बड्डीचौर–खम्बगाडे सडक : तीन वर्षपछि रुख काट्न सम्झौता गरिदै,असारसम्म कालोपत्रे सक्ने लक्ष्य

सुशील खड्का
सुर्खेत, ७ साउन ।
तीन वर्षदेखि अलपत्र जस्तै बनेको बड्डीचौर–खम्बगाडे सडकको विवाद अन्तत टुंगिएको छ । सडक निर्माण पूर्व गरिनुपर्ने कानुनीगत प्रक्रिया पूरा नगरेर प्रदेश सरकारले ठेक्का व्यवस्थापन गर्दा निर्माणले गति लिन सकेको थिएन् । संघीय सरकारको स्वामित्वको सडक हुनु र रुख कटानका अल्झन जस्ता कारणले असार २०७९ मै ठेक्का आह्वान गरिएको सडकको निर्माण कछुवा गति थियो ।

तीन वर्षपछि अन्तत रुख कटानका लागि प्रदेशको पूवाधार विकास निर्देशनालय र संघीय सरकारको वन विभागसँग सम्झौता गर्न लागिएको छ । बड्डीचौर–खम्बगाडे सडकको दुरी १३ किलोमिटर छ । सडक विस्तारको क्रममा रहेका रुखहरु हटाउन प्रक्रियागत ढिलाइले निर्माण सुस्त छ । सडकमा पर्ने झण्डै नौ सय रुख कटान गर्नुपर्नेछ ।

रुख कटानको लागि सम्झौता लगत्तै सडक निर्माणले गति लिने पूर्वाधार विकास निर्देशनालय सुर्खेतका प्रमुख सूर्यबहादुर शाही बताउँछन् । ‘निर्माणकै चरणदेखि विविध समस्याहरु सिर्जना भए,’ शाही भन्छन्, ‘प्रक्रियागत रुपमा विवाद सल्टाउदै जाँदा अन्तिम चरणको रहेको रुख कटान सम्झौता गर्ने तयारीमा छौं । साउन भित्रै यो समस्या समाधान गर्नेगरी लागिरहेका छौं ।’

अहिले बड्डीचौर बजारदेखि गिभिनेसम्म झण्डै ६ किलोमिटर र खम्बगाडेतर्फ एक किलोमिटर सडकमा नाला, सपोर्ट वाल र कल्भर्ट निर्माण गरिएको छ । ब्यूरेनी क्षेत्रमा रुखका कारण सडक विस्तारको काम रोकिएको थियो । असार २०८१ मै कालोपत्रे सकिसक्नु पर्नेमा निर्माण व्यवसायीले रुखको कारण देखाउँदै निर्माणमा ढिलाइ गरिरहेको छ । ‘रुख कटान लगत्तै निर्माणको गति बढ्छ,’ शाही भन्छन्, ‘अल्झनहरु सबै टुंगिउने गरी लागिरहेका छौं । आगामी असारसम्म कालोपत्रे सकिन्छ ।’

सडक ट्याक खोलीको करिव ३० वर्षपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–वेनीघाट सडक कालोपत्रे गर्न तीन खण्डमा काम भइरहेको छ । मदन भण्डारी राजमार्ग नामाकरण गरिएको सडकको पहिलो खण्डअन्तरगत बड्डीचौरदेखी कालोपत्रे गर्न ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको हो । जयदेवीका सञ्चालकले अपेक्षाकृत काम गर्न नसकेपछि अनकले निर्माणको पूरै जिम्मेवारी लिएको छ । रुख कटान साउन महिनाभित्रै सकिए असारसम्म काम सक्ने बचन अनकले निर्देशनालयलाई दिएको छ ।

निर्देशनालय र वन विभागसँग सम्झौता भएमा निर्माण व्यवसायीले नै सडक किनाराका रुख कटान गर्नेछ । बड्डीचौरलाई शून्य विन्दु मानेर तीन वर्षअघि नै यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिएको थियो । तर संघ सरकारले सडक निर्माणमा चासो नदेखाएपछि कर्णाली प्रदेश सरकारले पश्चिम नागरिकलाई सहज यात्राका लागि सडक कालोपत्रे गर्न अपनत्व लिएको हो । खम्बगाडे–बावियाचौर र बावियाचौर–विद्यापुर १० किलोमिटर सडक निर्माणको जिम्मा डिभिजन सडक कार्यालय सुर्खेतले लिएको छ ।

