सम्पादकीय : चाडपर्वमा सडक सुरक्षाको चुनौती

कर्णालीमा सडक दुर्घटनाबाट एक वर्षमै एक सय ३५ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका १० जिल्लामा भएका एक हजार एक सय ९७ दुर्घटनामा दुई हजार ३०५ जना घाइते भएका छन् । दुर्घटनाको यो भयावह तथ्यांकका बीच दशैँ, तिहार र छठलाई लक्षित गरी ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना अघि सारेको छ । तर, योजना बनाउनु र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु फरक विषय हुन् । चाडपर्वमा यात्रुको चाप बढ्ने समयमा सडक सुरक्षा प्रहरीको निगरानीमा मात्र सीमित हुनु हुँदैन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले तयार पारेको योजनाअनुसार कर्णालीका १० वटै जिल्लामा विशेष चेकजाँच, मोबाइल गस्ती, यात्रु सहायता कक्ष र आकस्मिक उद्धार टोली परिचालन गरिनेछ । तीव्र गति, मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने र चालकको लापरवाही नियन्त्रण गर्न २४ घण्टे निगरानी गर्ने योजना छ । प्रत्येक सुरक्षा योजनामा दुई सय १५ जना प्रहरी खटाउने तयारी पनि गरिएको छ । मुख्य राजमार्ग, प्रदेश प्रवेश तथा निकास नाका र दुर्घटनाको जोखिम भएका सडकमा निगरानी बढाउने निर्णय सकारात्मक छ । तर, यसको प्रभावकारिता कागजी योजनाभन्दा सडकमा देखिने परिणामले निर्धारण गर्नेछ ।
कर्णालीको सडक सुरक्षा चुनौती सामान्य छैन । भौगोलिक विकटता, साँघुरा सडक, जोखिमयुक्त घुम्ती र कमजोर पूर्वाधारले दुर्घटनाको जोखिम बढाएका छन् । यस्तो अवस्थामा चालकको लापरवाही नियन्त्रणसँगै सडकको अवस्था सुधार्नु पनि उत्तिकै आवश्यक छ । ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने, सवारीको यान्त्रिक अवस्था जाँच्ने र लामो दूरीका सवारीमा दुई चालक भए–नभएको हेर्ने व्यवस्था प्रभावकारी रूपमा लागू हुनुपर्छ । दुर्घटनाको जोखिम भएका स्थानमा नियमित निगरानी र आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सम्बन्धित निकायबीच समन्वय आवश्यक छ । यात्रु सहायता कक्ष स्थापना, भाडादर सार्वजनिक गर्ने व्यवस्था र बढी भाडा असुल्ने तथा टिकटमा ठगी गर्नेमाथि कारबाही गर्ने योजना पनि महत्वपूर्ण छन् । चाडपर्वका बेला यात्रु ठगिने, क्षमताभन्दा बढी यात्रु बोक्ने र छतमा यात्रु राखेर सवारी चलाउने समस्या नियन्त्रण हुनुपर्छ । यात्रुको गुनासो सुन्ने संयन्त्र सक्रिय नहुँदा सहायता कक्षको औचित्य रहँदैन । त्यसैले उजुरीको तत्काल सुनुवाइ र दोषीमाथि कारबाही सुनिश्चित गर्नुपर्छ ।
आर्थिक वर्ष २०८१/८२ मा नौ सय ६८ दुर्घटनामा एक सय ३९ जनाको मृत्यु भएको थियो । त्यसअघिको वर्ष एक हजार ८६ दुर्घटनामा एक सय १२ जनाले ज्यान गुमाएका थिए । यी तथ्यांकले दुर्घटना र मानवीय क्षति नियन्त्रणमा निरन्तर प्रयास आवश्यक रहेको देखाउँछन् । पछिल्लो वर्ष दुर्घटना बढेको छ भने अघिल्लो वर्षको तुलनामा मृतकको संख्या घटेको छ । यसलाई सुधारको पर्याप्त आधार मान्न सकिँदैन । चाडपर्वमा सुरक्षित यात्रा सुनिश्चित गर्नु प्रहरी, यातायात व्यवसायी, चालक र यात्रु सबैको जिम्मेवारी हो । नियम उल्लंघन गर्नेलाई कारबाही, जोखिमयुक्त सडकमा निगरानी, तत्काल उद्धार र जनचेतनालाई एकसाथ अघि बढाउनुपर्छ । दुर्घटना भएपछि उद्धारमा सक्रिय हुनु आवश्यक छ, तर दुर्घटना हुनै नदिनु अझ महत्वपूर्ण छ । ट्राफिक प्रहरीको सुरक्षा योजना सफल हुने आधार चेकजाँचको संख्या होइन, दुर्घटना, मृत्यु र घाइतेको संख्या घट्नु हो । चाडपर्व सकिएपछि योजना कति प्रभावकारी भयो भन्ने मूल्यांकन पनि यही आधारमा हुनुपर्छ ।






