३८ वर्षपछि पूरा हुने चरणमा बबई सिँचाइ आयोजना, दुई वर्षभित्र पश्चिम मूल नहर सक्ने लक्ष्य

बर्दिया ,२४ असोज ।
निर्माण सुरु भएको ३८ वर्षपछि राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना सम्पन्न हुने चरणमा पुगेको छ। लामो समयसम्म बजेट अभाव, प्राकृतिक विपद् र विभिन्न प्राविधिक तथा प्रशासनिक समस्याका कारण सुस्त रहेको आयोजनाको पश्चिम मूल नहर निर्माणले पछिल्लो समय गति लिएसँगै बाँकी काम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आयोजना पूरा भएपछि बाँके र बर्दियाका ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने अपेक्षा गरिएको छ।

आयोजनाका अनुसार हालसम्म मूल, शाखा तथा प्रशाखा नहर निर्माणको ८१ दशमलव ९७ प्रतिशत काम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८४/०८५ भित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित पश्चिम मूल नहरको बाँकी कामलाई तीव्रता दिइएको हो। पछिल्लो छ वर्षयता आवश्यकताअनुसार बजेट निकासा हुन थालेपछि निर्माणले गति लिएको आयोजनाले जनाएको छ।

आयोजनाका निर्देशक गोपाल शर्माका अनुसार पूर्वी मूल नहर निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम मूल नहरको अन्तिम खण्डको काम भइरहेको छ। पश्चिमतर्फ कुल ४१ किलोमिटर मूल नहरमध्ये ४ दशमलव ४ किलोमिटर निर्माण हुन बाँकी रहेको उहाँले बताउनुभयो।

‘पूर्वी मूल नहर ३४ दशमलव ५ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ। पश्चिम मूल नहरको बाँकी खण्डको काम पनि अघि बढेको छ,’ निर्देशक शर्माले भन्नुभयो, ‘आवश्यक जग्गा अधिग्रहण गरी मुआब्जा वितरणको प्रक्रिया पूरा भएपछि निर्माणलाई तीव्रता दिइएको छ।’

बबई सिँचाइ आयोजनाको हेडबक्स बर्दियाको परेवाओडारस्थित महेन्द्र राजमार्ग क्षेत्रमा रहेको छ। त्यहाँबाट पश्चिमतर्फ गुलरियाको रत्नापुरसम्म मूल नहर निर्माण गरी सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ।

आयोजनाको संशोधित गुरुयोजनाअनुसार कुल लागत २६ अर्ब ६९ करोड ३३ लाख १८ हजार रुपैयाँ रहेको छ। हालसम्म नहर निर्माणमा १७ अर्ब ४३ करोड ४० लाख ६२ हजार रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ।

सिँचाइ सुविधा पुग्ने आशामा किसान

वर्षौँदेखि पर्याप्त सिँचाइ सुविधाको अभाव झेल्दै आएका बर्दियाका किसान मूल नहर निर्माणले गति लिएपछि उत्साहित भएका छन्। विशेषगरी गुलरिया नगरपालिका–१० लगायत पश्चिमी क्षेत्रका किसानले नहर निर्माण सम्पन्न भएपछि खेतीपातीमा सहजता आउने अपेक्षा गरेका छन्।

गुलरिया नगरपालिकाको मथुराहरीद्वार क्षेत्रका स्थानीय राजेन्द्र लोधका अनुसार पर्याप्त पानी नहुँदा किसानले आकाशे वर्षा र पम्पिङ सेटको भरमा खेती गर्नुपर्ने बाध्यता छ। नहर निर्माण सम्पन्न भएपछि धान, गहुँ, तोरीलगायतका बालीको उत्पादन बढ्ने विश्वास किसानमा रहेको उहाँले बताउनुभयो।

‘वर्षौँदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका छौँ। समयमा पानी नपाउँदा उत्पादनमा असर पर्ने गरेको छ,’ लोधले भन्नुभयो, ‘नहर बनेपछि नियमित सिँचाइ सुविधा पाइने र अन्नबालीको उत्पादन बढ्ने आशा गरेका छौँ।’

धान, गहुँ र तोरी उत्पादनका लागि उर्वर मानिने बर्दियाको यस क्षेत्रमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा किसानले अपेक्षित उत्पादन लिन सकेका छैनन्। सिँचाइ सुविधा विस्तार भएपछि खेतीयोग्य जमिनको उपयोग बढ्नुका साथै कृषि उत्पादन र किसानको आम्दानीमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

आयोजनाका अनुसार हालसम्म २८ हजार ५३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। पूर्वी मूल नहरबाट सिँचाइ विस्तार भइसकेको अवस्थामा पश्चिम मूल नहर निर्माण सम्पन्न भएपछि थप क्षेत्रमा पानी पुर्‍याउन सहज हुनेछ।

बर्दियामा पूर्वतर्फ १९ हजार र पश्चिमतर्फ २१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको छ। समग्रमा भेरी–बबई नदी डाइभर्सन आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

३८ वर्षमा आयोजनाको यात्रा

बबई सिँचाइ आयोजना विसं २०४५ मा सुरु भएको हो। सुरुमा महेन्द्र राजमार्गमा पुलसहितको बाँध निर्माण र ५ दशमलव ५ किलोमिटर मूल नहर निर्माण गर्ने लक्ष्य राखिएको थियो। सोहीअनुसार २०४९ सालमा पुलसहितको बाँध र २०५० सालमा ५ दशमलव ५ किलोमिटर मूल नहर निर्माण सम्पन्न गरिएको थियो। त्यसबेला करिब चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइएको थियो।

