियो। जोखिमपूर्ण हिमाली क्षेत्रमा महिलाको उपस्थिति दुर्लभ मानिने अवस्थामा उपाध्यक्ष रावल र पत्रकार महासंघकी तत्कालीन उपाध्यक्ष दिलमाया शाहीसहित तीन महिलाको सहभागिताले लैङ्गिक समानताको सशक्त उदाहरण प्रस्तुत गरेको थियो।गिडिदहको वास्तविक स्वरूप सार्वजनिक रूपमा स्थापित गर्ने काम २०८१ वैशाख १५ गते सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले गर्यो। काठमाडौं विश्वविद्यालयले नौ दिन लगाएर गरेको विस्तृत अध्ययनले गिडिदहलाई वैज्ञानिक तथ्यांकसहित राष्ट्रिय बहसमा ल्यायो।उपप्राध्यापक रामदेवी तचामो शाहले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गिडिदहको कुल लम्बाइ १ हजार ५ सय १० मिटर तथा अधिकतम गहिराइ ४२.३ मिटर रहेको छ। अध्ययनले ठूलो र सानो गरी दुईवटा जलाशय रहेको पुष्टि गरेको छ।ठूलो तालको लम्बाइ १ हजार ६० मिटर र चौडाइ ३ सय १० मिटर रहेको छ भने सानो तालको लम्बाइ ४ सय ५० मिटर, चौडाइ २ सय १० मिटर र गहिराइ २१.३ मिटर मापन गरिएको छ।

समग्र ताल २९.११ हेक्टर क्षेत्रफलमा फैलिएको छ।अध्ययनले गिडिदह केवल पानीको स्रोत मात्र नभई जैविक विविधताको महत्वपूर्ण केन्द्र भएको देखाएको छ। प्रतिवेदनअनुसार यहाँ राष्ट्रिय महत्व बोकेका १८ प्रकारका चरा, सात प्रकारका स्तनधारी जनावर र ७४ प्रकारका चराचुरुङ्गी पाइन्छन्। लोपोन्मुख रेडपाण्डाको बासस्थानका रूपमा समेत यो क्षेत्र महत्वपूर्ण रहेको उल्लेख गरिएको छ।यस अध्ययनपछि गिडिदह कर्णाली प्रदेशको तेस्रो ठूलो तालका रूपमा औपचारिक रूपमा चिनिन थालेको छ।गिडिदहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकारले विभिन्न पूर्वाधार निर्माणका काम अघि बढाएको छ। राष्ट्रिय ताल संरक्षण समितिको पाँच लाख र तातोपानी गाउँपालिकाको १० लाख गरी कुल १५ लाख रुपैयाँको लागतमा तालको नापजाँच गरिएको थियो।गिडिदहतर्फ जाने २ हजार ७ सय मिटर घोरेटो बाटो निर्माण गरिएको छ भने डिपिआर, वातावरणीय प्रभाव मूल्यांकन, धर्मशाला निर्माण, सूचना बोर्ड जडान तथा पदमार्ग विकासका काम सम्पन्न भइसकेका छन्।कर्णाली राजमार्गको हाँकुबाट २९ किलोमिटर दूरीमा रहेको गिडिदहतर्फको यात्रामा फूलचौल्या, बाइस पाटन, लामाचौर, धप्के पाटन, माझपाटन, बजेडीखोला, गणेशगुफा, शिवभण्डार वन, विष्टज्यू तथा ठाकुरज्यू मन्दिरजस्ता प्राकृतिक तथा धार्मिक सम्पदाको अवलोकन गर्न सकिन्छ। यसले गिडिदहलाई केवल एउटा ताल नभई बहुआयामिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना देखाएकाे छ।गत जेठ २९ देखि ३१ गतेसम्म गिडिदहमा पहिलो पटक आयोजना गरिएको पर्या–पर्यटन तथा जलवायु सम्मेलनले यस क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ।‘प्रकृति हेरौँ, महसुस गरौँ, पर्यापर्यटन प्रवर्द्धनमा जुटौँ’ भन्ने नारासहित सम्पन्न सम्मेलनले गिडिदह पर्यटन प्रवर्द्धन तथा जलवायु घोषणापत्र–२०८३ जारी गरेको छ। सम्मेलनले दिगो पर्यटन, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणलाई विकासको मूल आधार बनाउनुपर्ने निष्कर्ष निकालेको छ।१५ बुँदे घोषणापत्रमा गिडिदह र आसपासका जलाधार क्षेत्रको संरक्षण, वन्यजन्तुको बासस्थान जोगाउने, जैविक विविधताको संरक्षण गर्ने तथा चरण क्षेत्रको व्यवस्थित उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
गिडिदहलाई वातावरणमैत्री पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्लास्टिक निषेध क्षेत्र घोषणा गर्ने, शून्य फोहोर व्यवस्थापन रणनीति लागू गर्ने तथा पदमार्ग निर्माणलाई पूर्णता दिने योजना अघि सारिएको छ। पर्यटकका लागि निर्माण गरिने संरचनामा कंक्रिट र सिमेन्टको प्रयोग न्यून गरी प्रकृतिमैत्री संरचनालाई प्राथमिकता दिने नीति पनि घोषणापत्रमा समेटिएको छ।सम्मेलनले स्थानीय आर्थिक विकासलाई पर्यटनसँग जोड्ने स्पष्ट रणनीति अघि सारेको छ। रैथाने गाउँहरूमा सामुदायिक होमस्टे सञ्चालन, स्थानीय कला–संस्कृति, भेषभूषा तथा अर्गानिक खाद्य परिकारको प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरिएको छ।युवालाई ‘क्लाइमेट गाइड’ का रूपमा परिचालन गरी रोजगारी सिर्जना गर्ने अवधारणा पनि अघि सारिएको छ। साथै रैथाने कृषि प्रणालीको संरक्षण, खाद्य सुरक्षाको प्रवर्द्धन, वन तथा जडीबुटी संरक्षण, डढेलो नियन्त्रण तथा जलवायु अनुकूलन कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।सम्मेलन केवल नीतिगत छलफलमा सीमित रहेन। माध्यमिक तहका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता र जिल्ला स्तरीय खुला देउडा गीत प्रतियोगिता पनि आयोजना गरिएको थियो।वक्तृत्वकला प्रतियोगितामा आठ विद्यालयका विद्यार्थी सहभागी भएका थिए।भने देउडा प्रतियोगितामा १३ टोलीले प्रतिस्पर्धा गरेका थिए।

सम्मेलनमा ५ सय ४६ जना स्थानीयको सहभागिता रहेको थियो।पूर्व वन तथा वातावरण मन्त्री माधव चौलागाईंले हिमाली क्षेत्रका प्राकृतिक सम्पदा, जडीबुटी र जैविक विविधताको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका थिए। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले गिडिदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीनै तहका सरकारको समन्वित प्रयास आवश्यक रहेको धारणा राखेका थिए।








