आफ्नै टाउकोमा गोली हानेका प्रहरी जवान विष्टको मृत्यु

कन्चनपुर । आफ्नै टाउकोमा गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको मृत्यु भएको छ ।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत विष्टले आफैँमाथि गोली प्रहार गरेका थिए । प्रहरी जवान विष्टको उपचारका क्रममा कैलालीको निःशर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए । ९ माघको राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए ।
गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि विष्टलाई कैलालीको निःशर्ग अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।






