जाजरकोटको भूकम्प विनास, संघर्ष, आशा र रातको त्रास


जाजरकोट । १७ कार्तिक २०८० शुक्रबारको रात, जाजरकोटको सुन्दर पहाडी इलाकामा सितल बतास बगिरहेको थियो । आकाशमा ताराहरू चम्किरहेका थिए । बस्तीहरूमा सुत्न गएको शान्ति थियो । बच्चाहरू मस्त निद्रामा थिए, बुढापाकाहरूले विगतका दिन सम्झेर निद्राको ताल समात्दै थिए । यो रात अरू सामान्य रातझैँ लाग्थ्यो ।
तर, रातको ११ बजेर ४७ मिनेटमा पृथ्वी एकाएक थर्कियो । पहिलो धक्का आउनासाथ घरका भित्ताहरू चर्किए । मानिसहरू झस्केर उठे । “भूकम्प आयो ” को चित्कार सुनिँदै थियो । काठ ढुंगा र माटोको घरहरू एकपछि अर्को गर्दै भत्किन थालेँ । जाजरकोट र आसपासका गाउँहरूमा मानौँ मृत्युको छायाँ फैलिएको थियो ।
बच्चाहरू रोइरहेका थिए । आमा–बाबुहरू उनीहरूलाई बाहिर तान्दै थिए । कतै घर भत्किएर कोही दबिए, कतै झ्याल र ढोकाबाट निस्कन नसकेर मानिसहरू चिच्याइरहेका थिए । अन्धकारले त्रासलाई झन् गहिरो बनाएको थियो । गाउँको बीचमा एक वृद्धा, जो हिँड्न सक्दिन थिइन्, आफ्ना छोराछोरीलाई खोज्दै चिच्याइरहेकी थिइन् । “छोरा ! नाति ! सबै खै ?”
एकाएक भागदौड चलिरहेको थियो कतै के खबर कतै के खबर राम्रो खबर कतै सुनिँदैन थियो ।
पहिलो विहानी भूकम्पको धक्का सकिएपछि मानिसहरू गाउँको बीचमा जम्मा भए । कसैलाई लागेको थियो, यो अन्तिम प्रहार हो । तर, मध्यरातभर धक्का चलिरह्यो । भुइँ फेरि थर्किँदा, डरले कोही रोए, कोही भगवानलाई पुकार्न थाले ।
विहान ४ बजेसम्म, बिस्तारै अँध्यारो पाखा उज्यालिन थाल्यो । मानिसहरू आफ्ना घरहरूको भग्नावशेषमा हेर्न थाले । सबैभन्दा मार्मिक दृश्य त नलगाड नगरपालिकाको थियो, जहाँ उपमेयर सरिता सिंहको निधन भएको थियो । गाउँभरि यो खबर छिट्टै फैलियो ।
“उनी हाम्रो साहारा थिइन् । अब कसले हाम्रा समस्या सुन्छ ?” एक वृद्धाले आक्रोशपूर्ण स्वरमा भनिन् ।
जाजरकोट र रुकुम पश्चिमका विभिन्न गाउँहरूमा स्थानीय रेडियोबाट मृत्युको खबरहरू प्रसारण हुन थाले । बिहानसम्म मृतकको सङ्ख्या ५० नाघिसकेको थियो ।
जाजरकोट अस्पतालका एक नर्स कविता थापा, जसले थुप्रै रात निद्राबिना काम गरेकी थिइन्, थकित तर दृढ थिइन् । “सैयौं घाइते ल्याइएका छन् । हामीसँग औषधि पनि कम छ, उपकरण पनि छैन । केही गर्नुपर्छ,” उनले स्थानीय प्रशासनसँग माग गरिन् ।
भूकम्पसँगै आएको सुख्खा पहिरोले मुख्य बाटाहरू अवरुद्ध गर्यो । जाजरकोट रिम्ना द्रिगे गाउँ जहाँ तीनजना बालबालिकाहरू भत्किएको घरभित्र पुरिएका थिए, उद्धार टिमको ध्यानको केन्द्रमा थियो । उनीहरूलाई निकाल्न दुई घण्टा लाग्यो ।
“बाँच्न सकिन भनेर सोचेकी थिएँ,” बालबालिकाकी आमाले भनिन् । उनी आँसु पुछ्दै थिइन् । उनका छिमेकीहरूले उनलाई अँगालो हाले ।
