
बैंकका ग्राहकहरुलाई बैंकले विभिन्न बैंकिङ्ग सुविधाहरु आधुनिक तथा सुरक्षित प्रविधि प्रयोग गरी आफैले जुनसुकै ठाँउबाट छिटो छरितो रुपमा उपलब्ध गराउने उद्देश्यले मोबाइल बैंकिङ्ग सेवा र इन्टरनेट बैंकिङ्ग सुविधाहरु सञ्चालनमा ल्याएको छन् । बैंकिङ्ग आवश्यकतालाई इन्टरनेटमा सरल र सुरक्षित रुपमा सुलभताका लागि ल्याएको यो सेवा लिनेमा कर्णालीका झण्डै आठ लाखले यो सेवा प्रयोग गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८०÷०८१ को तथ्याङ्क अनुसार कर्णालीका १० जिल्लाका सात लाख ९२ हजार चार सय ३१ जना नागरिकले मोवाईल बैंकिङ्ग सेवा प्रयोग गर्ने गरेका छन् ।
कर्णालीमा पछिल्लो चरणमा इन्टरनेटको पहुँच बृद्धि हुँदै जाँदा डिजिटल प्रबिधिबाट अनलाइनमार्फत बैकिङ्ग कारोबार गर्नेको संख्या बढ्दै गएको छ । कर्णालीका हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा इन्टरनेटको न्यून पहुँच भएको अवस्थामा इन्टरनेटको विस्तारको उच्च सम्भावना रहेकोले अझैँ यो संख्या बृद्धि हुँदै जानेछ ।
कर्णालीमा रहेका रहेका चार सय ७५ बैंक तथा वित्तीय संस्थाका शाखामा नागरिकहरुको मोवाइल बैंकिङ्ग पहुँच पुगेको हो । कर्णालीमा आर्थिक वर्ष २०७९÷०८० मा चार सय ६६ वटा शाखा रहेका थिए, भने आर्थिक वर्ष २०८०÷०८१ मा नौ वटा शाखा बिस्तार भएर चार सय ७५ पुगेकोमा छ । वाणिज्य बैंक (क वर्ग) का दुई सय १३ वटा, विकास बैंक (ख वर्ग) का २१ वटा, वित्त कम्पनी (ग वर्ग) का तीन वटा र लघु वित्त वित्तीय संस्था (घ वर्ग) का दुई सय ३८ वटा शाखा रहेका छन् ।
कर्णाली प्रदेशमा मोबाईल बैंकिङ्ग रजिस्टर गर्ने ग्राहकको संख्या सात लाख ९२ हजार चार सय ३१ मध्ये सबैभन्दा बढी सुर्खेतमा तीन लाख ११ हजार आठ १७ र सबैभन्दा कम डोल्पा जिल्लामा १८ हजार ३६ जना रहेका छन् ।
त्यसैगरी, इन्टरनेट बैंकिङ्ग रजिस्टर गर्ने ग्राहकको संंख्या २० हजार १८ जना रहेका छन् । जसमध्ये, सबैभन्दा बढी सुर्खेत जिल्लामा १३, हजार दुई सय २२ र सबैभन्दा कम मुगु जिल्लामा एक सय ३२ जना रहेका छन् ।
कर्णाली प्रदेशमा एक १३ वटा एटिएम सञ्चालनमा रहेका छन् । हुम्ला र मुगुमा दुई÷दुई वटा एटिएम रहेका छन् । कर्णालीमा २८ वटा शाखारहित बैकिङ्ग सेवा रहेका छन् । यस्तो सेवा प्रवाहमा सुर्खेत जिल्ला सबैभन्दा अगाडि रहेको छ । जहाँ ११ वटा शाखारहित बैकिङ्ग सेवा रहेको देखिन्छ जसमध्ये दैलेखमा तीन वटा, सल्यानमा र कालिकोटमा चार÷चार वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै, हुम्ला र मुगुमा दुई÷दुई वटा तथा रुकुम पश्चिम र जाजरकोटमा एक÷एक वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् । कर्णालीका डोल्पा र जुम्ला जिल्लामा भने बैकिङ्ग सेवा प्रवाह सुरु भएको छैन् ।
