तातोपानी गाउँपालिकाको नमुना अभ्यास : एक वर्षमै १५९ योजना सम्पन्न

काली बहादुर परियार

जुम्ला,७ असोज ।

तातोपानी  गाउँपालिकाले असार महिनाको ‘हतारो विकास’ संस्कृति तोड्दै योजनाबद्ध र समयमै काम गर्ने नयाँ अभ्यास देखाएको छ । जिल्लामै पहिलो पटक श्रमदान अभियानमार्फत पूर्वाधार निर्माणमा नागरिकलाई सहभागी गराउँदै, गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै गाउँपालिकाले १ सय ५९ वटा योजना सम्पन्न गरेको छ ।

सोमबार आयोजित वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रतिवेदनले तातोपानीको विकासको गतिको स्पष्ट तस्वीर देखाएको छ ।

आर्थिक वर्षमा कुल १६२ वटा योजना अघि बढाइएकोमा वित्तीय समानीकरण अनुदान तर्फका १२३ मध्ये १२१ योजना सम्पन्न भए । प्रदेश सशर्त अनुदानका १४ वटै योजना पूरा भए भने संघीय सशर्त अनुदानतर्फका ४ मध्ये ३ योजना सम्पन्न भए ।

संघीय विशेष अनुदानतर्फ विनियोजित १ योजना पनि कार्यान्वयनमा गइसकेको छ । त्यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १२ र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ८ वटा योजना पूरा भए ।

पुँजीगत तर्फ विनियोजित १७ करोड ४३ लाखभन्दा बढी रकममध्ये १३ करोड २० लाखभन्दा बढी खर्च भएको छ भने चालु तर्फ ३५ करोड ५७ लाखमध्ये ३० करोडभन्दा बढी खर्च भएको छ । राजश्व संकलनमा पनि लक्ष्यअनुसार ९८ प्रतिशत उपलब्धि हासिल भएको प्रतिवेदनले देखायो ।

श्रमदान र दिगो विकास :
गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईँले श्रमदान अभियानलाई पालिकाको पहिचान बनाइएको बताए । दर्जनौँ योजना श्रमदानबाट सम्पन्न भएको उल्लेख गर्दै उनले भने, “शिक्षा क्षेत्रमा नमुना भान्साघर, शिक्षक क्षमता विकास, विद्यार्थी गणना र दरबन्दी मिलानका कार्यक्रम अघि बढाएका छौँ । पाँच वर्षभित्र तातोपानीलाई नमुना पालिका बनाउने हाम्रो संकल्प छ ।

चौलागाईँले नदीजन्य वस्तुको अनियन्त्रित उत्खननका कारण राजश्व गुमिरहेको भन्दै त्यसलाई नियन्त्रणका लागि कार्यविधि तयार भइसकेको र छिट्टै पूर्ण कार्यान्वयनमा जाने जानकारी दिए ।

सामाजिक रुपान्तरण र सुशासन :
उपाध्यक्ष रेवती रावलले महिलाको सशक्तिकरण र सामाजिक रुपान्तरणतर्फ पालिकाले उल्लेखनीय काम गरेको बताइन् । सीमित स्रोतसाधनबीच पनि नागरिकका आवश्यकता पूरा गर्ने प्रयास अविरत रहने उनको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले योजनाको दिगोपनका लागि सम्बन्धित वडा र उपभोक्ता समितिलाई जिम्मेवारीसहित हस्तान्तरण गरिएको उल्लेख गरे ।
उनका अनुसार ३३ सय घरधुरीमध्ये २१ सय घरधुरीमा घरबीमा पुगेको छ । “नियमित सार्वजनिक सुनुवाइ र समीक्षामार्फत सुशासन कायम गर्न हामी प्रतिबद्ध छौँ,” उनले जोड दिए ।

स्थानीयमा विश्वास बढाउँदै:
तातोपानी गाउँपालिकाको सार्वजनिक सुनुवाइले नागरिकमा सरकारको अनुभूति गराएको छ । योजनाबद्ध पूर्वाधार विकास, श्रमदानको अभ्यास, राजश्व व्यवस्थापनदेखि शिक्षा,स्वास्थ्य र पर्यटन विकासमा देखिएको सक्रियताले तातोपानीलाई जिल्लामा उदाहरणीय पालिका बनाउँदै लगेको छ ।

आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह र दिगो विकासका लागि स्थानीय, जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यलाई निरन्तरता दिँदै तातोपानी गाउँपालिकाले नयाँ सम्भावनाको बाटो खोल्ने संकेत गरेको छ ।

तातोपानी गाउँपालिकाको नमुना अभ्यास : एक वर्षमै १५९ योजना सम्पन्न

सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं

Leave a comment

Your email address will not be published. Required fields are marked *