वीरेन्द्रनगरमा अत्याधिक वर्षा

सुर्खेत, १४ भदौ ।
पछिल्ला केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ । यसक्रममा पछिल्ला २४ घण्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव तीन मिलिमिटर अर्थात् मुसल्धारे वर्षा भएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिम क्षेत्रको निश्चित केन्द्रमा बढी, तर सीमित क्षेत्रमा खण्डित वर्षा भएको बताए ।
विभागका अनुसार पर्वतको पञ्चासेमा पनि १७९ दशमलव तीन मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा मापन हो । यस्तै, बाँकेमा पनि १४६ दशमलव तीन मिलिमिटर वर्षा भएको । त्यसैगरी दाङमा १३८, दार्चुलामा १०७, सिन्धुपाल्चोकमा १०५ मिलिमिटर वर्षा भएको छ भने १२ भन्दा बढी स्टेशनमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ ।
धेरै मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ । मौसमविद् मानन्धरले आज दिउँसो र साँझसम्म वर्षा अलि बढी हुने र भोलि भने केही कम हुने बताए । स्थानीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा वर्षा भएको र पूर्वमा भने बङ्गालको खाडीबाट आएको प्रणालीको असर भएको विभागले जनाएको छ ।