कुन जिल्लामा कति छन् प्रयोगकर्ता
डोल्पामा १८ हजार ३६, मुगुमा २१ हजार चार सय ५०, हुम्लामा २० हजार सात सय ७२ जना, जुम्लामा ६१ हजार ८१, कालीकोटमा ४२ हजार चार सय ५८, दैलेखमा ७९ हजार दुई सय २७, रुकुमपश्चिममा ८३ हजार दुई सय ८९, सल्यानमा एक लाख सात हजार चार सय ८८ र सुर्खेतमा तीन लाख ११ हजार आठ सय १७ जनाले मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्ने गरेका छन् ।
त्यस्तै, कर्णालीमा इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गर्नेमा डोल्पामा छ सय तीन, मुगुमा एक ३२, हुम्लामा आठ सय ११, जुम्लामा छ सय पाँच, कालिकोटमा दुई सय ९९, दैलेखमा एक हजार दुई सय ३८, जाजरकोटमा सात सय ३४, सल्यानमा एक हजार सात सय ८६ र सुर्खेतमा १३ हजार दुई सय २२ जना रहेका छन् ।
डिजिटल भुक्तानी गर्ने बढ्दै
कर्णाली प्रदेशमा डिजिटल भुक्तानी गर्नेको संख्या बढ्दै गएको पाइएको छ । कर्णालीमा डिजिटल भुक्तानी ग्राहकको संख्या ११ लाख २६ हजार एक सय ९४ पुगेको छ । क्रेडिट कार्ड प्रयोग गर्नेको संख्या तीन हजार छ ९९, डेबिड कार्ड प्रयोग गर्ने तीन लाख छ सय ११, मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्ने सात लाख ७६ हजार दुई सय २४, अनलाईन बैंकिङ्ग प्रयोग गर्ने २० हजार चार सय ७०, पिओएस प्रयोग गर्ने दुई सय ५६, प्रिपेड कार्ड प्रयोग गर्ने पाँच सय ४९ र क्युआर मर्चेन्ट प्रयोग गर्ने २४ हजार तीन सय ८५ जना रहेका छन् ।
प्रबिधिमैत्री सेवाले नागरिकलाई सहज
विगतको तुलनामा वाणिज्य बैंक मात्र होइन अन्य विकास बैंक र वित्तीय संस्थाहरुले पनि प्रविधिमैत्री सेवा दिइरहेका छन् । कुनै समय थियो, बैंकमा रकम जम्मा गर्न, निकाल्न वा कतै पठाउन लामाबद्ध भएर बस्नुपर्ने बाध्यता यसले हटाएको छ ।
बैंकहरूले प्रदान गर्ने इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ सेवाका प्रयोगकर्ताको संख्या दैनिक बढिरहेको राष्ट्र बैंकले जनाएको छ । अब घरबाटै इन्टरनेटमार्फत यस किसिमका बिल भुत्तानी गर्ने गरेका छन् ।
खाता खोल्नदेखि रकम एक खाताबाट अर्को खातामा पठाउन इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङमार्फत सम्भव भएसँगै र विभिन्न किसिमका किनमेल गर्न तथा बिल भुक्तानी पनि घरबाटै गर्न सम्भव भएपछि समय र खर्चको वचतका साथै नगदमा आधारित कारोबारमा पनि कमी आउँदै गएको बैंकरहरु बताउँछन् ।
नेपालमा प्रविधिको प्रयोग बढ्दै पनि गएको छ । इन्टरनेट र मोवाइल बैंकिङमा आकर्षित हुदै गएको तथ्यांकले देखाउँछ । कागजरहित कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिकै कारण इन्टरनेट र मोवाइल बैंकिङ कारोबार बढेको हो ।