आयोजनाकी वरिष्ठ डिभिजनल इन्जिनियर जिज्ञासा राईका अनुसार प्रारम्भिक लक्ष्य पाँच वर्षभित्रै पूरा भए पनि त्यसपछि आयोजनाको कार्यक्षेत्र र सिँचित क्षेत्र विस्तार हुँदै गएको हो।

‘राष्ट्रिय अभियानका रूपमा २०५१ सालमा पूर्वी मूल नहर ३४ दशमलव ५ किलोमिटर निर्माण गर्ने लक्ष्य थपिएको थियो,’ उहाँले भन्नुभयो, ‘त्यसपछि सिँचित क्षेत्र विस्तार गर्दै पूर्वी मूल नहर निर्माण सम्पन्न भएपछि पश्चिम मूल नहरको काम अघि बढाइएको हो।’

आयोजनाको लक्ष्य र कार्यक्षेत्र विस्तार हुँदै जाँदा निर्माण अवधि पनि लम्बिएको प्राविधिकहरूको भनाइ छ। पर्याप्त बजेट समयमै निकासा नहुनु, दसवर्षे सशस्त्र द्वन्द्व, विसं २०७१ मा आएको भीषण बाढीबाट संरचनामा क्षति पुग्नु र कोभिड–१९ महामारीका कारण निर्माण प्रभावित हुनु पनि ढिलाइका प्रमुख कारण हुन्।

आयोजना सुरु भएयता परेवाओडारमा हेडबक्स, साइफन, पूर्वी मूल नहर तथा शाखा–प्रशाखा नहर निर्माण गरिएका छन्। आयोजनाअन्तर्गत हालसम्म ३३७ किलोमिटर शाखा तथा प्रशाखा नहर निर्माण भइसकेको छ। पूर्वी मूल नहरको निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका किसानले सिँचाइ सुविधा पाउन थालेका छन्।

गत आर्थिक वर्षमा ३९३ दशमलव ९५ हेक्टर जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गरिएको र त्यसपछि पश्चिम मूल नहर निर्माणको काम अघि बढाइएको आयोजनाले जनाएको छ। गुलरिया नगरपालिका–१० सम्म नहर निर्माणको काम अघि बढिसकेको छ।

भेरी–बबई डाइभर्सनबाट बाह्रै महिना सिँचाइको लक्ष्य

बबई सिँचाइ आयोजनाबाट अपेक्षित परिणाम हासिल गर्न भेरी–बबई नदी डाइभर्सन आयोजना पनि महत्वपूर्ण मानिएको छ। भेरी नदीको पानी सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको सिँचाइ प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

भेरी–बबई डाइभर्सन आयोजनाको काम आर्थिक वर्ष २०८५/०८६ को असारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। डाइभर्सन तथा जलविद्युत् निर्माणका लागि नेपाली र चिनियाँ कम्पनीले ठेक्का लिएका छन्। तर, चिनियाँ ठेकेदार कम्पनीले काम छाडेर गएपछि निर्माणमा ढिलाइ भएको आयोजनाका निर्देशक हरिदत्त पौडेलले बताउनुभयो।

‘दुवै ठेकेदारबाट हुनुपर्ने काम एउटै कम्पनीबाट मात्र सम्भव नहुने भएकाले चिनियाँ कम्पनीलाई काममा फर्काउन विभागमार्फत पटक–पटक पत्राचार र कूटनीतिक पहल गरिएको छ,’ उहाँले भन्नुभयो, ‘चिनियाँ कम्पनी नफर्किए पनि निर्धारित लक्ष्यभित्र आयोजना सम्पन्न गर्ने गरी काम अघि बढाउने प्रयासमा छौँ।’

निर्देशक पौडेलका अनुसार भेरी–बबई डाइभर्सन आयोजनाका लागि बजेट पर्याप्त रहेकाले निर्माणको काम नरोक्ने गरी व्यवस्थापन गरिएको छ। आयोजना सम्पन्न भएपछि भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियाका कृषियोग्य जमिनमा नियमित सिँचाइ सुविधा पुर्‍याउन सकिने उहाँले बताउनुभयो।

बबई सिँचाइ आयोजनाको पश्चिम मूल नहर निर्माण र भेरी–बबई नदी डाइभर्सनको काम एकअर्कासँग जोडिएका छन्। मूल नहर निर्माण सम्पन्न भए पनि पर्याप्त पानीको स्रोत सुनिश्चित हुनुपर्ने भएकाले दुवै आयोजनाको समयमै सम्पन्नता महत्वपूर्ण देखिएको छ।

वर्षौँदेखि सिँचाइ अभाव झेलिरहेका बाँके र बर्दियाका किसानका लागि यी आयोजना कृषि उत्पादन वृद्धि, खेतीयोग्य जमिनको पूर्ण उपयोग र खाद्य सुरक्षासँग जोडिएका छन्। अब निर्धारित समयमै निर्माण सम्पन्न गरी सिँचाइ सुविधा किसानको खेतसम्म पुर्‍याउन सके मात्रै ३८ वर्षअघि सुरु गरिएको आयोजनाको उद्देश्य पूर्ण रूपमा हासिल हुनेछ।

३८ वर्षपछि पूरा हुने चरणमा बबई सिँचाइ आयोजना, दुई वर्षभित्र पश्चिम मूल नहर सक्ने लक्ष्य

पाक्ने बेलाको धानमा मरुवा र खैरो थोप्ले

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!