मदन भण्डारी राजमार्गको काम धामधम
मदन भण्डारीले सुर्खेतमा मात्रै झण्डै १५८ किलोमिटर पर्छ । योमध्य भेडावारी–बोटेचौर–रैकर–बालुवासंग्रही (छिन्चु–जाजरकोड–डोल्पा) सडक करिव १२, धुलियाविट–बाँगेशीमल (फोरलेन) सडक आठ र बाँगेशीमल–बड्डीचौर (कर्णाली राजमार्ग) सडक ३० किलोमिटर कालोपत्रे भइसकेको छन् ।

बाँकी खण्डमा मदन भण्डारी र कर्णाली सरकारले काम गरिरहेकाले अबको तीन वर्षमा यो राजमार्गले पूर्णता पाउँदैछ । मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले पूर्वमा २८ असार २०७८ बाट काम थालेको हो ।

२०३२ सालमा ट्र्याक खोलिएको धुलियाविट–भेडावारी सडक ४६ वर्षमा कालोपत्रेका लागि ठेक्का लागेको हो । ३५ किलोमिटर दुरीको सडकको कालोपत्रे अन्तिम चरणमा छ । कालिका केएस भेरासी जेभीले एक अर्ब तीन करोड लागतमा निर्माण गरिरहेको छ । सुर्खेत पश्चिमको बड्डीचौरबाट मदन भण्डारी राजमार्ग लगाम भएर पाल्पाघाट जोडिन्छ । यो खण्डमा राजमार्गको दुरी ८५ किलोमिटर छ ।

तर यो सडकको ट्र्याक २०५१ सालमा खोलिएको हो । मदन भण्डारी राजमार्ग योजनाले विद्यापुर–गुटु–विजौरा–बल्दे २२ किलोमिटर सडक निर्माण १७ फागुन २०७९ बाट शुरु गरेको हो । एक अर्ब २१ करोड लागतमा रहेको सडकको निर्माण जिम्मा बानियाँ मोतिदान डि.एस.जेभी काठमाडौंले पाएको छ ।

२०८२ फागुन १६ गतेसम्म कालोपत्रे सक्ने म्याद रहेको छ । मदन भण्डारीले तेस्रो प्याकेज अन्तरगत चौर खोला–सालकोट–चत्तुरे चोक–दुलालथाई–विद्यापुर १० र बल्दे–लगाम १५ गरी २५ किलोमिटर सडक निर्माण जिम्मा दिवा यती जेभी काठमाडौंले पाएको छ ।

सुदूर र कर्णाली जोड्ने छोटो मार्ग
कैलालीमा पर्ने चिसापानी कुनै बेला सुनदेखि नुनसम्म किन्न जाने बजार हो । ६० को दशकसम्म साविक कर्णाली र भेरी तथा सेती अञ्चलका अधिकाँश नागरिकहरु गाउँमा उत्पादित वस्तुको विक्रीदेखि आवश्यक सामान खरिद गर्न पैदलै हिडेर त्यहीँ चिसापानी पुग्थे ।

सडक निर्माणको गति पहाड र हिमालसम्मै पुगेपछि कुनै बेलाको चर्चित चिसापानी बजारको अस्तित्व धरापमा छ । पैदल मार्च गर्ने गोरेटो बाटोमा अचेल गाडी गुड्ने सडक बनेको छ । चिसापानी भएरै राजापुरसम्म आवश्यक सामग्री लिन जानेहरुलाई घर आँगनमै सामान गाडीले पु¥याइदिने सुविधा दिइरहेका छन् ।

