पाक्ने बेलाको धानमा मरुवा र खैरो थोप्ले रोगको संक्रमण, बाँकेका किसान चिन्तित

बाँके ,२४ असोज ।
बाँकेमा पाक्न लागेको धानबालीमा मरुवा र खैरो थोप्ले रोगको संक्रमण देखिएपछि किसान चिन्तित भएका छन्। धान भित्र्याउने समय नजिकिँदै गर्दा बोट सुक्ने र पात पहेँलिने समस्या देखिएपछि यस वर्ष अपेक्षित उत्पादन नहुने हो कि भन्ने चिन्ता किसानमा बढेको छ।
जिल्लाका नेपालगन्ज, डुडुवा र जानकीलगायतका स्थानीय तहमा धानबालीमा रोगको संक्रमण देखिएको हो। केही दिनअघि परेको भारी वर्षा र हावाहुरीका कारण खेतमा धान ढलेपछि अहिले बोट सुक्ने तथा पातमा विभिन्न रङका थोप्ला देखिने समस्या देखिएको किसानले बताएका छन्।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार जिल्लाका विभिन्न स्थानबाट धानमा रोग लागेर बोट सुक्न थालेको गुनासो आएको छ। खेतको निरीक्षण गर्दा केही स्थानमा मरुवा र केहीमा खैरो थोप्ले रोगको संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार भारी वर्षा र हावाहुरीले पाक्न लागेको धान ढलेको थियो। त्यसपछि चर्को घाम लागेसँगै केही खेतमा रोगको संक्रमण देखिएको छ। रोगको पहिचान, रोकथाम तथा व्यवस्थापनका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीको खेतमा पनि धानबालीमा रोगको संक्रमण देखिएको छ। धानका पातमा खैरो तथा हरियो रङका पानीले भिजेजस्ता थोप्ला देखिने र संक्रमण बढ्दै जाँदा बोट सुक्ने समस्या देखिएको उहाँले बताउनुभयो।
यस वर्ष धान उत्पादन राम्रो हुने अपेक्षा गरेका किसान बुढाथोकी पाक्ने बेलामा रोग देखिएपछि निराश हुनुभएको छ। धानबालीमा देखिएको समस्या समाधानका लागि वडा कार्यालय र गाउँपालिकाको कृषि शाखामा जानकारी गराउँदासमेत रोकथामका लागि आवश्यक पहल नभएको उहाँको गुनासो छ।
नेपालगन्ज उपमहानगरपालिका–१९, सुइयागाउँका किसान ललवा माहुतको धानबालीमा पनि यस्तै समस्या देखिएको छ। धानमा दाना लाग्ने समयमा परेको भारी वर्षा र हावाहुरीले बाली ढालेको र अहिले बोट पहेँलिँदै सुक्न थालेको उहाँले बताउनुभयो। धान पाक्ने बेलामा यस्तो समस्या देखिएपछि उत्पादन घट्ने चिन्ताले सताएको उहाँको भनाइ छ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शर्माले जिल्लाका केही धानखेतमा रोगको संक्रमण देखिएको जानकारी प्राप्त भए पनि त्यसबाट भएको क्षतिको यकिन विवरण आइनसकेको बताउनुभयो। रोगको अवस्था, प्रभावित क्षेत्र र क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो।
धानबालीमा रोगको संक्रमण देखिएका बेला समयमै पहिचान र उचित व्यवस्थापन हुन नसके उत्पादनमा असर पर्न सक्ने भएकाले किसानले प्राविधिक परामर्शअनुसार रोग नियन्त्रणका उपाय अपनाउनुपर्ने कृषि प्राविधिकहरूको सुझाव छ। पाक्न लागेको धानमा देखिएको समस्यालाई समयमै सम्बोधन गर्न सके सम्भावित क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धानखेती हुँदै आएको छ। यस वर्ष जिल्लामा ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको केन्द्रले जनाएको छ। जिल्लाको प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानमा पाक्ने समयमा रोगको संक्रमण देखिएपछि किसानको उत्पादन र आम्दानीमा पर्न सक्ने असरप्रति चिन्ता बढेको छ।





