सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य

७, असोज २०८२

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन संयुक्त कार्ययोजना बनाएर अघि बढिरहेको बताउनुभएको छ ।

नेकपा एमाले क्षेत्रीय समन्वय समिति क्षेत्र नं. ३ को पाँचौं पूर्ण बैठकलाई आज बाँकेमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर आन्दोलनबाट प्रभावित सेवा प्रवाहलाई पुरानै लयमा फर्काउने प्रयास भइरहेको बताउनुभयो ।

‘सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन जरुरी छ । त्यसका लागि स्थानीय सरकार र प्रदेश सरकारले संयुक्त ढंगले कार्ययोजना बनाएर अघि बढ्न खोजिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘कर्मचारीहरूको दबिएको मानसिकता छ । त्यसलाई माथि उठाउन प्रयास गरिरहेका छौं । त्यस मानेमा पनि यदि हामी चुप लागेर बस्यौं भने खराब तत्वले मुलुकमा राज गर्ने अवस्था आउँछ ।’

मुख्यमन्त्री आचार्यले तोकिएको समयमा चुनाव हुने हो भने नेकपा एमाले चुनावबाट नभाग्ने स्पष्ट पार्नुभयो । ‘यदि साँच्चै तोकिएको मितिमा चुनाव हुने हो भने हामी चुनावबाट भाग्दैनौं,’ उहाँले भन्नुभयो, ‘एमाले चुनावबाट कुनै हालतमा भाग्दैन ।’

 

यस्तै, सम्बोधनका क्रममा उहाँले देशको राष्ट्रियता र स्वाभिमानका पक्षमा दृढताका साथ उभिएकै कारण तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको दाबी गर्नुभयो । नेपालको सहमति विना भारत र चीनले नेपाली भूमिलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने सम्झौता गरेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएकै कारण मुलुकमा यस्तो परिस्थिति सिर्जना भएको दाबी उहाँको छ ।

 

‘चीन भ्रमणको क्रममा देशको भूमिसम्बन्धी विषय नउठाएको भए यो अवस्था आउने थिएन,’ उहाँले भन्नुभयो, ‘देशको स्वाभिमान र राष्ट्रियताको पक्षमा उभिएकै कारण यो अवस्था सिर्जना भएको हो । यसमा दुईमत छैन ।’

आँधिभेरीमा सतीशालझैं उभिन सक्दा मात्र गन्तव्यमा पुग्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘घर जलेर खरानीको थुप्रो मात्र छ । शरीरमा लगाएको कपडा बाहेक केही छैन । तर म निराश छैन । अहिले कर्मचारीहरूको मनोबल उच्च बनाउन, संरचनाहरू छिटोभन्दा छिटो सुधार गरेर सेवा प्रवाह गर्न सकिन्छ भन्ने विश्वास दिलाउन अनुगमन गरिरहेको छु । जनताको मनोबल कसरी बढाउन सकिन्छ भन्नेमा ध्यान दिएर अघि बढेका छौं ।’

 

आम जनताबीच पुग्ने गरी पार्टीले कार्ययोजना निर्माण गर्ने समेत उहाँले बताउनुभयो । ‘भदौ २३ गते जेन्जीहरूले सडकमा आन्दोलन गरे । आन्दोलन भइरहँदा यो मुलुकमा यस्तो अवस्था आउला भनेर कसैले कल्पना गरेका थिएनौं । प्रदर्शनका दुई माग थिए । सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्नुपर्ने र बन्द भएको सामाजिक सञ्जाल सञ्चालन हुनुपर्ने । राज्य सत्ता परिवर्तन भने उनीहरूको माग थिएन,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘सुरक्षा निकायका अंगहरूले आन्दोलनको बारेमा समयमै जानकारी लिन सक्नुपर्थ्यो । घटनाको सत्यतथ्य पत्ता लगाउन जरुरी छ । सुरक्षा निकायलाई सूचना भएर पनि राजनीतिक नेतृत्वलाई गुमराहमा पारियो या जानकारी नै भएन, यो विषय छानबिन हुनु आवश्यक छ ।’

सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य

तातोपानी गाउँपालिकाको नमुना अभ्यास : एक वर्षमै

Leave a comment

Your email address will not be published. Required fields are marked *