सात जिल्लाको खाद्य स्वच्छता हेर्ने कार्यालयमा ३८ प्रतिशत दरबन्दी रिक्त

ओम शाही
सुर्खेत, २७ असोज ।
कर्णाली प्रदेशका सात जिल्लाको खाद्य स्वच्छता तथा गुणस्तर नियन्त्रणको जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतमा स्वीकृत दरबन्दीको करिब ३८ प्रतिशत पद रिक्त छन् । खाद्य पदार्थको गुणस्तर परीक्षणदेखि बजार अनुगमन र खाद्य उद्योगको नियमनसम्मका काम गर्नुपर्ने कार्यालयमा प्राविधिक जनशक्तिकै अभाव देखिएको छ । कार्यालयले उपलब्ध गराएको जनशक्ति विवरणअनुसार २१ स्वीकृत दरबन्दीमध्ये १३ पदमा कर्मचारी कार्यरत छन् भने आठ पद रिक्त छन् ।
दरबन्दीबाहेक करारमा एक जना सहयोगी कार्यरत छन् । रिक्त दरबन्दीमध्ये खाद्य अनुसन्धान अधिकृतका तीन, प्राविधिक सहायकका तीन, सहायक पोषण अधिकृतका एक र केमिस्टका एक पद छन् । कार्यालयले सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम, डोल्पा, जाजरकोट र हुम्लामा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी काम गर्दै आएको छ ।
यी जिल्लाका खाद्य तथा दाना उद्योग, बजार, होटल, रेस्टुरेन्ट र मिठाई पसलको निरीक्षण तथा अनुगमन गर्नुका साथै खाद्य पदार्थको नमुना परीक्षण, उद्योग स्थापनाका लागि सिफारिस, अनुज्ञापत्र जारी तथा नवीकरण र उपभोक्ताका गुनासा सम्बोधन गर्ने जिम्मेवारी कार्यालयको छ । तर, कार्यक्षेत्र सात जिल्लामा फैलिएको कार्यालयमा प्राविधिक पद नै रिक्त हुँदा नियमित तथा आकस्मिक बजार अनुगमन, खाद्य पदार्थको प्रयोगशाला विश्लेषण र उद्योगको प्राविधिक निरीक्षणमा जनशक्तिले अभावले सेवा दिन कार्यालयलाई हम्मेहम्मे परिरहेको छ ।
दुर्गम जिल्लासम्म पुगेर अनुगमन गर्नुपर्ने भौगोलिक कठिनाइले पनि उपलब्ध जनशक्तिबाट सबै जिम्मेवारी पूरा गर्न चुनौती रहेको कार्यालयका सूचना अधिकारी एवम् खाद्य अनुसन्धान अधिकृत सन्तोष दाहालले जानकारी दिए । उनका अनुसार खाद्य अनुसन्धान अधिकृतका पाँच स्वीकृत दरबन्दीमध्ये दुई जना मात्रै कार्यरत छन् । तीन पद रिक्त हुँदा यस समूहका ६० प्रतिशत पद खाली छन् । त्यस्तै, प्राविधिक सहायकका आठ दरबन्दीमध्ये चार जना कार्यरत र तीन पद रिक्त छ ।
एक जनाको सरुवा भए पनि कार्यालयमा हाजिर भएका छैनन् । सहायक पोषण अधिकृत र केमिस्टका एक–एक पदमा कर्मचारी छैनन् । विशेषगरी केमिस्टको पद रिक्त रहनुले प्रयोगशालामा गरिने खाद्य पदार्थको विश्लेषणसम्बन्धी काममा असर परिरहेको कार्यालयले जनाएको छ ।
कार्यालयको काम बजार अनुगमन र नमुना परीक्षणमा मात्रै सीमित छैन । खाद्य प्रशोधन, पोषण तथा खाद्य स्वच्छतासम्बन्धी तालिम सञ्चालन गर्ने, उपभोक्तालाई सचेत गराउने, खाद्य स्वच्छता दिवस मनाउने, उपभोक्ता भेला तथा अन्तरक्रिया गर्ने र नयाँ खाद्य उत्पादन तथा प्रविधिको विकास र प्रचारप्रसार गर्ने जिम्मेवारीसमेत कार्यालयको छ ।
सीमित प्राविधिक जनशक्तिबाट यी सबै काम सञ्चालन गर्नुपर्ने अवस्थाले नियमित अनुगमन र उपभोक्ता सचेतना कार्यक्रमबीच जनशक्ति व्यवस्थापनको चुनौती कार्यालयले भोगिरहेको छ । कार्यालयमा प्रशासनिक तथा सहयोगी पदमा कर्मचारी कार्यरत रहे पनि खाद्य अनुसन्धान र गुणस्तर परीक्षणसँग सम्बन्धित पदमा रिक्तता देखिएको छ ।
चाडपर्व लक्षित बजार अनुगमनमा तीव्रता
दसैँ, तिहार र छठपर्व लगायतका ठुला चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले बजार अनुगमनलाई व्यापक बनाएको छ । चालु आथिक वर्षको साउन र भदौ महिनामा क्रमश ४४ र ४१ पटक नियमित बजार अनुगमन गरेको कार्यालयले चाडपर्व नजिकिएसँगै २५ असोजसम्म मात्रै चार सय पटक बजार अनुगमन गरेको छ ।
