संघीय सरकारको रवैयाले विपन्न नागरिक विस्थापनको जोखिम बढ्यो : मुख्यमन्त्री आचार्य

बाँके ,२९ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले संघीय सरकारको रवैयाका कारण विपन्न नागरिक विस्थापन हुनुपर्ने परिस्थिति निर्माण भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।
मधुवन नगरपालिकामा विभिन्न संघसंस्था तथा राजनीतिक दलका अगुवासँग मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले बहुमतको दम्भ निमुखा नागरिकमाथि देखाइरहेको आरोप लगाउनुभयो । उहाँले यस्तो प्रवृत्तिले अन्ततः कसैको हित नगर्ने बताउनुभयो ।

`अहिलेदेखि नै गम्भीर भएर सोच्नुस, गम्भीर भएर लाग्नुस । कम्तिमा को सही हो, को गलत हो भन्ने कुरा छनोट गरेर अघि बढ्नुस,´ उहाँले भन्नुभयो,`सुकुम्बासीको समस्या समाधान गर्न हामीले काम गर्दै थियौं । कतिपयले पुर्जा पाइसक्नुभएको थियो भने कतिपय पाउने प्रक्रियामा हुनुहुन्थ्यो । तर ‘नगर्ने’ भन्ने परिभाषामा राखियो ।´
मुख्यमन्त्री आचार्यले मुलुकमा यस्तो परिस्थिति आउनेबारे राजनीतिक दलहरूले पहिले नै संकेत गरेको उल्लेख गर्नुभयो ।`यी कुराहरू जनतामाझ कति राख्न सक्यौं, कति सकेनौं । तर सरकारले लोकतान्त्रिक आन्दोलनलाई कमजोर बनाउने काम गर्यो,´ उहाँले भन्नुभयो ।
उहाँले भूमिहीन सुकुम्बासीमाथि पहिलो प्रहार गरिएको दाबी गर्दै अव्यवस्थित बसोबासको समस्यालाई राज्यले गम्भीर रूपमा समाधान गर्नुको साटो घरवारविहीन बनाउने काम सुरु गरेकाे बताउनुभयो ।

संघीय सरकारले हचुवाको भरमा काम गर्न नहुने भन्दै मुख्यमन्त्री आचार्यले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानमा संवेदनशील हुन आग्रह गर्नुभयो ।






