सम्पादकीय : राउटे संरक्षणको नीति कार्यान्वयन होस्‌

कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायको संरक्षण, व्यवस्थापन तथा मूलप्रवाहीकरणका लागि ‘राउटे मूलप्रवाहीकरण नीति–२०८३’ स्वीकृत गरेको छ । प्रदेश मन्त्रिपरिषद्बाट पारित यो नीति राउटे समुदायको अस्तित्व, पहिचान, संस्कृति र मानव अधिकार संरक्षणका दृष्टिले महत्वपूर्ण कदम हो । नेपालकै अति लोपोन्मुख आदिवासी समुदायमध्ये एक राउटे समुदायको जनसंख्या निरन्तर घट्दै जानु, उनीहरूको परम्परागत जीवनशैली विभिन्न बाह्य प्रभावका कारण संकटमा पर्नु तथा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा न्यून पहुँच हुनु जस्ता चुनौतीबीच आएको यो नीति स्वागतयोग्य छ । राउटेहरू नेपालको एकमात्र घुमन्ते समुदायका रूपमा परिचित छन् । परम्परागत रूपमा शिकार गर्ने, काठका सामग्री निर्माण गरेर अन्नसँग साट्ने तथा जंगल केन्द्रित जीवनशैली अपनाउने यो समुदाय आधुनिक समाजको प्रभावबाट धेरै हदसम्म टाढा रहँदै आएको छ । तर, पछिल्ला वर्षहरूमा उनीहरूको जीवनमा बाह्य हस्तक्षेप बढेको छ । मदिराको प्रयोग, अनियन्त्रित राहत वितरण, फोटो तथा भिडियो खिच्ने नाममा हुने अनावश्यक हस्तक्षेप र विभिन्न स्वार्थ समूहको पहुँचले समुदायको मौलिकता र सामाजिक संरचनामा असर पुर्‍याएको सरोकारवालाहरूको निष्कर्ष छ । 

यही यथार्थलाई सम्बोधन गर्न सरकारले राउटे बस्तीमा अनधिकृत प्रवेश नियन्त्रण गर्ने, मदिरा बिक्री–वितरण तथा सेवनलाई निरुत्साहित गर्ने, आधारभूत शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा अस्थायी आवासको व्यवस्था गर्ने जस्ता प्रावधान समेटेको छ । राउटे समुदायको भाषा, धर्म, संस्कृति, सीप तथा सम्पदाको संरक्षण गर्दै सम्मानजनक जीवनयापनको वातावरण तयार गर्ने लक्ष्य नीतिले लिएको छ । यसले राउटे समुदायलाई जबर्जस्ती परिवर्तन गर्ने होइन, उनीहरूको मौलिक पहिचान सुरक्षित राख्दै संविधानले प्रत्याभूत गरेका अधिकारको उपभोग गर्न सक्षम बनाउने उद्देश्य बोकेको देखिन्छ । तर, नीति बन्नु मात्र पर्याप्त होइन । नेपालको शासन प्रणालीमा नीति, योजना र घोषणा धेरै हुने तर कार्यान्वयन कमजोर हुने पुरानो समस्या विद्यमान छ । राउटे समुदायका लागि पनि विगतमा विभिन्न अध्ययन, प्रतिवेदन र सुझावहरू तयार भए । राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायतका संस्थाले समुदायको जीवनरक्षा र अधिकार सुनिश्चितताका लागि बारम्बार सुझाव दिएका थिए । तर, ती सिफारिसहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेनन् । 

परिणामतः समुदायको अवस्था अपेक्षित रूपमा सुधार हुन सकेन । त्यसैले अहिलेको मुख्य प्रश्न नीति स्वीकृत भयो कि भएन भन्ने होइन, यसको कार्यान्वयन कसरी हुन्छ भन्ने हो । प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कार्यविधि, पर्याप्त बजेट, जिम्मेवार निकाय, नियमित अनुगमन तथा राजनीतिक प्रतिबद्धता अनिवार्य छन् । राउटे समुदायको विश्वास जितेर उनीहरूको सहभागितामा कार्यक्रम सञ्चालन गर्न सके मात्र नीति सफल हुनेछ । बाहिरबाट थोपरिएका कार्यक्रमले दीर्घकालीन परिणाम दिन सक्दैनन् । राउटे समुदायको संरक्षण एउटा समुदायको मात्र सवाल होइन, यो नेपालको सांस्कृतिक विविधता, मानव अधिकार र सभ्यताको संरक्षणसँग जोडिएको विषय हो । ढिलै भए पनि कर्णाली प्रदेश सरकारले सही दिशा समातेको छ । अब महत्वपूर्ण विषय भनेको घोषणामा सीमित नभई नीतिलाई व्यवहारमा उतार्ने दृढ इच्छाशक्ति हो । राउटे मूलप्रवाहीकरण नीति–२०८३ को सफलता कागजमा लेखिएका प्रतिबद्धताले होइन, राउटेहरूको जीवनमा देखिने सकारात्मक परिवर्तनले मापन हुनेछ ।

सम्पादकीय : राउटे संरक्षणको नीति कार्यान्वयन होस्‌

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार

सम्पादकीय : राउटे संरक्षणको नीति कार्यान्वयन होस्‌

बसाइँसराईको चपेटामा पहाड गाउँ पस्यो विकास, शहर

Leave a comment

Your email address will not be published. Required fields are marked *