सुदूरपश्चिमबाट कर्णाली र कर्णालीबाट सुदूरपश्चिम जाने छोटो मार्ग हो बड्डीचौर–बावियाचौर–कुइने–चिसापानी सडक । सुदूपश्चिमकै अछाम, बाजुराबाट तराई पुग्न होस् वा पहाड पुग्ने छोटो मार्गपनि यहीँ हो । चिसापानीबाट कैलालीकै कुइनेसम्म १२ किलोमिटर सडक हो । चिसापानी क्षेत्रको दुई किलोमिटर सडक कालोपत्रे छ । बाँकी पाँच किलोमिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कञ्चनपुरले रुख कटान सकेर काम गरिरहेको छ ।

यो सडकको लाग १२ करोड छ । सुदूरपश्चिम प्रदेशबाट कर्णाली भित्रने र बाहिरिने सबैभन्दा छोटो सडक हो चिसापानी–बावियाचौर सडक । कुईनस्थित कर्णाली नदी र जामुमा रहेको भेरी नदीमा पक्की पुल निर्माणपछि सञ्चालनमा आएपछि त्रिदेशीय जोड्ने सडक छिटो निर्माण गर्न सरकारलाई दवाव बढेको हो ।

यहीँ सडक भएर कर्णालीका सुर्खेतसहित दैलेख, कालिकोट, जुम्ला, हुम्लाका नागरिकलाई सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जान र फर्किन छोटो हुन्छ । कर्णाली राजमार्गको जमुनाह–हिल्सा त्रिदेशीय सडक जोडिएको छ । बावियाचौर–जंगलघाट सडक अझै स्तरोन्नति नभए तत्कालका लागि बड्डीचौरबाट कर्णाली राजमार्ग भएर यात्रा गर्न सहज हुनेछ । चिसापानीबाट बड्डीचौरसम्मको दुरी ४८ किलोमिटर छ ।

हिउँदको समयमा कैलालीबाट अछाम जाने दर्जन बढी सवारीहरु चिसापानीबाट सुर्खेत–दैलेख भएर अछामको कमलबजार र मंगलसैन पुग्ने गरेका छन् । कैलालीको चिसापानीबाट कोहलपुर–सुर्खेतहुँदै बाहिरिन र भित्रनु पर्छ । कैलालीबाट अछाम पुग्न मात्रै चिसापानी–कोहलपुर ७७, कोहलपुर–वीरेन्द्रनगर ९० र वीरेन्द्रनगर–बेलखेतहुँदै मंगलसेन अछाम एक सय ५९ किलोमिटर गरी तीन सय २६ किलोमिटर दुरी तय गर्नुपर्ने अवस्थामा छ ।

बड्डीचौर–बावियाचौर–कुइने–चिसापानी सडक निर्माण सम्पन्न भए कर्णालीका सुर्खेत, दैलेख, कालिकोट, मुगु, हुम्ला, जुम्ला र सुदूर पश्चिमको कैलाली, कञ्चनपुर, बाजुरा तथा अछाम आवतजावत गर्ने छोटो मार्ग बन्नेछ । अछाम पुग्न छोटो दुरीको सडक पञ्चपुरी नगरपालिका सुर्खेत र तुर्माखाँद गाउँपालिका अछामको सीमानामा पर्ने जंगलाघाटको कर्णाली नदीमा पक्की पुल निर्माण गर्न लागिएको हो ।

पुल निर्माणका लागि ८ साउन २०७८ मै सम्झौता गरिएको हो । १० कार्तिक २०८३ मा कर्णाली नदीमा पुक्की पुल निर्माण सम्पन्न गर्नेगरी म्याद थप गरिएको छ । १६ करोड ५८ लाख ६४ हजार लागत रहेको पुल निर्माणको जिम्मा लामा कन्ट्रक्शन प्रा.लि. काठमाडौंले लिएको छ ।

बड्डीचौर–खम्बगाडे सडक : तीन वर्षपछि रुख काट्न सम्झौता गरिदै,असारसम्म कालोपत्रे सक्ने लक्ष्य

सम्पादकीय : अभियानमा सीमित नहोस् तुइन विस्थापन

Leave a comment

Your email address will not be published. Required fields are marked *