तर, उद्धारकार्य यत्तिकै सजिलो थिएन । ठूला चट्टानहरूले बाटाहरू बन्द गरेको थियो । स्थानीय युवाहरूको समूहले हातले खन्ने काम गरे ।
“यस्तो विपत्तिमा सहयोग नगरेर बस्न सकिँदैन’’ समाजसेवी प्रकाश पन्त भन्थे । उनी दिनभर उद्धारमा खटिएका थिए ।
शनिबार बिहान, काठमाडौँमा बसेको आकस्मिक बैठकमा सरकारका शीर्ष अधिकारीहरूलाई सबै विवरण सुनाइएको थियो । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रभावित क्षेत्रका लागि तत्काल राहत घोषणा गरे ।
“मृतकका परिवारलाई दुई लाख, घर गुमाएकालाई ५० हजार दिन्छौं । टेन्ट, पाल, कम्बल, औषधि सबै तत्काल पठाउनुपर्छ,” उनले निर्देशन दिए ।
यो राहतले स्थानीयमा केही राहतको अनुभव गरायो । तर, कोही भने सरकारको प्रतिक्रियामा असन्तुष्ट थिए । “हामीले राहतभन्दा दीर्घकालीन योजना चाहिन्छ,” स्थानीय अभियन्ता युवा टिमले भने ।
टिके दमाई बिहानै उठे । उनको घर पूर्ण रूपमा ध्वस्त भएको थियो । उनको घरमा तिहारको टिका लगाउन छोरी सानो दुधे बालक सहित माईतिघर आएकि थिईन् उनीको त्यो रात नै अन्तिम रात बन्यो । माईतिघर आएकि छोरी नाति र अर्कि सानो छोरी सहित ३ जना र सो घरमा २ जना आमाछोरी गाउँले सहित ५ जनाले ज्यान गुमाए पछि पुरिएका आफ्ना ससाना स्मृतिचिह्न खोजिरहेका थिए ।
विस्तारै भूकम्पको अठारौँ दिन बित्यो “यो मेरो बुबाले दिएको गहना थियो,” उनले भत्किएको घरबाट एउटा सानो बाकस निकाल्दै भने । आँसु उनका आँखाबाट बगेँ ।
तर, उनका छिमेकीहरू उनलाई सहयोग गर्न त्यहाँ थिए । “यो विपत्ति हाम्रा लागि अन्तिम होइन। हामी फेरि उठ्न सक्छौं,” एक युवाले भने ।
विद्यालय भवनहरू पनि भत्किएका थिए । बच्चाहरूलाई पढ्नका लागि अस्थायी पालमुनि बसाइएको थियो । शिक्षकहरूले, भूकम्पपछिको डर हटाउन, बालबालिकासँग विभिन्न खेल खेले ।
“भविष्य निर्माणका लागि हामीले यसलाई पाठको रूपमा लिनुपर्छ,” विद्यालयकी शिक्षिकाले भनिन् ।
एक महिना बितिसक्दा, राहत र पुनर्निर्माणको प्रक्रिया तीव्र भइरहेको थियो । जाजरकोट र रुकुमका गाउँहरूमा घरहरू पुनर्निर्माण गरिँदै थियो ।
धेरै बासिन्दाले यो विपत्तिले उनीहरूलाई कमजोर बनाए पनि, एकताको भावना झन् बलियो बनाएको महसुस गरे । “हामीले यो विपत्ति पार गर्यौँ भने, भविष्यमा अझ बलिया बन्न सक्छौं,” बद्री पन्तले गाउँका युवालाई हौसला दिँदै भने ।
कर्णालीका मानिसहरूले आफ्नो दुःखलाई सहनशीलताका साथ सहन मात्र गरेनन्, उनीहरूले सारा देशलाई देखाए कि विपत्तिपछि पनि बलियो बन्न सकिन्छ ।
जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर गएको ६।४ रेक्टर स्केलको भूकम्पमा परी कम्तीमा १ सय ५७ जनाको मृत्यु भएको थियो भने उक्त भूकम्पबाट ७ जिल्ला प्रभावित भए पनि मृत्यु हुनेमा जाजरकोट र रुकुम पश्चिमका थिए ।
घाईतेहरु को अबस्था पनि जटिल हुदै जान थाल्यो ५ सय बढि घाईते पनि भएका थिए ।