तीन महिनाको अवधिमा कार्यालयले एक लाख ८६ हजार चार ७७ रुपैयाँ बराबरको अखाद्य र म्याद गुर्जेका खाद्य सामग्री नष्ट गरेको छ । यस अवधिमा ४० वटा खाद्यवस्तुको नमुना संकलन गरी उपभोग योग्य भए नभएको परीक्षण गरिएको छ भने ९४ वटा फलफूल तथा तरकारीका नमुनामा विषदी भए नभएको परीक्षण गरिएको कार्यालय प्रमुख श्रीराम न्यौपानेले जानकारी दिए । सोमबार कार्यालयले आयोजना गरेको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि सचेतना मुलक शन्देश प्रचार–प्रसार कार्यक्रममा प्रमुख न्यौपानले सीमित स्रोत र साधनका बीच उत्पादनदेखि उपभोक्ताको हातसम्म पुग्ने खाद्य श्रृंखलालाई स्वच्छ र गुणस्तरीय राख्न हरदम प्रयासरत रहेको बताए ।
नजिकिँदै गएका ठुला चाडपर्व र आगामी १६ मंसिरदेखि कर्णालीमा सुरु हुने १० औँ राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा पत्रकारहरुसँग छलफल गर्न आयोजित कार्यक्रममा न्यौपानेले कार्यालयको सेवा क्षेत्र धेरै हुनु तर जनशक्ति कम हुनुले अपेक्षाकृत नतिजा निकाल्नमा भने चुनौती रहेको बताए । उनका अनुसार हाल कार्यालयबाट तीन प्राविधिक जनशक्तिबाट बजार अनुगमनको कार्य भइरहेको छ । भौगोलिक अवस्था र जनसंख्याको आधारमा जनशक्तिको यो संख्या निकै कम रहेको उनको भनाई छ ।
न्यौपानेले भने, ‘हामीले अन्य समय नियमित बजार अनुगमन गरिरहेका हुन्छौं । अहिले विशेष गरी ठुला चाडपर्वहरु सुरु भएका छन् । यस्तो समयमा उपभोक्ताहरुले हतारमा खाद्यवस्तु खरिद गर्दा म्याद गुज्रेको वा अखाद्यवस्तु मिसिने जोखिम बढी हुने भएकाले अनुगमनलाई तिव्रता दिएका छौं । सीमित स्रोत, साधन र जनशक्तिका बीच बजारलाई स्वच्छ राख्ने अभियानमा कार्यालयले कुनै कसरत बाँकी राखेको छैन ।’ उनले १० औँ राष्ट्रि खेलुकदलाई लक्षित गरेर खाद्य सामग्री उपलब्ध हुने साना तथा ठुला होटल र रेष्टुराको अनुगमन गरी खाद्यन्नमा स्वच्छता र गुणस्तर सुधारको अभियान सुरु गर्न लागेको बताए । जस अनुसार खाद्यका ५० सूचकका आधारमा होटल तथा रेष्टुराको वग्रीकरण गर्ने उनले बताए । कतिपय अवस्थामा साना व्यवसायमा पुग्न नसकिएको उल्लेख गर्दै बजारको प्रभावकारी अनुगनको जिम्मेवारी प्रदेश र स्थानीय तहले पनि गम्भीरताका साथ लिनुपर्ने उनको भनाई छ ।
त्यस्तै, कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी मेहन्द्रकुमार सापकोटाले उत्पादनदेखि उपभोगसम्मको श्रंखलालाई स्वच्छ र गुणस्तरीय राख्न सकेमात्रै स्वस्थ समाजको परिकल्पना पुरा हुने बताए । उनले उत्पादन गर्नेदेखि उपभोग गर्नेले आफ्नो धर्म निभाउन सकेमात्रै खाद्यान्नमा स्वच्छता कायम गराउन सकिने बताए । ‘मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी खाद्यान्नको उत्पादन तथा विक्रिवितरणमा बदमासी गर्नेलाई पटक–पटक मौका दिइनु हुँदैन,’ प्रजिअ सापकोटाले भने, ‘खाद्य स्वच्छताको सवालमा उपभोक्तालाई सचेत गराउनु आवश्यक छ । चाडपर्वका समयमा अखाद्यवस्तुको विक्रिवितरण बढी हुने भएकाले सरोकारवालाहरु सचेत भएर लाग्न जरुरी हुन्छ ।’
प्रशासननले अखाद्य वस्तु प्रयोगमा कडाई गरिरहेको बताउँदै उनले फुड चेनमा स्वच्छता कायम गराउँन आकस्मिकताभन्दा पनि नियमिततामा ध्यान दिनु पर्ने बताए । यस्तै, सुर्खेत उद्योग वाणिज्य संघका उपमहासचिव पूर्णदेव अधिकारीले बजारलाई स्वच्छ राख्न निजी क्षेत्र सदैब तयार रहेको बताए । कतिपय अवस्थामा आवश्यक ज्ञानको अभावले खाद्य स्वच्छतामा समस्या देखा पर्ने गरेको उल्लेख गर्दै उनले खाद्य सामग्री विक्रिवितरण गर्ने व्यवसाय दर्ता अघि नै अभिमूखिकरणको नीति राज्यले लिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष ईश्वरराज अधिकारीले खाद्य स्वच्छतालाई कुनै पर्व वा उत्सवसँग मात्र जोड्न नहुने बताए । हरेक दिन नागरिकलाई स्वच्छ खाद्यान्न उपभोग गर्ने वातावरण बनाउनु पर्ने उल्लेख गर्दै उनले आमउपभोक्तालाई जनचेतना फैलाउन तीनै तह सरकारले आपसी समन्वय र सहकार्यमा काम गर्नुपर्नेमा अधिकारीले जोड दिए ।






