सम्पादकीय : नसुध्रिएको कर्णालीको अर्थतन्त्र

कर्णाली प्रदेशको चालु आर्थिक वर्ष २०८१/०८२ को समग्र गार्हस्थ्य उत्पादन करिब दुई खर्ब ५६ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक भएको छ । समग्र देशको चालु आर्थिक बर्षमा कुल गार्हस्थ्य उत्पादन झण्डै ६१ खर्ब सात अर्ब पुग्ने अनुमान रहँदा कर्णालीको राष्ट्रिय आयमा योगदान ४.१९ प्रतिशत मात्र छ ।
यो अघिल्लो वर्षको ४.२९ प्रतिशतको तुलनामा सानो हो । यसले प्रदेशको कुल उत्पादनमा सुधार देखिएपनि राष्ट्रिय र अन्य प्रदेशको आयको तुलनामा कमजोर हो । कर्णालीको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान कृषि, वन तथा मत्स्य क्षेत्रबाट आइरहेको छ । यसले प्रदेशको आर्थिक संरचना अझै परम्परागत र जीविकोपार्जनमुखी रहेको पुष्टि हुन्छ ।
अन्य प्रदेशको तुलनामा कर्णालीमा औद्योगिक विकास, प्रविधि, व्यवसायिक कृषि, सेवा क्षेत्रको विस्तार जस्ता उत्पादन तथा उत्पादकत्व बढाउने आर्थिक प्रणालीहरू कमजोर छन् । त्यस्तै, खानी तथा उत्खनन् क्षेत्रको योगदान एक प्रतिशतमुनि सीमित छ, जुन स्रोतसाधनमा सम्पन्न देखिने भूगोलको लागि विडम्बनापूर्ण हो ।
कर्णालीको यातायात तथा भण्डारण क्षेत्रले ग्रार्र्हस्थ उत्पादनमा सकारात्मक योगदान गरेका छन् । सडक सञ्जाल विस्तार, भण्डारण क्षमताको विकास र यातायात सुलभताले कर्णालीको आन्तरिक बजारलाई चलायमान बनाउन सक्ने ठुलो सम्भावना रहेको तथ्यांकले देखाउँछ । कर्णालीमा स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता मानव विकासका सूचकहरूमा अझै सन्तोषजनक सुधार आउन सकेका छैन ।
आर्थिक वृद्धिको औसत दरले मात्रै जनताको वास्तविक जीवनस्तर मापन गर्न सकिँदैन । जबसम्म त्यो बृद्धि समान रूपमा सबै वर्ग र क्षेत्रसम्म पुग्दैन । कर्णालीलाई सबैखाले नीतिगत प्राथमिकतामा राखेर संरचनागत सुधार, स्थानीय उत्पादनको प्रवद्र्धन, मानव संसोधन विकास र लगानी प्रोत्साहन गर्ने खालका नीतिहरू अवलम्बन गर्न ढिला भइरहेको छ ।
चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको कुलस्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको बृद्धिदर ४.७४ प्रतिशत रहने अनुमान छ । जुन अघिल्लो बर्षको ३.२६ प्रतिशतभन्दा केही राम्रो सुधारिएको अंक हो । यद्यपीले यो बृद्धिले कर्णालीको प्रणाली सुधार भएका यथेष्ट आधारहरु भने छैनन् । कर्णालीमा सडक, बिजुली जस्ता प्रमुख पूर्वाधारको अभावले ठुला कलकारखाना, उद्योगधन्दा सञ्चालन नभएको अवस्था छ ।
अर्कोतर्फ निजी क्षेत्रलाई आकर्षित गर्ने खालको नीतिगत व्यवस्था नहुँदा कर्णालीमा ठुला लगानीकर्ता सहजै आउन सक्ने अवस्था छैन । जसका कारण वर्षौदेखि पहिचान भएका खानीहरु लगानीको अभावमा प्रतिफलविहिन छन् । कर्णालीको अर्थतन्त्र सुधारको अर्को अचुक उपाय यहाँको जडिबुटी र फलफुल हुन । कर्णालीमा पाइने जडिबुटीको प्रशोधनसँगै यहाँ पाइने स्याउ, सुन्तला लगायतका फलफूल निर्यात गर्न सके अर्थतन्त्रको ठुलो हिस्सा ओगट्नेमा दुई मत छैन ।
यहाँको कृषि क्षेत्रपनि आधुनिकिकरणको पर्खाइमा छ । कर्णाली उर्जा समृद्धिमा समेत देशकै अग्र स्थानमा छ । बिडम्बना कर्णालीका नदी तथा खोलामा पहिचान भएका आयोजनाहरु पनि लगानीकै पर्खाइमा छन् । आयतका सबै ढोका बन्द हुँदा सबल अर्थतन्त्रको कदापी कल्पना गर्न सकिँदैन । कर्णालीको भुगोल देखाएर संघीय सरकारले लगानी बढाउन नजरअन्दाज गरिहेको छ ।
प्रदेश सरकारले पनि खासै रुपान्तरणकारी योजना ल्याउन सकेको छैन । जनताको नजिकका सरकारहरु पनि भिजनविहिन जस्ता छन् । जबसम्म कर्णालीको अथाह आन्तरिक सम्भावनाको उजागर भई यसको सहि सदुपयोग गरिँदैन तबसम्म कर्णालीको समृद्धि सम्भव छैन । अबपनि कर्णालीको भुगोल देखाएर उम्कने छुट कसैलाई छैन । कर्णालीको वास्तविक अवस्था पहिचान हुनेगरी सरकारले आफ्ना नीति तथा कार्यक्रम केन्द्रित गरी अघि बढ्ने हो भने देशकै अर्थतन्त्रमा कर्णालीले ठुलो योगदान पुरयाउनेमा दुई मत छैन ।






