सुर्खेतमा ६२ हजार सवारी कारवाहीमा पर्दा चार करोड बढी राजश्व संकलन

गीता थापा
सुर्खेत, १४ जेठ ।
सुर्खेतमा पछिल्लो समय सवारी साधन कारवाहीबाट राजश्व संकलनमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार पछिल्लो तीन वर्षमा सवारी कारवाहीबाट चार करोड ८० लाख ३२ हजार आठ सय ३३ रुपैयाँ राजश्व संकलन भएको हो ।
यस अवधिमा सुर्खेत जिल्लाभर ६२ हजार बढी सवारीले ट्राफिक नियम उल्लंघन गरी जरिवानामा परेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा मात्र १२ हजार पाँच सय १५ सवारी कारवाहीमा परेका छन् । उक्त कारवाहीबाट एक करोड ६ लाख ५८ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार आठ सय ४२ वटा सवारी साधनलाई कारवाही गरी एक करोड १५ लाख ९९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरीले बताएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लामा सवारी कारवाहीबाट प्रत्यक वर्ष एक करोड बढी नै राजश्व संकलन हुने गरेको छ । दिन प्रतिदिन सवारी चाप बढेसँगै ट्राफिक नियमको बेवास्ता गर्नेहरु पनि बढेका छन् । प्रहरीले सवारी कारवाहीबाट वर्षेनी संकलन गर्ने राजश्वले सडकमा सवारी नियमको उल्लंघन बढ्दै गएको देखिन्छ ।
विभिन्न समयमा ट्राफिक नियमको उल्लघंन गर्नेलाई कारवाही गर्दा उक्त राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ट्राफिक नियम उल्लंघनमा मालवाहक, निजी र यात्रुवाहक सवारी साधन लगायतका साना र ठूला सवारी साधन कारवाहीमा परेका हुन् ।

सडकमा लापरवाही तरिकाले सवारी चलाउने, लेन क्रस गर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारीलाई ट्राफिक प्रहरीले कारवाही गर्ने गरेको छ । यस्तै, आर्थिक वर्ष २०७९/०८० मा १९ हजार ६ सय ३१ सवारी साधनहरु कारवाहीमा परेका थिए । उक्त कारवाहीबाट एक करोड ४७ लाख ६३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १४ हजार सात सय दुई सवारी साधनलाई कारवाही गर्दा एक करोड नौ लाख ११ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले सबैभन्दा धेरै कागजपत्र नभएका सवारी कारवाहीमा पर्ने गरेको बताए ।
उनले मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएका लगायतका सवारी कारवाही गरेबापत उक्त रकम राजश्व संकलन भएको बताए ।
त्यस्तै, नम्बर प्लेट नभएका, हेल्मेट नलगाएका र कागजात नविकरण नगरेका सवारीलाई पनि कारवाही गरिएको उनको भनाई छ । ट्राफिक नियमको जानकारी हुँदाहुँदै पनि त्यसलाई नियतवश पालना नगर्दा सवारी दुर्घटनासमेत निम्तिने गरेको प्रहरी निरीक्षक सुनार बताउँछन् ।
उनले राजश्व धेरै उठ्नुले ट्राफिक नियमको बढी उल्लघंन भएको देखाउने बताए । ‘प्रहरीको सक्रियताले पनि कारबाहीको संख्या बढेको हो,’ उनले भने, ‘सवारी चाप बढेसँगै सवारी नियम पालना नगर्नेहरु पनि बढिरहेका छन् ।’ उनले थपे, ‘ट्राफिकले जरिवाना मात्र गर्दैन । सकभर कारवाही नहोस् भन्ने चाहन्छ । यसका लागि सचेतना अभियान, सवारी नियम उल्लंघन गर्नेलाई नियमित अनिवार्य कक्षा संचालन लगायतका जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गर्दै आएका छौं ।’
तथापि दैनिक रूपमा सवारी नियम उल्लंघनमा सवारी चालक फेला पर्ने गरेका छन् । ट्राफिक प्रहरीले सवारी चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्नेलाई कारवाही तथा जरिवानाबाट राजश्व संकलन गर्दै आएको छ । उनका अनुसार पहिलो पटक कारवाहीमा पर्ने सवारीलाई पाँच सय रुपैयाँ जरिवाना गर्ने गरिएको छ । त्यस्तै दोस्रो पटक एक हजार र तेस्रो पटक कारवाहीमा परे एक हजार पाँच सय रुपैयाँ सम्म जरिवाना गर्ने गरिएको प्रहरी निरिक्षक सुनारले जानकारी दिए ।
उनले आम नागरिकले ट्राफिक नियमको पालन गरे मात्र पनि सवारी दुर्घटना, सवारी कारवाहीलाई कम गर्न सकिने बताए । जनचेतनामा वृद्धि, सडक संरचनाको सुधार, अपाङ्गमैत्री सडक, जेब्रा क्रसिङको प्रयोग गर्न सके सवारी दुर्घना र सवारी कारवाही नै नहुने उनको भनाई छ ।
त्यस्तै, मादप पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकलाई पनि कारवाही गरिएको छ । चालु आर्थिक वर्षको १० महिनामा मादप पदार्थ सेवन गरी सवारी चलाउने एक हजार ७८ जना कारवाहीमा परेका छन् । प्रहरी निरीक्षक सुनारले मापसे गरी सवारी चलाउने चालकलाई ट्राफिक नियम सम्बन्धी कक्षा दिएर मात्र छोड्ने गरिएको बताए ।
त्यसका लागि हरेक विहिवार कक्षा सञ्चालन हुँदै आइरहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कसूर अनुसार पाँच सय रूपैयाँदेखि ट्राफिक प्रहरीले कारबाही गर्न सक्ने व्यवस्था रहेको छ ।






