जाडो बढेसँगै बाँकेमा गम्भीर रगत अभाव, बिरामी भन्छन्– “रगत नपाएर ज्यानकै डर”
बाँके ,२१ पुस।
जाडो अत्यधिक बढेसँगै बाँके जिल्लाका विभिन्न अस्पतालमा पुनः गम्भीर रगत अभाव देखिएको छ। नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले रगत अभाव भएको जनाउँदै रक्तदाताहरू तथा संघ–संस्थालाई रक्तदान गर्न आग्रह गरेको छ।
प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीका अनुसार चिसो मौसममा रक्तदान गर्नेको संख्या निकै कम हुने भएकाले रगतको अभाव बढ्दै गएको हो। “जाडोमा नियमित रक्तदान कार्यक्रम घट्छन्, त्यसैले रगत संकलन न्यून भएको छ,” उहाँले भन्नुभयो। केही संघ–संस्थाले केन्द्रको आग्रहलाई स्वीकार गरी रक्तदान गरे पनि मागअनुसार आपूर्ति हुन नसकेको उहाँको भनाइ छ।
रगत अभावको प्रत्यक्ष असर बिरामीहरूमा देखिन थालेको छ। भेरी अस्पताल नेपालगन्जमा उपचाररत राप्तीसोनारी गाउँपालिकाका एक बिरामीका आफन्तले भन्नुभयो, “डाक्टरले तत्काल रगत चाहिन्छ भन्नुभएको छ, तर ब्लड बैंकमा छैन भनिन्छ। रगत नपाएर उपचार नै रोकिएको छ, ज्यानकै डर भइरहेको छ।”
त्यस्तै, कोहलपुर शिक्षण अस्पतालमा उपचार गराइरहेकी एक महिलाले पीडा पोख्दै भन्नुभयो, “दुई दिनदेखि रगत खोज्दै हिँडिरहेका छौं। पैसा भएर पनि रगत नपाउँदा कति गाह्रो हुँदो रहेछ भन्ने अहिले महसुस भयो।”
प्रमुख रेग्मीका अनुसार बाँकेमा भेरी अस्पताल नेपालगन्ज, शिक्षण अस्पताल कोहलपुर तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा प्रादेशिक रक्तसञ्चार केन्द्रमार्फत रगत संकलन र वितरण हुँदै आएको छ। सङ्कलित रगतमध्ये अधिकांश भेरी अस्पताल र सञ्जीवनी अस्पताल नेपालगन्ज तथा कोहलपुरको शिक्षण अस्पतालमा खपत हुने गरेको छ।
सङ्कलनभन्दा माग सधैं बढी हुने भएकाले रगतको अभाव निरन्तर देखिँदै आएको केन्द्रले जनाएको छ। “पछिल्लो समयमा रक्तदान गर्नेको संख्या केही बढे पनि माग अत्यधिक भएकाले पुर्याउन कठिन भइरहेको छ,” प्रमुख रेग्मीले बताउनुभयो। उहाँका अनुसार नेपालगन्जमा दैनिक ६० देखि ७० पिन्ट, कोहलपुरमा १५ देखि २५ पिन्ट र खजुरामा ८ देखि १२ पिन्टसम्म रगतको माग हुने गरेको छ। चिसो मौसममा संकलन घट्दा समस्या झनै चर्किएको उहाँको भनाइ छ।
यही अवस्थालाई ध्यानमा राख्दै प्रादेशिक रक्तसञ्चार केन्द्रले विभिन्न संघ–संस्था, युवाहरू र सर्वसाधारणसँग निरन्तर रक्तदानका लागि अपिल गर्दै आएको छ। रगत अभाव कम गर्न रक्तदान अभियानलाई अझ तीव्र बनाउने तयारीसमेत गरिएको केन्द्रले जनाएको छ।
प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका अनुसार गत आर्थिक वर्षमा केन्द्रमा ११ हजार ८ पिन्ट रगत संकलन भएको थियो भने १५ हजार ९ सय पिन्ट रगत विभिन्न बिरामीलाई उपलब्ध गराइएको थियो। संकलनभन्दा वितरण धेरै भएकाले रगत अभाव दीर्घकालीन चुनौती बन्दै गएको केन्द्रको निष्कर्ष छ।





